बिरामीलाई सरकारीबाट निजी अस्पतालमा लाने प्रवृत्ति रोक्न माग

 जेठ २९, २०७६ बुधबार १५:५१:८ | रासस
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधिसभाको बुधबार बसेकाे बैठकको शून्य समयमा सांसदहरुले बिरामीलाई सरकारीबाट निजी अस्पतालमा लाने प्रवृत्ति रोक्न माग गरेका छन् ।  

सांसदहरुले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न पुगेका बिरामीलाई त्यहाँ कार्यरत चिकित्सकले निजी अस्पतालमा पुर्‍याउने प्रवृत्ति बढेकामा पनि चिन्ता व्यक्त गरे । यस्तो प्रवृत्तिले सरकारी अस्पतालको खिल्ली उठाएको भन्दै सांसदहरुले तत्काल अस्पतालभित्रको विकृति अन्त्य गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

यसैगरी सुदूरपश्चिमका विभिन्न जिल्लाका हावाहुरीका पीडितलाई अहिलेसम्म राहत पुुग्न नसकेकाे भन्दै सांसदहरुले सरकारकाे ध्यानाकर्षण गराउँदै तत्काल राहत तथा पुनःस्थापनाका कार्यक्रम ल्याउनसमेत माग गरेका छन् । 

त्यस्तै सांसदहरुले गल्छी-रसुवागढी सडक प्रभावितले अहिलेसम्म मुआब्जा नपाएको र  काठमाण्डाै उपत्यकाका सडक विस्तारमा ढिलाइ भएको तर्फ सरकारको ध्यानाकर्षण गराए शून्य समयमा सांसद देवप्रसाद गुरुङ, दिलकुमारी, नारायणप्रसाद खतिवडा, टेकबहादुर बस्नेत, डिला सङ्ग्रौला, दलबहादुर राना, दिलकुमारी पन्त, दिव्यमणि राजभण्डारी, दुर्गाबहादुर राउत, दुर्गा पौडेल, देवप्रसाद तिमल्सिना, देवेन्द्र पौडेल, नवराज रावत, निरुदेवी पाल, पद्मनारायण चौधरीले भाग लिएका थिए ।  

प्रदेश लोकसेवा आयोग गठन गर्न आग्रह 

बैठकको विशेष समयमा सांसदहरुले लोकसेवा आयोगबाट प्रकाशित कर्मचारी भर्नासम्बन्धी विज्ञापन रोक्ने संसदीय समितिको निर्देशनपछि सरकारको धारणा पनि मागेका छन् । सांसदहरुले प्रदेश लोकसेवा आयोग गठनमा ध्यान दिन सरकारलाई सुझाव दिँदै आयोगको विज्ञापन समावेशी र समानुपातिक बनाउन सुझाव दिए ।

नेकपाकी अञ्जना विशङ्खेले आयोगको विज्ञापनको विषयलाई लिएर सुरु भएको विवादले कसैको पनि हित नगर्ने बताउँदै विज्ञापन समावेशी र समानुपातिक बनाउनु पर्नेमा जाेड दिनुभयाे । 

नेपाली कांग्रेसका देवेन्द्रराज कँडेल र मीनबहादुर विश्वकर्माले आयोगको विज्ञापनलाई विवादमा तान्न नहुनेमा जोड दिँदै यसका बारेमा सरकारको धारणाा के हो भनी सदनमा जवाफ दिन माग गर्नुभयाे ।  

प्रधानमन्त्रीकाे यूराेप भ्रमण र गुठी विधेयकमाथि ध्यानाकर्षण    

नेपाली काङ्ग्रेसकी पुष्पा भुसालले प्रधानमन्त्रीको यूरोप भ्रमणका बारेमा सदनलाई जानकारी दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । त्यस्तै नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले काठमाण्डाै उपत्यकामा खानेपानीको हाहाकार मच्चिएको र गुठी विधेयक गुठियारको भावना विपरीत आएकाले फिर्ता लिन सरकारको ध्यानाकर्षण गराउनुभयो । 

नेकपाका महेश बस्नेतले गुठीसम्बन्धी विधेयक गुठी क्षेत्रका विसङ्गति अन्त्य गर्न आएको हो, यसले गुठीलाई संरक्षण गर्ने बताउनुभयाे । 

 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया