चक्रपथमा तीन हजार बिरुवा रोपिने

 असार ३, २०७६ मंगलबार ७:३४:४३ | रासस
unn.prixa.net

काठमाण्डौ – वन तथा वातावरण मन्त्रालयले सङ्घीय राजधानीको बालकुमारी–कलङ्की चक्रपथ क्षेत्रमा हरियाली बनाउन बृहत् वृक्षरोपणको तयारी थालेको छ ।

मन्त्रालयको समन्वयमा वन तथा भू–संरक्षण विभागले चक्रपथका दुवै किनारामा गरी करीब तीन हजार ३०० राजवृक्ष, तेजपात, गिनको बाइलोलगायत बिरुवा रोप्न आवश्यक तयारी थालेको हो ।

असार १४ गते ‘राष्ट्रिय वृक्षरोपण दिवस’का अवसरमा उक्त क्षेत्रमा उपलब्ध भएसम्म पाँच फिट अग्ला बिरुवा रोपिने विभागका उप–महानिर्देशक राजेन्द्र केसीले जानकारी दिनुभयो । ‘उपलब्ध भएसम्म सरकारी वनका नर्सरी र निजी नर्सरीबाट खरीद गरेर वृक्षरोपण गर्छौं, स्थानीय तह र सडक विभागसँग समन्वय गरी तयारी थालेका छौँ’, उहाँले भन्नुभयो ।

चक्रपथ क्षेत्रको माटोमा ढुङ्गागिट्टीको मात्रा बढी भएकाले वृक्षरोपण गर्दा ५० सेन्टिमिटर चौडा तथा ५० सेन्टिमिटर गहिरो खाल्डो खनी सो खाल्डोमा प्राङ्गारिक मल र माटोले पुरेर मात्र वृक्षरोपण गरिनेछ ।

वृक्षरोपण गरिएका बिरुवाको संरक्षणका लागि स्थानीय तहका वडा कार्यालय, डिभिजन वन कार्यालय, सडक कार्यालय, स्थानीयवासी लगायतसँग समन्वय गरिने उप–महानिर्देशक केसीले बताउनुभयो । वृक्षरोपणलाई प्रभावकारी बनाउन विभागले यसअघि सरोकारवाला सङ्घसंस्थाका प्रतिनिधिसँग विभिन्न चरणमा छलफल गरिसकेको छ ।

सङ्घीय सरकारले आगामी आर्थिक वर्षलाई ‘वृक्षरोपण वर्ष’ घोषणा गरेकाले त्यसको पूर्वतयारीका लागि वृक्षरोपण गर्न लागिएको विभागले जनाएको छ । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया