देशमै सबैभन्दा धेरै हिउँ चितुवा डोल्पामा, गणना गर्दा एक सय २...
बैशाख ८, २०८१ शनिबार
थाइल्याण्डको प्रख्यात पर्यटकीय गन्तव्य फुकेटमा शुक्रबार नेपालको संस्कृति तथा पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले प्रबर्द्धनात्मक कार्यक्रम आयोजना गरिएकाे छ ।
बैंककमा रहेकाे नेपाली दूतावासले फुकेटमा रहेकाे नेपाली अवैतनिक वाणिज्यदूत र गैरआवासीय नेपाली सङ्घको सहयोगमा गरेको कार्यक्रममा थाइल्याण्डका लागि नेपाली राजदूत गणेश ढकालले नेपाल–थाइल्याण्ड द्विपक्षीय सहयोगका अथाह अवसर र सम्भावना रहेका बताउँदै पर्यटन तथा लगानीका निम्ति नेपाल आकर्षक गन्तव्यका रुपमा विकास भइरहेको जानकारी दिनुभयो ।
ऊर्जा, भौतिक पूर्वाधार, पर्यटन, कृषि, खानी तथा खनिजजन्य उद्योगमा प्रविधि हस्तान्तरणसँगै लगानी गर्न थाइ उद्यमी व्यापारीलाई राजदूत ढकालले आग्रह गर्नुभएको बैंककमा रहेकाे नेपाली दूतावासले जनाएको छ ।
थाइ विमान कम्पनीलाई उहाँले धार्मिक पर्यटन प्रवर्द्धनमा लाग्न सुझाउँदै निकट भविष्यमा सञ्चालन हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाइ सम्पर्क कायम गर्न आग्रह पनि गर्नुभयो ।
अवैतनिक वाणिज्यदूत प्रनी साकुलपिपातानाले नेपालका पर्यटकीय गन्तव्यबारे पर्याप्त प्रचारप्रसार गर्न आफ्नो देशका पर्यटन व्यवसायीलाई अनुरोध गर्नुभयो । थाइल्याण्डका उच्च सरकारी अधिकारी, उद्यमी, लगानीकर्ता, पर्यटन व्यवसायी तथा सञ्चारकर्मीको उपस्थितिमा भएको कार्यक्रममा नेपालका मौलिक कला -संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।