मंगलबारदेखि गर्मी कम हुने सम्भावना

 असार २, २०७६ सोमबार १८:४३:४ | रासस
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौ उपत्यकासहित देशभर गर्मी बढेको छ । केही दिनदेखि प्रि–मनसुन कमजोर भई वर्षा नहुँदा तापक्रम वृद्धि भई गर्मी बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस वर्ष मनसुन शुरु हुने समयमा पनि मनसुन सक्रिय हुन् नसक्दा देशभर अत्यधिक गर्मी महसुस भएको महाशाखाका मौसमविद् राजु प्रधानाङले बताउनुभयो । उहाँका अनुसार केही दिनदेखि उपत्यकासहित देशभर कुनै पनि मौसमी प्रणाली विकसित हुन नसकेको र मौसम खुला भई प्रचण्ड घाम लाग्दा तथा प्रि–मनसुन क्रमशः कमजोर हुँदै जाँदा देशभर तापक्रम वृद्धिसँगै गर्मी महसुस भएको हो ।

सामान्यतया नेपालमा मनसुन भित्रिने समय जुन १० हो तर यस वर्ष मनसुन भित्रिन केही ढिलो हुने भएको छ । मौसमविद्का अनुसार यस वर्ष मनसुन भित्रिने बेलामा अरब सागरमा एउटा वायु बन्यो र पश्चिमी वायु पनि सक्रिय रहेकाले मनसुनलाई प्रभाव परेको हो । गत वर्ष जुन ८ मा मनसुन भित्रिसकेको थियो ।

अझै तीन चार दिन मनसुन भित्रिने कुनै गतिविधि नदेखिएको मौसमविद् प्रधानाङ्गले जानकारी दिनुभयो । नेपालमा मनसुन प्रवेश गर्न स्थानीय हावाभन्दा पनि मनसुनी हावाको प्रभाव बढी हुनुपर्ने बताइएको छ । आज बेलुकाबाट पश्चिमी क्षेत्रबाट पश्चिमी वायु विकसित हुँदै आउने भएकाले मंगलबारबाट केही मात्रामा गर्मीबाट राहत मिल्ने मौसमविद्को भनाइ छ ।

सोमबार काठमाण्डाै उपत्यकासहित देशभर तापक्रम वृद्धि भइरहेको छ । उपत्यकामा यो साता ३३ दशमलव ५ डिग्री सेल्सियससम्म तापक्रम मापन भएको छ । त्यस्तै मौसमविद् समिर श्रेष्ठका अनुसार बङ्गालको खाडी र अरब सागर आसपासमा न्यूनचापीय प्रणाली विकास हुँदा मनसुनी गतिविधि अघि बढ्न नसकेको हो । 

अहिले नेपालमा कुनै प्रणाली विकसित हुन् नसक्दा अत्यधिक गर्मी महसुस भएको हो । 'अझै मनसुन सक्रिय हुन चार÷पाँच दिन लाग्नेछ', मौसमविद् श्रेष्ठले भन्नुभयो ।

मनसुन सुरु नहुँदा यसको प्रत्यक्ष असर खेती बालीमा पर्ने बताइएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार साेमबार काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव ५ डिग्री र अधिकतम तापक्रम ३२ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै साेमबार दिपायल र विराटनगरको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस रहेको छ । यसैगरी धनगढी र नेपालगञ्जको अधिकतम तापक्रम ४० डिग्री मापन गरिएको छ ।

अन्तिम अपडेट: पुस २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया