च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा
पुस २८, २०८१ आइतबार
काठमाण्डाै - ग्लोबल आईएमई बैंक र जनता बैंकले एकापसमा गाभिने सहमति गरेका छन् ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा वाणिज्य बैंकलाई एकापसमा गाभिनका लागि प्रोत्साहन गर्ने नीति राखेको र नेपाल राष्ट्र बैंकले अभिप्रेरित गरेको सन्दर्भमा ती दुई बैंक एकापसमा मिसिने निर्णय शुक्रबार गरेका हुन् ।
सहमतिपत्रमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैंकका अध्यक्ष केशव रायमाझीले हस्ताक्षर गर्नुभएको छ । यही असार १२ गते नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले वाणिज्य बैंकका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर गाभिनका लागि उपयुक्त सहयात्री खोज्न आग्रह गर्नुभएको थियो ।
वाणिज्य बैंकलाई एकापसमा गाभिनका लागि राष्ट्र बैंकले बिहीबारसम्मको समयसीमा दिएको थियो । बिहीबार मात्रै विभिन्न सात वाणिज्य बैंकले गाभिनसक्ने विषयमा राष्ट्र बैंकलाई आशयपत्र बुझाएका थिए । राष्ट्र बैंकले दिएको समयसीमाभित्रै एकापसमा गाभिने निर्णय दुई बैंकले गरेका हुन् । राष्ट्र बैंकका गभर्नर डाक्टर नेपालकै शब्दमा ग्लोबल आईएमई र जनता बैंकको बीचमा ‘लभ’ परेको छ ।
एकापसमा गाभिने सहमतिपछि रासससँग कुरा गर्दै ग्लोबल आईएमई बैंकका अध्यक्ष ढकालले सरकारको नीतिअनुसार दुई बैंक एकापसमा मिल्न लागेको जानकारी दिनुभयो । उहाँका अनुसार ग्लोबल आईएमई बैंकको १०० कित्ता शेयर बराबर जनता बैंकको ८५ कित्ता शेयर हुने गरी ‘स्वाप रेसियो’ तय गरिएको छ ।
सहमतिअनुसार गाभिएर बन्ने नयाँ बैंकको नाम ग्लोबल आईएमई बैंक नै रहनेछ । यस्तै बैंकको प्रमुख कार्यकारी अधिकृतमा जनता बैंकका हालका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्री नै रहनुहुनेछ । यस्तै ग्लोबल आईएमई बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महेश ढकाललाई उचित जिम्मेवारी दिइनेछ ।
नयाँ सञ्चालक समिति सात सदस्यीय बनाइनेछ । त्यसमा ग्लोबल आईएमईका तर्फबाट पाँच र जनता बैंकका तर्फबाट दुई जना रहनेछन् । दुई बैंक मिलेपछि सबैभन्दा बढी चुक्ता पूँजी भएको बैंक बन्ने जानकारी दिँदै अध्यक्ष ढकालले भन्नुभयो, “कूल चुक्ता पूँजी मात्रै १८ अर्ब रुपैयाँ बराबरको हुनेछ ।” यस्तै रिजर्भसमेत गरी कूल २५ अर्ब रुपैयाँ बराबरको हिस्सा पुग्नेछ ।
हाल ग्लोबल आईएमई बैंकको कूल चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँ रहेको छ । यस्तै जनता बैंकको आठ अर्ब सात करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । गत चैत मसान्तसम्म ग्लोबल आईएमई बैंकले एक खर्ब १६ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेको थियो । यस्तै जनता बैंकको ७० अर्ब रुपैयाँ निक्षेप रहेको छ । एकापसमा गाभिएपछि बैंकको निक्षेप मात्रै एक खर्ब ८७ अर्ब रुपैयाँ पुग्नेछ ।
वित्तीय स्थायित्वका लागि बैंक तथा वित्तीय संस्थाको सङ्ख्या घटाउनुपर्नेमा अर्थमन्त्री डाक्टर युवराज खतिवडा र नेपाल राष्ट्र बैंकका गभर्नर डा नेपालले जोड दिँदै आउनुभएको छ । हाल वाणिज्य बैंकको सङ्ख्या २८ रहेको छ ।
'नियमित छलफलपछि हामीले एकापसमा गाभिने निर्णय गरेका हौँ, नेपालको बैंक तथा वित्तीय क्षेत्रमा यसले दूरगामी प्रभाव पार्ने मैले विश्वास लिएको छु', अध्यक्ष ढकालले भन्नुभयो । दुई बैंकका कर्मचारी, सम्पत्ति तथा अन्य विषयमा भने आवश्यक निर्णय लिइने उहाँको भनाइ छ ।
यस्तै अन्य वाणिज्य बैंकलेसमेत एकापसमा गाभिनका लागि छलफल तीव्र पारेका छन् । केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकबीच हुन लागेको गाभिने प्रक्रियालाई ‘बिग मर्जर’ को सज्ञा दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।