गुफामा फसेका थाइल्याण्डका बालकहरुलाई विश्वकपको फाइनल हेर्न फिफा अध्यक्षको निम्तो

 असार २३, २०७५ शनिबार ८:५९:२० | एजेन्सी

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले थाइल्याण्डको एउटा गुफामा फसेका बालकहरुको फुटबल टिमलाई विश्वकपको फाइनल खेल हेर्न आमन्त्रण गरेका छन् । 

इन्फान्टिनोले विश्वकप फुटबल २०१८ को फाइनलभन्दा अगाडि नै बालकहरु र फुटबल प्रशिक्षकको उद्धार भैसक्ने आशा गर्दै निम्तो पठाएका हुन् । फिफा अध्यक्षले १५ जुलाईमा मस्कोमा हुने फाइनल खेलमा गुफामा फसेका ‘वाइल्ड बोअर्स’ टिमका खेलाडी उपस्थित हुने आशा व्यक्त गरेका छन् । 

थाइल्याण्ड फुटबल संघलाई लेखेको पत्रमा उनले भनेका छन्, ‘हामी आशावादी छौं कि उनीहरुले छिट्टै नै परिवारलाई भेट्ने छन् । यदि उनीहरुको स्वास्थ्य अवस्था अनुकुल भयो भने मलाई २०१८ को विश्वकप फाइनलमा उनीहरुलाई पाहुनाको रुपमा स्वागत गर्न पाउँदा निकै खुशी हुनेछ ।’  उनले अगाडि भनेका छन्, ‘मलाई आशा छ कि उनीहरु फाइनलमा हामीसँगै हुनेछन् ।  निःसन्देह यो एउटा उत्सव मनाउने अद्भूत क्षण हुनेछ ।’

थाइल्याण्डका ११ वर्षदेखि १६ वर्षका फुटबल खेलाडी र प्रशिक्षक २३ जुनदेखि एउटा गुफामा फसिरहेका छन् । बेपत्ता भएको नौ दिनपछि मात्रै गोताखोरहरुले बालक र प्रशिक्षक सुरक्षित भएको पत्ता लगाएका थिए । उद्धारकर्ताहरुले उनीहरुसँग गरेको कुराकानीको भिडियो नै सार्वजनिक गरेका थिए । 

विभिन्न देशबाट खटिएका उद्धारकर्ताहरु उनीहरुको उद्धारमा निरन्तर खटिरहेका छन् । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया