अवैध रुपमा सञ्चालन हुँदै आएका पाँच स्वास्थ्य प्रयोगशालामा शिलबन्दी

 साउन ६, २०७६ सोमबार ८:८:५६ | रासस
unn.prixa.net

सुर्खेत - कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा अवैध रुपमा सञ्चालन हुँदै आएका पाँच प्रयोगशालामा शिलबन्दी गरिएको छ । जिल्ला प्रशासन कार्यालयको सहकार्यमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको नेतृत्वमा गएको संयुक्त टोलीले पाँच प्रयोगशालामा शिलबन्दी गरेको हाे ।

गएकाे असार १९ र २० गते केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुणा झा नेतृत्वको टोलीले सुर्खेतमा सञ्चालित प्रयोगशालाको अनुगमन गरी अवैध भनी किटान गरेर दिएको प्रतिवेदनका साथै प्राप्त पत्रानुसार अवैधरुपमा सञ्चालित प्रयोगशाला शिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत उत्तम शर्माले जानकारी दिनुभयो ।

प्रशासकीय अधिकृत शर्माका अनुसार वीरेन्द्रनगरस्थित राना पोलिक्लिनिक तथा डाइगोनोष्टिक, बोहरा पोलिक्लिनिक, कर्णाली मेडिकलहल तथा प्याथोलोजी, शिवविहार मेडिकलहल र रम्वादेवी स्वास्थ्य क्लिनिक तथा निरु फार्मेसीमा शिलबन्दी गरिएको हो । प्रयोगशाला सञ्चालनका लागि आधारभूत मापदण्ड पूरा नगरी सञ्चालन भएका प्रयोगशाला शिलबन्दीपश्चात् बाँकी कारवाही प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राख्न निर्देशन दिइएको उहाँले बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका निमित्त प्रमुख गणेशभक्त गौतमले क्लिनिक तथा फार्मेसीमा पर्याप्त जनशक्तिको व्यवस्था नगरेको, फार्मेसी नपढेकाले पनि औषधि बिक्रीवितरण गरेको, ल्याब सञ्चालनका लागि आवश्यक पूर्वाधार नै तयार नगरी रगत, पिसाब, दिसा, खकार जाँच गर्ने गरेको, प्रयोगशाला नजिकै फोहर रहेकोजस्ता कमजोरी देखिएकाले शिलबन्दी गरिएको र सञ्चालकसँग स्पष्टीकरण मागिएको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: पुस २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया