साथीलाई विश्वास गर्दा ठगिएँ

 साउन २०, २०७६ सोमबार १६:२५:२९ | उज्यालो सहकर्मी

मेरो नाम दिपक आचार्य (परिवर्तित नाम), नवलपरासी । 

म नेपाल प्रहरीमा १६ वर्ष सेवा गरेर हवल्दारबाट अवकाशप्राप्त प्रहरी हुँ । हुन त प्रहरी पनि कसरी ठगिए भन्दा अचम्म लाग्छ होला । आफूलाई खासै जानकारी नभएको काम गर्न लाग्दा धोका भयो । विश्वासघात भयो भन्नुपर्‍याे । 

नेपालको निम्नस्तरको कर्मचारीलाई त्यस्तो राम्रो सेवासुविधा र तलब केही पनि हुँदैन । घरमा परिवारलाई पनि खुशी राख्न सकिंदैन । त्यही भएर वैदेशिक रोजगारीमा जान लागेको थिएँ । तर शुरुमै दलालको फन्दामा परियो ।

भूतपूर्व प्रहरी हवल्दारले के खान विदेश जानुपरेको भन्नेहरु पनि धेरै छन् । तर मैले भनिहालें नि, निम्नस्तरको कर्मचारीको अवस्था कस्तो हुन्छ भनेर । रिटायर्डको जिन्दगी, केही नगरेर घरमा बस्नै मन लागेन । गाउँघरमै केही गरौँ भन्नको लागि आफूसँग पूँजी छैन । 

धेरै ठाउँमा कामको खोजी पनि गरियो । तर चित्त बुझ्दो कतै पनि भेटाइएन । पेन्सनको पैसामा नै सबै कुरा चलाउनको लागि त्यो सम्भव नै थिएन । आफ्नो जिन्दगी त सरकारले दिने पेन्सनबाट पनि चल्थ्यो । तर छोराछोरीको भविष्यको लागि भनेर मैले विदेश जाने सोच बनाएको थिएँ ।

सँगै जागिर खाएर रिटायर्ड भएका साथीहरुसँग भेट भयो । सबैको समस्या उस्तै । अनि हामीहरुले विदेश जाने निर्णय गर्यौँ । जाने भन्ने भइसकेपछि हामीले विदेश गएको एकजना साथीसँग सल्लाह गर्‍याैँ । उसलाई जसले पठाएको थियो त्यही एजेण्टबाट जाने भन्ने पक्का भयो ।

त्यो एजेण्ट दाङको रम्तुल्ला मियाँ हो । उ सिनामंगलको जीएस टेक्निकल सेन्टरमा काम गर्थ्याे । त्यो सेन्टरले वैदशिक रोजगारीमा जाने युवाहरुलाई सीप सिकाउने काम गर्थ्याे । मियाँले त्यो सेन्टरमा आफ्नो लगानी छ भनेको थियो ।

एजेण्ट भनेपछि हामीलाई अझै पनि विश्वास लगेको थिएन । त्यही भएर अफिसमै गएर पनि भेट्यौँ । ट्रेनिङ सेन्टरले त विदेश पठाउन पाउँदैन नि भनेर सोध्दा उसले ‘सेक्युरिटीको भिसा लगाउनको लागि हामीहरुसँग स्रोत छ, त्यही भएर हामी म्यानपावरसँग काम गरेर विदेश पठाउँछौँ’ भन्यो ।

उमार्फत विदेश गएको साथीले नै हामीलाई उसलाई भेटाएको थियो । विदेश पठाउँदै आएको छ के ठग्ला भन्ने भयो । तर साथीलाई विश्वास गर्दा विश्वासघात हुन गयो । 

हामी म्यानपावरबाट गएको भए सायद यस्तो हुँदैन थियो होला । एजेण्टबाट जान थाल्यौँ । उसले पनि ‘तपाईंहरु त प्रहरी, सेक्युरिटी गार्डको काम दिलाइदिन्छु’ भन्यो । हामीलाई पनि विश्वास लाग्यो ।

उसले ग्रुप ४ सेक्युरिटीमा पठाउँछु, केही तलमाथि भयो भने सबै आफैं व्यहोर्छु भनेको थियो । हामीले पासपोर्ट र डकुमेन्ट सबै बुझायौँ । उसले भिसा आयो भनेर त्यसको फोटो खिचेर ईमोमा पनि पठायो ।

त्यसपछि त झनै विश्वास लाग्यो । अब के गर्नुपर्छ भनेर हामीहरुले सोधेपछि उसले काठमाण्डौ आउनुस, दुई दिन ओरेन्टेसन कक्षा लियो भने श्रम गर्न सजिलो हुन्छ, श्रम गरिसकेपछि तपाईंले भिसा हेर्न सक्नुहुन्छ भन्यो ।

अनि साउन २ र ३ गते कक्षा भयो । तीन गतेकै साँझ मैले व्यक्तिगत रुपमा ६० हजार रुपैयाँ उसलाई दिएँ । उसले यो श्रम र टिकटको पैसा हो अब चाँडै श्रम हुन्छ, श्रम आएपछि तपाईंलाई खबर गर्छुं भनेको थियो । हामीहरु सबै ढुक्क भयौँ ।

अब विदेश जाने भइसकेपछि घरमा सबै व्यवस्था गर्नुपर्छ भनेर म त्यही साँझ घर फर्किएँ । ४ गते बिहान साथीको फोन आयो । उसले भनेको कुरा मैले पत्याउनै सकिनँ । 

साथीले हामीलाई विदेश पठाउने एजेण्ट (दाङको रम्तुल्ला मियाँ) त फरार भयो भन्यो । म त छाँगाबाट खसेजस्तै भएँ । त्यसपछि मैले फोन गरेँ । फोनको स्विच अफ थियो । इमोमा पठाएको भिसाको फोटोे पनि डिलिट गरिसकेको थियो ।

उ त मेरो पैसा लिएर बेपत्ता भयो । म भने उसको पत्ता लगाउन भौतारिएरहेको छु । तपाईँ चाहिँ यसरी नफस्नुस् हैं ।
 

अन्तिम अपडेट: भदौ २, २०७६

तपाईको प्रतिक्रिया