नेकपा विप्लव भन्छ : साथीहरु कुरिरहेको अवस्थामा कुमार पौडेलको गोली हानी हत्या गरियो

 असार ६, २०७६ शुक्रबार ८:२३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले पार्टीका सर्लाही इञ्चार्ज तथा जनकपुर ब्यूरो सदस्य कुमार पौडेल दोहोरो भिडन्तमा नमारिएको बताएको छ । 

पार्टीका जनकपुर इञ्चार्ज अरुणले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै पार्टीका नेता पौडेललाई प्रहरीले ‘कायरतापूर्वक हत्या’ गरेको आरोप लगाएको छ ।

लालबन्दी नगरपालिका–१, लखनदेवी जंगलबाट २ वटा मोटरसाइकलमा सिन्धुलीतर्फ जाँदै गरेका ४ जनाले प्रहरीमाथि गोली चलाएको र जवाफी कारबाहीमा सर्लाहीका जिल्ला इञ्चार्ज कुमार पौडेलको ज्यान गएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोख्रेलले जानकारी दिनुभएको थियो । 

मृतक पौडलको साथबाट प्रहरीलाई गोली हानिएको सिक्स एमएमको रिभल्भर बरामद भएको छ भने झोलामा थ्री नट थ्री राइफल, गोली, कटुवा पेस्तोल पनि भेटिएको प्रवक्ता पोख्रेलले जानकारी दिनुभयो ।

तर विप्लव नेतृत्वको नेकपाका जनकपुर इञ्चार्ज अरुणद्वारा विज्ञप्तिमा प्रहरीसँग कुनै भिडन्त नभएको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘बिहीबार दिउँसो करिब सवा एक बजे सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १ लखन्ती खोलामा साथीहरु कुरिरहेको अवस्थामा नियन्त्रणमा लिएर चिनिसकेपछि एक गोली हातमा र अर्को गोली टाउकोमा प्रहार गरी कायरतापूर्वक हत्या गरेको छ ।’

को हुन् प्रहरीसँगको भिडन्तमा मारिएका विप्लव नेता कुमार पौडेल ?

नेकपाले त्यस घटनालाई ओली सरकारको ‘राज्य आतंक’ को संज्ञा दिँदै ‘हत्या’को बदला एकीकृत जनक्रान्तिकै माध्यमबाट लिने बताएको छ । 


 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया