धूप बेचेर पत्रकारितामा स्नातकोत्तर गर्दै लोकेन्द्र

 असार २४, २०७५ आइतबार १२:१६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सुन्धाराको काठमाडौं मल अगाडि मान्छेको भिडभाड अनि गाडीको ट्याँट्याँ र टुँटुँ । कोही गीत गाएर गुजारा गर्न सडकपेटीमा बसेका छन्, त कोही सडकमै हात फिँजाएर मागिरहेका छन् । महँगा लुगामा महँगो अत्तर छर्केर सामान किन्न मलभित्र जाँदै गरेका र भित्रबाट फर्किदै गरेकाहरुको पनि कमी छैन बाटामा । आ–आफ्नो गन्तव्यको गाडी पर्खिरहेकाहरु पनि उत्तिकै छन् । यही भिडमा पानीले भिजेको भुइँमा टुक्रुक्क बसेर अगरबत्ती बेचिरहेका गोरखाका लोकेन्द्र भट्ट पनि हुनुहुन्छ । उहाँ आरआर क्याम्पसमा पत्रकारिता विषयमा स्नातकोत्तर तह पढ्दै हुनुहुन्छ । 

सानै उमेरमा कुनै कारणले दुखेका आँखाको उपचार गर्न नसक्दा उहाँले भौतिक रुपमा संसार देख्न छोड्नुभयो । गरिबीका कारण शहरमा उपचार गराउन नसकेको र गाउँमै झारफुक र सामान्य ओखतीमूलो गर्दा आँखाको ज्योती गुमेको उहाँ बताउनुहुन्छ । 

तर उहाँले पढाइलाई भने छोड्नु भएन । ब्रेललिपीमार्फत उहाँले २०६२ सालमा पोखराको अमरसिंह उच्च माविबाट एसएलसी उत्तीर्ण हुनुभयो । एसएलसी दिएपछि काठमाडौं आएर उच्च शिक्षा शुरु गरेका लोकेन्द्र छात्रवृत्ति पाएर पढ्न सजिलो भए पनि काम पाउन भने गाह्रो भएको बताउनुहुन्छ । 

३२ वर्षीय भट्ट काठमाडौंको नयाँबजारमा कोठा भाडामा लिएर आमा र श्रीमतीसँगै बस्नुहुन्छ । ‘बहिनीको बिहे भइसक्यो । अर्को विवाह गरेका बुवा कालिमाटीमा तरकारी व्यवसाय गर्छन्, कान्छी आमाबाट दुईजना भाइबहिनी छन्’, लोकेन्द्रले परिवारको संक्षिप्त जानकारी दिनुभयो । 

मिडियामा काम गर्ने रहर पालेका लोकेन्द्रले रेडियो प्रस्तुतीसम्बन्धी तालिम लिएर चार वर्षसम्म एफएममा अपाङ्गतासम्बन्धी साप्ताहिक कार्यक्रम पनि चलाउनुभयो । तर त्यसबाट मात्र जीविका चलाउन मुश्किल भएपछि अरु विकल्प खोज्नुपरेको उहाँको भनाई छ ।

चोकमा गीत गाएर वा दुख देखाएर मागेर खानुभन्दा धूप बेच्ने काम उहाँलाई राम्रो लाग्यो । अनि सुरु भयो धूपको व्यापार । लोकेन्द्रले ठमेलबाट ९० रुपैयाँमा  किनेर ल्याउने धूप सय रुपैयाँमा बेच्नुहुन्छ । दिनभरिमा २५÷३० वटा धूपका प्याकेट विक्री गरेर ३ सय रुपैयाँसम्म कमाइ हुन्छ । चार वर्ष भयो उहाँले यसरी धूप बेच्न थालेको ।

दैनिकी

लोकेन्द्र नयाँ बजारबाट प्रदर्शनीमार्गमा रहेको आरआर क्याम्पसमा बिहान ६ बजे पुग्नुहुन्छ । कक्षा सकेर निस्कँदा ११ बज्छ । कोठामा फर्केर खाना खाएपछि धूपको बोरा बोकेर निस्कनुहुन्छ, अनि सुरु हुन्छ आफ्नै खुशीको व्यापार । धूप बेच्न कहिले स्वयम्भू, कहिले रत्नपार्क कहिले सुन्धारा त कहिले पशुपतिनाथसम्म पुग्ने गरेको उहाँले बताउनुभयो । 

धूप बेच्ने क्रममा कति–पटक त ठगिनु पनि परेको अनुभव छ, लोकेन्द्रसँग । एकपटक संकटा मन्दिरको आडैमा उहाँसँग कसैले धूपको एउटा बट्टा किन्छु भन्यो र लियो अनि आफूसँग हजारको नोट रहेको भन्दै ९ सय रुपैयाँ फिर्ता माग्यो । उहाँले थपक्क मान्नुभयो । तर धूप र ९ सय रुपैयाँ लिएर त्यो मान्छे भाग्यो । उहाँले केही गर्न सक्नुभएन । आफूलाई दिउँसै ठग्ने त्यो व्यक्तिको हुलिया कस्तो छ भन्नेसम्म पनि उहाँले थाहा पाउनु भएन । मेहनत गरेर बाँच्न संघर्ष गरिरहेकाहरुलाई पनि छट्टुहरुले ठगेको सम्झँदा उहाँलाई दुःख लाग्छ । 

पत्रकारिता गर्ने रहर 

‘बिहान कक्षामा र बेलुका किताबमा पढेका कुरा धूप बेच्न बसेको बेला पनि दिमागमा आइरहन्छ’, लोकेन्द्र भन्नुहुन्छ, ‘त्यसैले आफूलाई पत्रकार बन्न उधुम इच्छा जगाइदिन्छ ।’  

लोकेन्द्रको मोबाइलमा स्क्रीन रिडर एप छ । जसले दृष्टिविहीनलाई समाचार पढेर सुनाइदिने गर्छ । यस्तै मोबाइलको स्क्रिनमा भएको टच प्याडले कहाँ कहाँ टच भयो भन्ने जानकारी दिन्छ । उहाँ प्रविधिको युगमा दृष्टिविहीनले पनि पत्रकारिता गर्नसक्छ भन्नेमा विश्वस्त हुनुहुन्छ ।  

‘अहिले सञ्चारमाध्यममा राजनीतिक कुराले मात्र बढी महत्व पाएको एक पाठक र स्रोताका रुपमा उहाँको अनुभव छ । किसानका, अपांगता भएका व्यक्तिका सामान्य मान्छेका दुःख र समस्यालाई सञ्चारमाध्यमले अति कम मात्र ध्यान दिएकोमा उहाँलाई दुःख लाग्ने गरेको छ । 

हो यिनै विषयमा लोकेन्द्रलाई पत्रकारिता गर्न मन छ । ‘मलाई नेपालको सामाजिक मुद्धामा पत्रकारिता गर्न मन छ’, लोकेन्द्रले आफ्नो रहर सुनाउनुभयो, ‘म सामाजिक विषयमा मज्जाले पत्रकारिता गर्न सक्छु भन्नेमा विश्वस्त पनि छु ।’

अन्तिम अपडेट: कात्तिक २८, २०७५

1 Comments

  • goma bhatta

    July 10, 2018, 2:34 p.m.

    Sadakko dhulo dhuwa khadai ysto kastakar ra dukhadai jeevanyapan Grera pani master grne ichha boknu vko lokendra bhatta lai rajjele uhako afno capacity heri patrakarita sanga releted job milayra uhalai master grne enverment sahaj bnaidina anurod grinx.

तपाईको प्रतिक्रिया