स्थानीय तहको विज्ञापन रद्द गर्ने निर्णय कानुनविपरीत

 जेठ २८, २०७६ मंगलबार ६:३६:३२ | रासस

काठमाण्डाै – प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहमा विभिन्न पदका लागि लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन रद्द गर्ने निर्देशन निर्णय कानूनसम्मत नभएको बताइएको छ । कर्मचारी समायोजन ऐन २०७५ विपरीत समितिले स्थानीय तहको विज्ञापन रद्द गर्ने निर्णय गरेको हो ।

कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ मा ‘प्रदेश वा स्थानीय तहको सेवाको पदपूर्ति प्रदेश लोकसेवा आयोगले गर्ने छ तर प्रदेश लोकसेवा आयोग गठन नभएसम्मका लागि सम्बन्धित प्रदेश वा स्थानीय तहले मन्त्रालयमार्फत लोकसेवा आयोगमा अनुरोध गरी पठाउनुपर्ने छ’ भनी उल्लेख गरिएको छ । 

गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले लोकसेवा आयोगद्वारा गरिने विज्ञापनले स्थानीय तहमा केही कर्मचारी पदपूर्ति हुने भएकाले केही राहत हुने तर रोकिएकाले ती कर्मचारी नआउने भई सेवा प्रवाहमा असर पर्ने बताउनुभयो । संविधानको धारा २४४ मा सातवटै प्रदेशमा प्रदेश लोकसेवा आयोग गठन गर्ने व्यवस्था छ ।

अहिले सङ्घीय संसद्ले प्रदेश लोकसेवा आयोगको ऐनका लागि कानून बनाई आधार र मापदण्ड बनाई पठाएको छ । यहीअनुसार अहिले प्रदेश नं २ र प्रदेश नं ५ ले प्रदेश लोकसेवा आयोग ऐन पारित गरेका छन् । अहिले प्रदेश लोकसेवा आयोग गठन गरी नसकेको अवस्थामा लोकसेवा आयोगले नै स्थानीय तहको पदपूर्तिका लागि विज्ञापन गर्न पाउने कानूनी व्यवस्थाविपरीत समितिले विज्ञापन रद्द गर्ने निर्देशन दिएको हो ।

सङ्घीयता कार्यान्वयनका लागि स्थानीय तहमा कर्मचारी पदपूर्तिका लागि गरिएको विज्ञापन रद्द गर्नुले जनताको सेवामा प्रभाव पर्ने भएको छ । पूर्वसचिव शारदाप्रसाद त्रितालले समितिले स्थानीय तहका लागि गरिएको विज्ञापन रोक्न निर्देशन दिनु गलत भएको बताउनुभयो । “समितिले स्थानीय तहमा कर्मचारी पठाउनका लागि गरिएको विज्ञापन रोक्न निर्देशन दिनु गलत हो”, उहाँले भन्नुभयो, “समितिले संविधानको कुन धारा प्रयोग गरेर विज्ञापन रद्द गर्ने निर्णय गर्‍यो ?”

आयोगले स्थानीय तहका लागि विज्ञापन गरेदेखि नै समावेशी नभएको भन्दै विरोध हुँदै आएको थियो । आयोगले भने स्थानीय तह एउटा सरकार भएकाले कुनै एउटा स्थानीय तहमा एक जनाका लागि गरिएको विज्ञापनमा समावेशी कोटा निर्धारण गर्न नसक्ने धारणा सार्वजनिक गर्दै आएको थियो । सरकारले लोकसेवा आयोगमार्फत स्थानीय तहमा रिक्त दरबन्दी पदपूर्तिका लागि यही जेठ १५ गते ५१५ स्थानीय तहका लागि नौ हजार १६१ पदका लागि विज्ञापन गरेको थियो । 

विज्ञापन गरेपछि अहिलेसम्म करीब ७३ हजार ११३ जनाले आवेदन फारम भरेका आयोगका प्रवक्ता किरणराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार खुलातर्फ ७२ हजार २९५, महिला १७ हजार ९३९, जनजाति आठ हजार ६५५, मधेशी चार हजार १२९, दलित ५३८, अपाङ्गता भएका ४१ र पिछडिएका १९ ले आवेदन फारम भरेका छन् । 

यस्तै २४ हजार ९९ ले आवेदनभरि शुल्कसमेत आयोगलाई बुझाएका छन् । समितिको बैठकले उक्त विज्ञापन संविधानको मर्म र भावनाअनुरुप नदेखिएको जनाउँदै विज्ञापन तत्काल रद्द गर्न गराउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लोकसेवा आयोगलाई निर्देशन दिएको हो । “समितिको विज्ञापन रद्द गर्ने औपचारिक पत्र आएपछि आयोगले त्यसमाथि छलफल गर्ने छ”, उहाँले भन्नुभयो, “अहिले यसबारेमा थप केही नबोलौँ ।”

आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले समितिले निर्णय गर्दैमा विज्ञापनका लागि आवेदन भने नरोकिने जानकारी गराउनुभयो । उहाँले आयोगले समितिले पठाएको पत्रमाथि छलफल गरेपश्चात् मात्र के गर्ने भन्ने निर्णय गरिने बताउनुभयो । 

सरकारले स्थानीय तहको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणअनुसार ६७ हजार ७१९ कर्मचारीको दरबन्दी स्वीकृत गरी गत चैतमा स्थानीय तहमा ५१ हजार ४५७ कर्मचारी समायोजन भएका छन् । कर्मचारी समायोजन भए पनि अझै १६ हजार २६२ कर्मचारी स्थानीय तहमा अपुग छन् । अहिले गरिएको विज्ञापनले केही हदसम्म भए पनि स्थानीय तहमा कर्मचारीलाई पदपूर्ति गर्ने आँकलन गरिएको छ । 
 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Mahanand sah

    June 11, 2019, 9:04 a.m.

    विज्ञापन रद्द नगरि सच्याए पुग्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया