रक्सी खाएर आफ्नै घरमा आगजनी, श्रीमतीको जलेर मृत्यु

 असार ८, २०७६ आइतबार ११:९:३१ | रासस
unn.prixa.net

दार्चुला – नौगाड गाउँपालिका–२ सुण्डमुण्डुमा एक जनाले अत्यधिक रक्सी खाएर गरी आफ्नै घरमा आगजानी गरेका छन् । मदिरा सेवन गरी अन्दाजी ३२ वर्षीय शेरसिह बडालले घरमा आगो लगाएपछि सामान निकाल्न भित्र गएकी उनकी श्रीमती ३० वर्षीया विमला बडालको घरभित्रै जलेर ज्यान गएको छ ।

शनिबार राति १२ बजे जाँड रक्सी सेवन गरी घर पुगेका बडालले घर परिवारसँग झगडा गरेका थिए । घरमा आएर झगडा गरेपछि पूरै परिवार घर छाडेर बाहिर भागेको नौगाड गाउँपालिका–२ का वडा सदस्य जयभानसिंह ठगुन्नाले बताउनुभयो । घरमा कोही नभएको भन्दै बडालले आफू सुत्ने कोठामा गएर आगो सल्काएका थिए ।

घरमा आगो बलेको देखेपछि घर छाडेर भागेकाहरु फर्किएका थिए । बडालकी श्रीमती घरभित्रको सामान बाहिर निकाल्न भित्र पसेकी थिइन् । घरभित्रको सामान निकाल्ने क्रममा आगोमा जलेर उनको घटनास्थलमै ज्यान गएको ठगुन्नाले बताउनुभयो । आगो लागेको घर भित्रबाट बाहिर निस्कन नसक्दा उहाँको जलेर ज्यान गएको  हो ।

बुवा बहादुर बडाल र आमा मङ्गलीदेवी बडाल आगो निभाउने मान्छे खोज्न गाउँ पसेका थिए । घटनाको अवस्था बुझ्न प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर शाही घटनास्थल पुग्नुभएको छ । स्थानीयवासीले रातभर लगाएर आगो नियन्त्रणमा लिएका थिए । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया