मन्त्री र नेताको ओहोरदोहोरले हेटौंडामा पनि सडक जाम

दुई महिनामा करिब ३ सय भीआईपीको लर्को

 असार २१, २०७५ बिहिबार १३:५२:५३ | हरि हुमागाईं
unn.prixa.net

हेटौंडा – पुराना घरैघरले घेरिएको हेटौंडाको मुख्य बजारबीच दुई लेनको सडकका दायाँबायाँ हरिया अशाेकका रुखले सुन्दर देखिन्छ । तर प्रदेशको राजधानी भएपछि बजारको मुख्यक्षेत्र बुद्धचोकमा दिनहुँ हुने जामले पुरै हेटौंडा बजारलाई अस्तव्यस्त बनाएको छ ।

चारैतिर जोडिएको सडककोबीच चोकमा चार जना ट्राफिक प्रहरी र केही जनपथ प्रहरी रोकिएका गाडीलाई चोकबाट गन्तव्यतर्फ पठाउँदैछन् । गाडी व्यवस्थापनमा ट्राफिक प्रहरीलाई बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म त पानी पिउने फुर्सद पनि हुँदैन । बुद्धचोकबाट रातोमाटे, चौकीटोल, थानाभर्‍याङ, कान्ति राजपथका सडक हुँदै गन्तव्यतर्फ जाने गाडीसँगै एम्बुलेन्ससमेत जाममा पर्छन् ।

तीन नम्बर प्रदेशको राजधानी बनेसँगै हेटौंडामा दिनहुँ ट्राफिक जाम हुन थालेको हो ।१३ जिल्लाका सांसदहरु हेटौंडामा छन् । सातवटा मन्त्रालयका मन्त्रीहरु झण्डा हल्लाउँदै र साइरन बजाउँदै सडकमा ओहोरदोहोर गर्छन् । मन्त्री र सांसदका गाडीसँगै प्रदेश मन्त्रालयमा काम गर्ने कर्मचारीका गाडी पनि थपिँदा सडकमा जाम बढेको हो । त्यसमाथि नियमित चल्ने गाडी त छँदैछन् ।

प्रदेश ३ को राजधानी १ र २ नंवर पस्ने पुरानो गौडो पनि हो । त्यसैले १ नम्बर र २ नम्बर प्रदेशका मन्त्री, सांसदहरु र अरु कर्मचारीहरु पनि यही सडक भएर ओहोरदोहोर गर्ने भएकाले हेटौंडाको मुख्य सडकमा बढी जाम हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वीरेन्द्रकुमार ठाकुर बताउनुहुन्छ ।

हेटौंडाको बुद्धचोक, सीमाचोक, पारिजातपथ, कान्ति राजपथलगायतका क्षेत्रमा सबैभन्दा बढी जाम हुने गरेको छ । ‘चारवटै क्षेत्रबाट आउने गाडी बुद्धचोकमा नै भेट हुने भएकाले बढी जाम हुने गरेको हो’ ट्राफिक प्रमुख ठाकुर भन्नुहुन्छ, ‘हामी बिहानैदेखि जाम हुन नदिन खटिएको खटिएकै छौं । तर चारैतिरबाट सरकारी र निजी गाडीको चापका कारण केही बेर जाममा बस्नुपर्ने बाध्यता छ ।’

प्रदेश राजधानी बनेसँगै कार्यालय समय बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो ४ बजेदेखि ६ बजेसम्म सडक जामको समस्या बेहोर्नुपरेको माईक्रोबसका चालक हेटौंडा १९ का कुमार लामा बताउनुहुन्छ ।

१ नम्बर प्रदेश, २ नम्बर प्रदेशसँगै तीन नम्बर प्रदेशका सरकारी कर्मचारी, ठूला नेता, मन्त्रीहरु भारतबाट सिधै सडकमार्ग भएर काठमाडौं जानेहरुको भेट हेटौंडामा नै हुन्छ । त्यसैले पनि हेटौंडामा सवारी चाप बढेको ट्राफिक प्रहरीको भनाई छ ।

प्रहरीको चिन्ता – ‘भीआईपी’लाई सुरक्षा दिनु कि नियमित काम गर्नु

अहिले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका जनप्रतिनिधिहरु हेटौंडाकै बाटो भएर ओहोरदोहोर गर्ने गरेका छन् । बढीजसो संघीय राजधानी भएर काठमाडाैं–फाखेल, कुलेखानी, भिमफेदी हुँदै हेटौंडा भएर ओहोरदोहोर गर्ने ठूला नेता र मन्त्रीहरुका कारण मकवानपुर प्रहरी हैरान बनेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङ भन्नुहुन्छ, ‘भीआईपीको सुरक्षा र स्कर्टिङ गर्नुपर्दा धेरै प्रहरी त्यसमा नै लगाउनु परेको छ । अरु सुरक्षा हेर्न पनि भ्याइनभ्याई छ ।’

प्रहरीको तथ्यांक अनुसार बितेको साढे दुई महिनाको अवधिमा मात्र हेटौंडामा भएर २ सय ८७ पटक ‘भीआईपी’ हरु ओहोरदोहोर गरेका छन् । उनीहरु सबैको प्रहरीले स्कर्टिङ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांकअनुसार सबैभन्दा बढी दुई नम्बर प्रदेशका मन्त्रीहरु, तीन नम्बर प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु तथा बिभिन्न दलका नेताहरुको ओहोरदोहोर भएको छ ।

वैैशाख महिनामा ६५ पटक र जेठ महिनामा ९२ पटक नेता र मन्त्रीहरु हेटौंडा भएर अरु जिल्लामा ओहोरदोहोर गरेको प्रहरीको तथ्याँक छ । तीन नम्बर प्रदेशका मुख्यमन्त्री र आन्तरिक मामिला तथा कानुन मन्त्री मात्रै यस अवधिमा ९६ पटक हेटौंडा भएर बाहिरी जिल्लामा पुगेका छन् ।

साढे दुई महिनाको अवधिमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, गृहमन्त्री रामबहादुर थापा बादल, निमित्त प्रधानन्यायाधीश, विभिन्न प्रदेशका प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरु, उपप्रधानमन्त्रीहरु, विभिन्न पार्टीका शीर्ष नेताहरु धेरै ओहोरदोहोर गरेका छन् ।

नेता र मन्त्री ओहोरदोहोर गर्दा सुरक्षा दिनको लागि नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीको छुट्टै टोली खटाइने गरिन्छ । जुन जिल्लामा पुग्यो, त्यही जिल्लाको प्रहरी कार्यालयले स्कर्टिङको व्यवस्था मिलाउँछ । सबैतिरको ओहोरदोहोर गर्ने केन्द्र भएका कारण आफूहरुले धेरै स्कर्टिङ गर्नुपरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताउनुभयो ।

सबै प्रदेश र जिल्लाहरुको केन्द्र पनि पर्ने भएकाले हेटौंडामा दिनहुँजसो कार्यक्रम भैरहन्छन् । असार ४ गतेदेखि ७ गतेसम्म नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेला हेटौंडामै भयो । त्यतिबेला यहाँका सबै होटल भरिभराउ भए ।सडकमा गाडीको चापका कारण हैरानी धेरै भएको प्रहरीको भनाई छ । कांग्रेसका एकसय भन्दा धेरै केन्द्रीय स्तरका नेताहरुलाई चार दिनसम्म ट्राफिक प्रहरी र जनपथ प्रहरीले स्कर्टिङ गरेको थियो ।

तीन नम्बर प्रदेशका मुख्यमन्त्री र आन्तरिक मामिला तथा कानुनमन्त्री ओहोरदोहोर गर्ने र जिल्लाभित्र पनि औपचारिक कार्यक्रममा सुरक्षा तैनाथी बढाउनुपरेकाले थप प्रहरी समेत आवश्यकता परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बुद्धिराज गुरुङ बताउनुहुन्छ ।

सडक जाम हुन नदिन अभियान 

हेटौंडाका मुख्य सडकमा जथाभावी पार्किङ गर्ने प्रवृत्ति बढ्न थालेपछि हेटौंडा उपमहानगरपालिकाले त्यसविरुद्ध अभियाननै सुरु गरेको छ । सबैभन्दा धेरै जाम हुने बुद्धचोकबाट राप्तीरोड हुँदै जिल्ला प्रहरी कार्यालय अगाडिसम्म सडकको दायाँबायाँ दुवैतिर गाडी पार्किङ गर्न निषेध गरिएको छ ।

बुद्धचोकको फुटपाथ, हेटौंडा अस्पताल अगाडि मात्र मोटरसाइकल, अटो, मयुरी, माइक्रो, टेम्पो बसलगायतका गाडी रोक्न पाउनेगरी जाम हटाउन लागिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हेटौंडाको मूल सडकमा पार्किङ गर्ने व्यवस्था हटाउँदैछौं । अहिले रापतीरोडमा पार्किङ हटाएका छौं, अब केही दिनपछि विकल्प दिएर मेनरोडमा पार्किङ हटाउँछौ । अनि जाममुक्त हेटौंडा बनाउँदैछाैँ ।’

पहिले कुनैपनि सडकमा भैरहेको दोहोरो पार्किङ हटाएर एकोहोरो पार्किङ मात्र गर्ने, त्यसपछि एक साईडको पार्किङ पनि अर्को विकल्प दिएर हटाएर सडक खुल्ला बनाउन लागिपरेको उहाँले बताउनुभयो । हेटौंडाको ट्राफिक व्यवस्थापनको लागि नगर प्रहरी, ट्राफिक प्रहरी र जनपथ प्रहरीसँगको सहकार्यमा काम भैरहेको उपमहानगरपालिकाले जनाएको छ । 

रोपवे चौर र थानाभर्‍याङमा पार्किङका लागि ठाउँ तयार

हेटौंडा बजार भएर उत्तरी क्षेत्र जाने गाडीलाई अबको केही हप्तामा चौकीटोलमा रहेको रोपवे चौरमा राखेर व्यवस्थापन गर्न लागिएको छ । जिल्लाको उत्तरी क्षेत्र र काठमाडौं ओहोरदोहोर गर्ने साना सुमो तथा अरु गाडी तथा बस पार्किगका लागि रोपवे चौरलाई लिजमा लिएर पार्किङस्थल बनाईंदैछ ।

उत्तरी क्षेत्रमा चल्ने झण्डै पाँचसय गाडी रोपवेको चौरमा व्यवस्थापन गरेपछि मेनरोडको ट्राफिक जाम धेरै कम हुने अपेक्षा गरिएको छ । रोपवेचौरमा सुमो काउन्टर, बस काउन्टर समेत खोलेर त्यहीँबाट टिकट काटेर यात्रुहरु गन्तव्यमा जाने र पार्किङ गर्ने व्यवस्था गर्न लागिएको हो । चौर पुरै सम्याएर राखिएको छ । 

अब ग्राभेल गरेर टिकट काउन्टर तयार भएपछि उत्तरी क्षेत्रका गाडी त्यस स्थानमा पार्किङ गर्ने योजना छ । अहिले भने हेटौंडाको बसपार्क, मेनरोड, चौकीटोल ओरालो, टिसीएनरोडमा काउन्टर राखेर सुमो र बस सञ्चालन गरिएको छ । अहिले मेनरोडमा नै काउन्टर भएपछि यात्रुहरु चढ्नका लागि आउने, ओर्लने भएका कारण पनि सडकमा जाम बढेको हो ।

यता हेटौंडाको थानाभर्याङमा उपमहानगरपालिकाको जग्गा कब्जा गरेर बसेका ७५ वटा घर, टहरा हटाएर ट्रक पार्किङ गर्नका लागि काम सुरु गरिसकेको नगरपालिकाले जनाएको छ । देशमै सबैभन्दा धेरै गाडी भएको नारायणी यातायात व्यवसायी संघसँग आवद्ध र अरु सयौ ट्रकहरु थानाभर्‍याङमा पार्किङ गर्न सुरु गरिएको छ ।

मकवानपुरको पूर्वी भेगमा पनि गाडी पार्किङ गर्नका लागि जग्गाको खोजी भैरहेको छ । हेटौंडाको पुष्पलाल पार्क नजिकैको खाली जग्गामा पूर्वी क्षेत्रका गाडी पार्किङ गर्ने तयारी छ ।

चारैतिर हेटौंडा भएर जाने गाडीका लागि पार्किङस्थल तयार गरेपछि बजार क्षेत्रमा मोटरसाइकल, नगरबस, साना गाडीका लागि मात्र पार्किङ गर्न दिने तयारी छ । अहिले हेटौंडा बजार क्षेत्रमा तरकारी र कपडा बेच्न राख्ने फुटपाथका पसलहरु हटाईसकेकाले यात्रुहरुलाई सडकबाट हिँड्नुपर्ने बाध्यता भने हटेको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया