१०१ वर्षमा हजुर आमा भटमास चपाउनुहुन्थ्यो, मेरो चाहिँ ६७ वर्षमै बुद्धि बंगारो खुस्कियो : प्रधानमन्त्री ओली

 साउन १२, २०७६ आइतबार ८:४२:४१ | रासस
unn.prixa.net

काठमाण्डौ – शनिबार शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीको आकस्मिक तथा बहिरङ्ग सेवा भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अरु कार्यक्रममा जस्तै रोचक भाषण गर्नुभयो । देशमा स्वास्थ्य क्षेत्रले फड्को मारेको कुरा मात्रै होइन, आफ्नै स्वास्थ्य अवस्थाको बारेमा पनि बताउनुभयो । पुराना र रोचक कुरा सम्झाएर बेलाबेला हँसाउनुभयो । प्रधानमन्त्री ओलीले व्यक्त गर्नुभएको मन्तव्यको सम्पादित अंश :

हामी एउटा सफलताले ल्याएको खुशीको क्षणमा छौँ । हामी स्वास्थ्य क्षेत्रका, स्वास्थ्य विज्ञानका आदिम रुप धन्वन्तरिदेखि गंगालाल हृदय केन्द्रको नयाँ विशिष्ट सुविधा सम्पन्न आधुनिक कक्ष निर्माणको सफलतासम्म आइपुगेका छौँ । यो नेपालको सफलता हो । नेपालीको सफलता हो । यो सफलता मानव जातिको सफलता हो । किनभने हामी देश विशेषको नागरिकता हेरेर बिरामीको उपचार गर्दैनौँ । मानव जातिको बिरामीको उपचार गर्छौं । नागरिकताको होइन, मानव जातिको उपचार । त्यस कारण यो मानव जातिको यस भेगमा भएको, यस भेगमा प्राप्त सफलता हो ।

म यस सफलताको पछिल्लो घडीमा यतिबेला जसले असाधारण भूमिका खेल्नुभयो, उहाँहरुलाई सफलताको निम्ति विशेष बधाई भन्न चाहन्छु । धन्यवाद भन्न चाहन्छु । यसभन्दा अगाडि यसको इतिहासतिर अलिकति फर्किन चाहन्छु । त्यतिबेला म गृह मन्त्री थिएँ । यो २४/२५ वर्ष अगाडिको कुरा हो । म हाम्रा पुराना शास्त्रहरुमा अलिक रुचि राख्छु । मैले शास्त्रमा पढिआएको थिएँ, पिता जमादग्नीले दिएको आदेश बमोजिम पर्शुरामले आफ्नै आमाको बञ्चरोले काटेर हत्या गरे । तर आमाको शिर छिनाइसकेपछि छोरा पर्शुरामले बुबासँग भने, मैले तपाईंको आज्ञा त माने अब मेरो माग पूरा गरिदिनुपर्‍यो । जो तपाइँले वचन दिनुभएको थियो । उनले भने, मेरी आमालाई फेरि जस्ताको तस्तै ब्युँझाइदिनुस् । अनि जमादग्नीले अपरेसन गरेर आफ्नी पत्नी रेणुकालाई ब्युँझाइदिए जस्ताको तस्तै । लक्ष्मण लंकामा घाइते भए, बेहोस भए, कोमामा गए । औषधिको थलो भनेको त फेरि हिमालय पर्वत नै थियो । औषधि उत्पन्न हुन्छ हिमालयमा । जाऊ हिमालयमा गएर औषधि लिएर आऊ भनेर हनुमानलाई भनियो । उनले औषधि बोकेर गए र लक्ष्मण ब्युँझिए ।

धन्वन्तरिदेखि ऋषि पतञ्जली अझ अगाडि ऋषि चरक । यस्ता ऋषिहरुले धन्वन्तरिको परम्परालाई अगाडि बढाएका थिए । यो यहीँ ठाउँ हो जहाँ जडीबुटी पनि उत्पन्न हुन्छ र अर्गान ट्रान्सप्लान्टेसन त्यो तहसम्मका त्यस बेलाका सर्जनहरु पनि यहीँ थिए । शनिको नजर पर्नेबित्तिकै पार्वतीका छोराको शिर गायब भयो,  आपतपर्‍यो । त्यस पछि छेउमा जे भेटिन्छ त्यसको टाउको लेऊ भनियो । हात्तिको टाउको ल्याएर जोडे । म्याचिङको प्रोब्लेम पनि हल गरेका रहेछन् त्यतिबेलासम्म । अहिले अब बल्ल हामी म्याचिङ गराउने त्यो प्रविधितर्फ उक्लिदै छौँ ।

जरासन्ध छुट्टिएको अवस्थामा जन्मिएका थिए । तिनलाई अपरेसन गरेर एउटै बनाइएको थियो जोडेर । यस्ता अनेक प्रसंग हाम्रा शास्त्रमा आउँथे । औषधि आउँथे र मैले सानोदेखि देखेको थिएँ, मेरो हजुरआमा अरु त मलाई थाहा थिएन, सात किलोमिटर परको बजार एक्लै जानुहुन्थ्यो, एक्लै फर्कनु हुन्थ्यो हिँडेर । र बिरामी नभई दीर्घजीवन बिताएर बित्नु भयो सुतेकै ठाउँमा । उहाँले इन्जेक्सन लिनु हुन्नथ्यो, ट्याबलेट खानु हुन्नथ्यो । खलले समस्याको हल गर्दथ्यो । उहाँसँग औषधिको एउटा सानो खल थियो । एउटा सानो लोहोरो थियो । त्यसैले समस्याको समाधान गर्दथ्यो । त्यो पनि मैले देखेको थिएँ । उहाँको न ब्लड प्रेसर, न सुगर, न हार्ट डिजिज केही पनि थिएन । मकै भटमास चपाउनुहुन्थ्यो ।

म ६७ वर्ष पूरा हुन लागें । हिजो बेलुका मेरो दाहिने पट्टिको बुद्धि बंगारो आफैँ खुस्कियो । तर १०१ वर्षमा मेरो हजुर आमा भुटेको मकै भटमास चपाउनुहुन्थ्यो । संयोग कस्तो परेछ, हिजो बेलुका मात्रै मेरो दाहिने पट्टिको माथिल्लो पट्टिको बुद्धि बंगारो छामी हेरें जरा पनि छैन । रगत पनि आएन, कति अशक्त भएको रहेछ । हाम्रो भूगोल औषधि उम्रिने, जन्मिने भूगोल हो । जराबाट बन्ने औषधिलाई जडी, माथि उम्रिएको बिरुवा, पात, फलफूल, त्रिफला, चूर्ण आदि इत्यादी बुटीभित्र पर्छन । जराबाट बन्ने जडी, माथि उम्रिएका बुटी त्यही भएर जडिबुटी भयो । त्यसको प्रशोधन गर्ने ठाउँ राखेर त्यसको नाम जडीबुटी भएको छ । यो यस्तो ठाउँ हो जहाँ जरा पनि औषधि, बोक्रा पनि औषधि, पात पनि औषधि हुन्छ ।

मैले यो प्रसंग किन भनेको हो भने म गृहमन्त्री भएको बेला, त्यसभन्दा अगाडि, अलिक अगाडिसम्म यस ठाउँमा छालाजुत्ता कारखाना थियो । छालाजुत्ता बाँसबारीको सस्तो हुने भएकोले लगाउन मन पराउँथ धेरै मानिस । सस्तो पाइन्थ्यो, दुई रुपैयाँ, तीन रुपैयाँ, अढाई रुपैयाँमा छाला जुत्ता राम्रो लगाउन पाइन्थ्यो । म पनि दुई–अढाई रुपैयाँमा जुत्ता किनेर लगाउँथे बाँसबारी छालाजुत्ता कारखानाको । धेरै महंगो किन्यो भने पनि चार÷पाँच रुपैयाँ पर्दथ्यो । मैले लगाउने चाहिँ दुई, अढाई, तीन रुपैयाँका थिए । 

उद्योगहरुमा मेरो विश्लेषणमा एउटा उल्का आइराखेको थियो–उद्योग मास्दै जाने । म वेचैन थिएँ, उद्योग मासिँदैछन् अरु थोेक केही हुँदै छैन । त्यस अवस्थामा एक दिन डाक्टर अरुण सायमीले मनमोहनजी र हामी भएका ठाउँमा मुटु अस्पताल खोल्नुपर्‍यो भन्नु भयो । होचो सिलिङ भएदेखि मेरो टाउको ठोकिन्थ्यो होला, म खुसीले त्यति उफ्रिएँ । एउटा नयाँ काम हुने भयो । त्यति खुशी छाएको थियो । साँच्चै नेपालमा हामी हृदयरोग निको पार्ने काम गछौं त ? सक्छौँ ? 

हाम्रोमा साधारणतया गाउँघरमा मुुटु रोग लाग्दैन । शिकारी लाग्छ । शिकारीले वाण हान्छ । कहिले कहिले धामी, झाँक्रीले रिसायो भने वाण हान्छन् । खुशी भयो भने वाण तर्काउँछन् । निको भयो भने वाण तर्कायो नत्र भने वाण भित्रैसम्म गडिसकेको रहेछ गयो । शिकारीले वाण हान्थ्यो, अचानक मान्छे फेन्ट हुन्थ्यो । ऐया भनिसक्दा पुक्लुक्क हुन्थ्यो । शिकारी लाग्थ्यो, हार्ट याट्याक हुँदैनथ्यो, ब्रेन ह्यामरेज हुँदैनथ्यो । डा. सायमिको कुरा सुनेपछि मनमा प्रश्न उठेको थियो, यो मुटुको शिकारी लाग्न छोड्छ त नेपालमा ? शिकारी युग अन्त्य हुन्छ ? हामी विज्ञानको युगमा प्रवेश गर्छौं ? शिकारीको युगबाट मुटुमा रोग लाग्छ र त्यसको उपचार हुन सक्छ भन्ने युगमा प्रवेश गर्छौं ? त्यसमा चिन्ता थियो । त्यस पछि मैले जानेका डक्टरहरु, अरुण सायमीले त्यसमा कुरा चलाउनुभयो, डाक्टर भगवान् कोइरालाले उत्साह देखाउनु भयो त्यसमा । अगाडि बढाउनुस् सरकारले समर्थन गर्छ । ठाउँ कहाँ गर्ने ? बाँसबारी छालाजुत्ता कारखानाको ठाउँ खाली भएको छ । सबै दिने कि आधा दिने ? अलिकति दिने की पूरै दिने ? दिने की नदिने ? अस्पताल भनेको स्वाथ्य चौकीभन्दा माथि देखेको वीर हस्पिटल, अञ्चल अस्पतालसम्मका कुरा थिए त्यस बेला । त्यो अञ्चल अस्पतालभन्दा माथि नदेखेकोले बाँसवारी छालाजुत्ता कारखानाको सम्पूर्ण एरिया एउटा मुुटु अस्पताललाई दिनु भनेको वेस्ट अफ ल्याण्ड हो, त्यो पर्र्दैन भन्ने जस्तो । कति प्राप्त गर्नुभयो, आधा प्राप्त गर्नु भयो की पूरा ? जेहोस् त्यो बहस अलिकति चलेको थियो । 

आज मैले सुने १७ हजार ओपन हार्ट सर्जरी भइसकेको छ यहाँ । लाखौंले उपचार पाएका छन् । अब आजदेखि इमरजेन्सी वार्डको विस्तार भएको छ । ३४ बेडको इमरजेन्सी वार्ड भएको छ । पहिले यो वार्ड सानो थियो । अब हामीसँग नयाँ–नयाँ प्रविधिहरु छन । आँखाको अप्रेशन गर्नपर्‍यो भनेपछि मान्छेहरु थर्कमान हुन्थ्ये । आँखाको अप्रेशन गर्र्ने भनेपछि कहाँ सुइ घोच्ने, के गर्ने यति बाक्लो कालो चस्मा लगाएर हिडन् पर्ने अनेक–अनेक थियो । मैले इम्युनोसप्रेस्यान्ट औषधिहरु खानु पर्छ र खाने गर्छु । शरीरको इम्योन प्रणालीको सप्रेसनले क्याट¥याक्ट हुँदो रहेछ, फूलो पार्दो रहेछ । दुईओटै आँखामा एकैचोटी फूलोपर्‍यो । अगाडि को बसेको छ भनेर देख्ने, तर नचिनिने । यसो आकृति जस्तो मात्र देखिन्छ, मान्छे चिनिदैन । त्यस्तो हालत भयो । कागज हेर्दा मैले अक्षर नदेख्ने मात्रै होइन की यहाँ कालो छ भन्ने पनि नदेख्ने सेतो मात्र देख्ने । यस्तो स्थिति भयो, अपरेसन त गर्नैपर्‍यो । अपरेसन गर्दा सुई घोच्छन् की भन्ने पनि थियो । सुई पनि घोचेनन्, यसो ड्रप्स राखी दिएर १० मिनेट एकछिन पर्खनुस् भने । लगेर बेडमा सुताए । यो बत्तिमा हेर्नुस है भने । सात मिनेटपछि फेरि थोपा हाल्यो, विस्तारै आँखा खुल्दै जान्छ भन्यो । दुईचार मिनेटपछि छंग देखें, छक्क लाग्यो । अपरेसन यति सजिलो रहेछ ।

हाम्रा धर्म शास्त्रहरुमा अन्धविश्वास मात्रै पस्किइएको छै्रन । दैवी इच्छा भनेर मात्रै पस्किइएको छैन । भगवान्को लिला भनेर मात्रै पस्किइएको छैन । त्यसै कारण भगवानको इच्छा अनुसार जरासन्ध दुईओटा जन्मिएको थियो । अपरेसनपछि एउटै भयो । भगवानका इच्छा अनेक हुँदा रहेछन् । त्यसलाई फेरि विज्ञान–प्रविधिले आफ्नो ठाउँमा ल्याउन सक्ने रहेछौं । आज विज्ञान–प्रविधिको विकास, स्वास्थ्य क्षेत्रमा जस्तो भएको छ, अब आर्टिफिसियल अर्गानहरु । तिनीले काम गर्ने । नसा ब्लक भयो, खोलिदिने । एन्जियोग्राम, एन्जियोग्राफीदेखि लिएर अहिले त्यसका लागि खोलिरहनु पर्दैन । पहिले चिरेर अनि त्यो खोल्न पर्दथ्यो । अहिले नसाबाट सुई दिए झैं सूरर पठाइदिने एउटा पाइप र त्यहाँ खोलिदिने । तत्काल खोलेर फेरि खुम्चिन सक्छ भने खुम्चिन नदिने अर्को प्लास्टिक राख्दिने पाइप लगेर राखिदिने । न त्यो पाइप खुम्चिन्छ, न त्यो नसा खुम्चिन पाउँछ । अर्थाथ मुटु, मस्तिष्कको अपरेसन । दुई वटा टाउका भएका गंगा–जमुना एउटा भए । यद्यपि उनीहरुको जीवनको लंगभिटी धेरै भएन होला प्रयोगात्मक स्थितिमा । किड्नी ट्रान्सप्लान्टेसनको हिस्ट्रि १९०२ बाट सुरु भएपनि यथार्थमा १९५३ बाट त्यसको वास्तविक ट्रान्सप्लानटेशनका प्रयासहरु अगाडि बढे । १९७० सम्म अर्थात करिव सत्तरी वर्षभित्रै ट्रान्सप्लान्टेशनको स्थिति यति डेभलप्ड भयो । १९७० भन्दापछि ट्रान्सप्लान्ट गरेका मान्छे अहिलेसम्म जीवित छन् । १२ वर्ष अगाडि ट्रान्सप्लान्ट गरेको म फर्म द भेरी विगेनिङ नर्मल लाइफ व्यतित गरिरहेको छु । अहिलेसम्म सामान्य जीवन बिताइराखेको छु ।

मेडिकल सेक्टरमा हामी आफैँले पनि काफी प्रगति हासिल गरेका छौँ । चार÷पाँच दिन अगाडि म तिलगंगा आँखा अस्पतालमा गएको थिएँ । त्यहाँको प्रगति देख्दा निकै खुशी लाग्यो । उहाँहरुले विश्व स्वास्थ्य संगठन, डब्लुएचओको एउटा सहयोगीको हैसियत, सहकार्य गर्ने संस्थाको हैसियत प्राप्त गर्नु भएको छ । यस्ता विश्वका ८ ओटा संस्थामध्ये तिलगंगाले मान्यता प्राप्त गरेको छ । यो सानो कुरा होइन । नेपालले बनाएका लेन्सहरु विश्वव्यापी रुपमा वितरण भएका छन् । अहिले ५० लाख लेन्स वितरण भएका छन र दुनियाँका अनेक हस्पिटलले नेपालले तयार गरेका लेन्सहरुको प्रयोग गरिराखेका छन् । 

हामीले काभ्रेमा भ्याक्सिनका लागि भाइरसहरुको संकलन गरेका छौं, तिनको बैंक तयार गरेका छौं । जसबाट हामी विभिन्न किसिमका खोप दिन सक्दछौं, भाइरसको संकलन गरेर खोप दिन सक्दछौं । यस्ता अनेक उच्चस्तरीय प्रयोग, परीक्षण नेपालमा भएका छन् । जसमध्ये गंगालाल हृदय केन्द्र, सफलताको इतिहास बनाउँदैछ । यसको स्थापनाका २४ वर्षहरुमा मेडिकल सेक्टरमा सफलताको इतिहास उल्लेख गर्दा गंगालाल हृदय केन्द्रलाई स्मरण गर्नुपर्दछ ।

यसले गरेको प्रगति, यसले पुर्‍याएको सेवा दुईवटै पक्ष छन् । यसले पु¥याएको सेवा असाधारण छ । मलाई लाग्छ यहीँ पनि हुनु हुन्छ होला सायद यसले पु¥याएको सेवाबाट लाभ लिएर जीवित भइरहेका साथीहरु । नभए देशभरी हुनुहुन्छ । यसले आफुलाई एउटा मोवाइल हस्पिटलको रुपमा पनि विभिन्न ठाउँहरुमा गएर सर्भिसहरु उपलब्ध गराएको छ । यसै हस्पिटलमा बहुत धेरै सेवाहरु उपलब्ध भइरहेका छन । यसबाट उत्पादित अनुभवी डक्टरहरु, यसबाट प्रशिक्षित स्वास्थ्यकर्मीहरु, नर्सहरुले विभिन्न ठाउँमा गएर पनि महत्वपूर्ण सेवा पुर्‍याउनु भएको छ । त्यसकारण म यस सफलताको उच्च प्रसंशा गर्न चाहन्छु । यस्ता सफलताका कथाहरु अरु पनि हाम्रा स्वास्थ्य संस्थाहरुले हासिल गर्न सकनु र यो भूमि र हाम्रा पूर्खाहरुको स्वास्थ्य विज्ञान क्षेत्रको गौरव, गौरवपूर्ण इतिहास । फेरि पुनःप्राप्ति र उचाइमा पुर्‍याउन सकौं । 

हाम्रा दार्शनिक पुर्खाहरुले जुन दर्शनको प्रतिपादन गरे, त्यसले विकासको ढोका खोल्यो । जस्तो सांख्य दर्शन । सांख्य दर्शनको अनुयायीको रुपमा कपिल मुनीले योग र सांख्यको विकास गरे । दर्शनको पनि विकास गरे, योगको पनि विकास गरे । हाम्रा अर्घाखाँचीका गुरु पतञ्जली सायद ११ सय वर्ष अगाडि योगको विकास गरे–स्वाथ्यका निम्ति योग । खाली शारीरिक मात्रै होइन अक्सिजनसँग सम्बन्धित, प्राणसँग सम्बन्धित, फोक्सोसँग सम्बन्धित, फोक्सोले शरीरका विभिन्न भागमा पुर्‍याउने अक्सिजनसँग सम्बन्धित र मस्तिष्कमा अक्सिजनको महत्वका सम्बन्धमा । यो बढी स्पस्ट ढंगले हाम्रा अर्घाखाँचीका गुरुजी पतञ्जलीले विकास गरे । ध्यान–ध्यानबाट स्वास्थ्यमा लाभ, ध्यानबाट मस्तिष्क, मस्तिष्को एकाग्रता बुद्धले विकास गरे २६ सय वर्ष अगाडि । तसर्थः द्वापर युगमा कृष्णका मुखबाट गीताको रुपमा गुरुहरुले बताएका छन् योगको महत्वको बारेमा । योगको स्वास्थ्य र जीवनसँग सम्बन्धको बारेमा । दर्शनको बारेमा, सांख्यको बारेमा । अन्धविश्वास होइन, त्यसभन्दा माथि उठेर प्रयोगमा विश्वास गरे । जसबाट औषधि विज्ञानको बाटो विकास गर्न सक्यो । अन्धविश्वासमा परेर अब भगवानको इच्छा हो बाँचिने भए बाँचिन्छ भन्ने हो भने औषधि विज्ञानको विकास हँुदैन । अपरेशनको अर्थ हुदैन । इन्जेक्सन र अनेकको अर्थ रहँदैन । हामीले निदान अथवा डाइग्नोसिस गरिरहनु पर्ने अर्थ रहँदैन । यसको अर्थ प्रयोगात्मक विज्ञानसँग सम्बन्धित छ । त्यो विज्ञान प्रयोगात्मक दर्शनबाट निस्किन्छ ।

हाम्रा पुर्खाहरुले सबैभन्दा पहिले यस्तो दर्शनको विकास गरे । जुन दर्शनबाट प्रयोगको विकास भयो । बुद्ध आफै भन्छन् मेरो वाणीमा पनि विश्वास नगर । प्रयोग गरेर हेर, परीक्षण गरेर हेर । परीक्षणबाट मेरो वाणी सही भयो भने मात्रै अगाडि बढ् । त्यसकारण बुद्धको एउटा शाखामा पनि औषधि विज्ञान छ । बुद्धिज्मको एउटा ब्राञ्च, एउटा शाखा–औषधि । त्यस कारण बुद्धको एउटा तस्वीर हेर्नु भयो भने, एउटा शालिक हेर्नु भयो भने त्यहाँ केही पातहरु समातेको देखिन्छ । अथवा जडिबुटी, औषधि विज्ञान । यसरी हाम्रो गौरवपूर्ण परम्परा थियो इतिहासको । त्यो गौरवपूर्ण इतिहास समयक्रममा अनेक कारणले ओइलायो । तर आज हामी खुशी छौँ की हाम्रो पिंढीले, हाम्रो पुस्ताले त्यसको पुनःजीवन, फेरि पुनःप्राप्ति र पुर्नउत्थान गरेको छ । 

म धेरै ठाउँहरुमा भन्ने गर्छु, पुर्नउत्थान । त्यसको अर्थ हुन्छ जसको पहिले उत्थान थियो, बीचमा हराएको थियो, फेरि उठ्नु पर्छ । त्यस कारण पुर्नउत्थान हाम्रोमा जरुरी छ । जहाँ उत्थान हँुदैछ, त्यहाँ पुर्नउत्थान होइन–उत्थान । कतिपय देशहरुले उत्थान गरे । हामीसँग अब मैले डक्टरहरुको स्पीडमा ह्वाट्स द इम्र्पोटेन्ट अफ द जेनेटिक मेमोरी भनेर भनिरहन पर्दैन होला । कार्वन इलिमेन्टले खाली मान्छेको पूर्वजको शक्लसुरत, रंग, आनिबानी मात्रै उतार्ने होइन । मस्तिष्क पनि उतारेर ल्याएको हुन्छ । त्यस कारण हाम्रा सन्ततिले अवसर पाउने बित्तिकै हाम्रा ती महान धन्वन्तरिदेखि लिएर, औषधि विज्ञानका प्रणेतादेखि लिएर, प्रयोगकर्तादेखि लिएर ती सबैको ज्ञान प्रस्तुत गर्न सक्दछन् । कतिपयमा साहित्यका कल्पनाहरु मिसिएका होलान । कथानकता भरिएको होला । तर त्यो कल्पना असम्भव कल्पना मात्रै थिएन । 

पुष्पक विमान, पुष्पको विमान परापूर्वकालमा कल्पना गरिएको थियो । अनौठो लाग्छ–पुष्पक विमान लिएर रामलाई लिन लंका गइयो, एयरर्पोट बनाइएको थिएन । पुष्पक विमान हेलिकप्टर झैँ ल्याण्ड गर्दथ्यो र हेलिकप्टर झँै टेक अफ गर्दथ्यो । त्यो एयरर्पोटको चाहिँ कही वर्णन पाइँदैन । तर जान्थ्यो । कथा सही । तर हाम्रा पूर्खाहरुले कति टाढा देख्दा रहेछन् भने अहिले पानी जहाज माथि नै रनवे र टेक अफ, यति छोटो रनवेमा ल्याण्डिङ टेक अफ गरिएको देखिन्छ । त्यस्तो त बनेकै छ नि । तसर्थः हाम्रा पुर्खाहरुको दृष्टि असाधारण थियो । 

मैले अक्सर भन्ने गर्छु हामी अनाहक पछाडि पारिएका छौं । मैले धेरै ठाउँमा बोल्दा भन्ने गरेको छु, ग्य्राविटेसनको थ्योरी आचार्य भास्कर अथवा भास्कारचार्यले पत्ता लगाउनु भएको थियो र ११५० मा प्रकाशित उहाँको सिद्धान्त शिरोमणी भन्ने पुस्तकमा बहुत राम्ररी व्याख्या गरिएको छ, ह्वाट इज ग्राभिटेशन ? पृथ्वी गोलो छ । किन सम्मजस्तो देखिन्छ ? यसको गोलाई कति छ ? यसको व्यासको पनि उनले मेजरमेन्ट दिएका छन् गणितबाट । त्यो मेजरमेन्ट साइन्सले २० मिटर फरकपर्‍यो भनेको छ । धुले पाटीमा धुलो हाल्दै मेट्दै, सिमलीको डाक्लाले लेख्दै, फेरि मेट्दै गरेर नापेको आज गूगोलबाट नापेको भन्दा २० मिटर फरकपर्‍यो भनिराखेका छन् मानिसहरु । त्यो २० मिटर साइन्सले सच्याउनु पर्छ भन्ने मलाई लाग्छ । भास्करचार्य वाज करेक्ट । 

नवग्रह छन् भनेर गणितले हजारौं वर्ष अगाडि भन्यो । साइन्सले मानेन । हाम्रा क्यामेराहरुले नव ग्रह समातेनन्, यो होइन भन्यो । क्यामेराहरु डेभलप हुँदै गए । ७ ग्रहबाट ८ ग्रह समातियो भन्यो । आठ चाहिँ एकदम पक्कै हो । त्यो भन्दा बढी होइन, किनभने हाम्रा क्यामेराले समातेन । साइन्स आफैँमा सत्य हो । क्यामेराले समातेपछि मात्रै मान्छ । उसका क्यामेराले समातेको आठ ग्रह ठिक थियो । आठ वटै समातेका हुन, तर क्यामेरा कमजोर थियो । गणित कमजोर थिएन । गणितले नव ग्रह छन् भनेर हजारौं वर्ष अगाडि भन्यो । कन्फ्युजन त्यसमा पनि थियो, ग्रहहरु कुन–कुन हुन र उपग्रह कुन हुन ? नक्षत्र कुन हुन् ? त्यसमा केही डिस्ट्यान्सको हिसाबले नजिक भएकालाई ग्रह भनियो, टाढा भएकालाई नक्षत्र त भन्यो तर ग्रहहरुका नामहरुमा वा जस्तो चन्द्रमा उपग्रह थियो तर ग्रह हो भन्ने भ्रमपर्‍यो । तर, चन्द्रमाको बारेमा त्यसको गति, त्यसको अवस्थिति, त्यसको डिस्ट्यान्स हाम्रा पुर्खाहरुले पत्ता लगाएका थिए र ज्वारभाटा कहिले जान्छ ? के हुन्छ ? सबै भनेको थिए ।

मैले धेरै ठाउँमा भनेको छु, त्यसै कारण एसियाका मान्छेहरुले प्रशान्त महासागर डुँगामा तरेरे ज्वारभाटा आदि इत्यादीको अवस्थितिको बारेमा जानकारी दिने आँट गरे । ज्योतिषको, गणितको यी सबै विधाको हाम्रा पुर्खाहरुले अनेक पक्षमा विकास गरेका थिए । हाम्रो स्वास्थ्य विज्ञानको क्षेत्रमा यस भूभागमा मात्रै विकास थियो हजारौं वर्ष अगाडि । तीन हजार, चार हजार वर्ष अगाडि स्वास्थ्य विज्ञान यहाँ मात्र थियो । र आदिगुरु धन्वन्तरिले स्वास्थ्य विज्ञानको सुरुवात गरेका प्रसंग पाइन्छ । त्यसपछि अरु ऋषिहरुले अनेक प्रयोग गरे । र त्यसका रस, स्वाद, गुण यी अनेक । स्वाद एउटा छ तर त्यसको गुण अर्कै हुन्छ र त्यसको पाक अर्को हुन्छ । सिंहदरवार वैद्यखाना अथवा नरदेवी आयुर्वेद अस्पताल, त्यतापट्टिका प्रोफेसर साबहरु, गुरुहरु हुनुहुन्छ भने उहाँहरुलाई थाहा हुन्छ रस, स्वाद, गुण, पाक । यो सर्जिकल भित्र पर्दैन । तर उहाँहरुलाई थाहा हुन्छ । 

हाम्रो युग, भूभाग, हाम्रा पूर्खा असाधारण खोज, अध्ययन, अनुसन्धानका प्रतिमूर्ती थिए । उनीहरुले असाधारण उपलब्धि हासिल गरेका थिए । त्यसबाट आज हामी बीचमा अलिकति लुप्त भयौं । त्यस्तो कसरी भयो भने ज्ञानलाई गुप्त राख्नु पर्छ भन्ने गलत मान्यता छ यो समाजमा । गायत्री मन्त्र पनि सुन्न पाइदैन, सुनाउनु हुदैन भन्ने । मलाई पनि ८ वर्षमा ब्रतबन्ध गरेको कानमा खासखुस के भनियो थाहा भएन, बुझिन, सुनिन भन्न पनि अफ्ठयारो । भोलिपल्ट मैले मेरो बुवालाई भने, यो के सुनाए पण्डितले त्यो एक शब्द पनि बुझिएन र खासखुस खासखुस गरिएको मात्र सुनियो । अनि बुवाले मलाई लेखिदिनु भयो, लेखिदिए पछि मैले पढें । तर मलाई के बताइयो भने कसैलाई भन्नु हुदैन । कसैलाई सुनाउनु हुदैन । मैले पढदा पनि साह्रो पढिन, बिस्तारै पढें किनभने अरुले सुन्लान भन्ने डर भयो । मलाई जनै भिराइएको थियो । मैले जनै घुसार्दै मन्त्र पढें, ऊँ भूर्भुवः स्वः ।। तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि । धियो यो नः प्रचोदयात ।।

यतिभन्दा ओठ मात्र चलायो भन्थे । मैले कण्ठ त बेस्सरी गरिसकेको थिएँ । तर अरुलाई सुनाउनु हुँदैनथ्यो । म अलि ठिटो–ठिटो थिएँ, अलि किताबहरु पढन लागेको किताव मेरो ठाँउमा नपाइने । म तराई झरेको थिएँ, अनि खल्तिमा थोरै पैसा थियो, म बनारस गएँ । बनारस जाँदाखेरि त्यहाँ माइक लगाएर बजाइँदैछ, ऊँ भूर्भुवः स्वः ।। तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि । धियो यो नः प्रचोदयात ।।

माइकबाट भनिरहेका छन्, म छक्क परें यहाँका बाहुन बौलाएकी के हो ? भन्नै नहुने मन्त्र माइकबाट भनेका छ । के मेरा ठाँउका गुरु पछाडि परेका या ब्याकवाड एलिमेन्ट हुन् । कि मेरा ठाँउका गुरु बेठिक कि यहाँका गुरु बेठिक के हो ? बनारस त फेरि शास्त्रहरुको एउटा ठेक्का लिएको ठेकेदारकै अखडा रहेछ । भनेपछि भन्नु नहुने कुरा त रहेनछ् । औषधि विज्ञानमा पनि त्यस्तै भयो जानेको औषधि अर्कालाई बताउनु हुदैन, बताउनु हुँदैनको अर्थ अर्को के रहेछ भने विद्वतामा श्रेष्ठ आफूलाई देखाउनुपर्‍यो । 

त्यति मन्त्र भन्दिँदा के हुन्थ्यो ? कसले जानेर के बिग्रिन्थ्यो ? त्यसलाई नेपालीमा अनुवाद गर्दिएको भए के हुन्थ्यो ? हे सूर्य भगवान तिमीले संसारको सिर्जना गरेका छौ । उज्यालो भरेका छौ । जीवन दिएका छौ । मलाई पनि जीवन देऊ र उज्यालो तिर लैजाऊ । त्यो मन्त्रमा त त्यही भनेको रहेछ । त्यस्तो राम्रो कुरो भनेको रहेछ । यति वैज्ञानिक कुरो भनेको रहेछ किन लुकाउनु पर्दथ्यो । 

यो औषधि, यो जडीबुटी यसमा काम लाग्छ, यसमा निको पार्छ भन्ने कुरा मानव जातिको कल्याण हुन्थ्यो । त्यो आम्दानीको मेलो एउटा अर्को सुपेरेयोरिटी देखाउने कुराहरु रहेछन । यसो गर्दा हामी पछाडि प¥यौं । अब हामीले पुनःउत्थानका काम शुरु गरेका छौँ । शरीर विज्ञानमा टाउको पनि फलक्कै निकालको छ । एकछिन गिदी बाहिर राखेर उपचार गरेको छ, ठिक भएपछि फेरि राखेर ठिकठाक गरेको छ । मुटको त्यसैगरी उपचार गरेको छ । मेरो पनि किड््नी फेल भयो । किड्नी फेरेर उपचार गराएकोछु, काम गरेको छ । यो ठाँउमा हामी पुगेका छौ । अब हामीले यतिमा सन्तोष गर्ने होइन, अगाडि वढनुपर्छ, अगाडि बढ्छौ । हाम्रा शास्त्रहरुमा भनिएझैं काटेर भुईमा खसेका हात टिपेर अस्पताल लगेर जोडेका छौ । त्यो त नेपालमै भएको छ नि, नारायण गोपाल चोकमा काटेर भुँइमा खसेको हात अर्को हातले समातेर कुदेर हस्पिटल गएर जोडेर यहीँ टिचिङ हस्पिटलमा बनाएको छ ।

सन् १९९७ मा चीनको एउटा अस्पतालले टुक्रिएको खुट्टोलाई जोड्यो भन्ने अखवारमा आयो । अचम्म लाग्यो एउटा महिलाको खुट्टो थिएन, अर्को महिलाको खुट्टो दुर्घटनामा छिनेछ र उनको मृत्यु पनि भयो । तर, खुट्टो थिएन उनको दाइने, खुट्टो प्राप्त भयो देब्रे । दाईने खुट्टाका ठाँउमा देब्रे राखेर दुईवटै देब्रे देब्रे खुट्टा भएको अपरेसन पनि राम्रै चलेको पनि देखियो । यी सबै मैले आफ्नै जीवनमा रुचिसाथ हेर्दा हेर्दै स्वास्थ्य उपचार गराइरहेको छु । अनि म स्वास्थ्य त्यति राम्रो नभएर नआउने भएर सुतिराखेको थिएँ । आउनु न त भनी अलि जोड गरेपछि उठेर आएको थिएँ, अलि बोल्दै जाँदा लामो भएपछि यो नक्कली बिरामी हो कि क्या हो भन्ने पर्‍यो होला, नक्कली विरामी होइन, अस्थायी बिरामी चाहिँ हो ।

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया