आज गुरु पूर्णिमा, गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

 असार ३१, २०७६ मंगलबार ७:९:५६ | रासस
unn.prixa.net

काठमाण्डौ – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ ।  ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताउनुभयो ।

अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ ।

गुरुपूर्णिमाका अवसरमा विद्यालय एवम् विभिन्न सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्दैछन् । आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्ने वेदव्यासको सम्झनामा व्यासजयन्ती पनि मनाइन्छ ।

आषाढ शुक्ल पूर्णिमाकै दिन वेदव्यास जन्मिएकाले यसै दिन व्यासजयन्ती मनाउने गरिएको हो । गौतम बुद्धले आजकै दिन धर्मचक्र प्रवत्र्तन अर्थात् पहिलो उपदेश दिएका थिए । 

व्यासले पुराण र उपपुराणका माध्यमबाट ‘परोपकार पुण्याय, पापाय परपीडनम्’ अर्थात् अरुको उपकार गरे धर्म हुन्छ एवम् अरुलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिनुभएको छ । यस वर्ष गुरुपूर्णिमाका दिन चन्द्रग्रहण परे पनि गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने पर्व बिहान पर्ने भएकाले कुनै असर नगर्ने समिति अध्यक्ष गौतमले बताउनुभयो । पूर्णिमा व्रत पनि यस वर्ष मङ्गलबार नै परेको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया