२ वटा मुद्दामा रवि लामिछानेसँग ३१ करोड रुपैयाँ बिगो दाबी
पुस ७, २०८१ आइतबार
पृथ्वीनारायण शाहलाई समेत पाइला राख्न हम्मे परेको कीर्तिपुरमा नयाँनयाँ कीर्तिमान कायम हुन थाले । मध्य मंसिरमा पालिका उपचुनावमा मेयरका लागि कीर्तिपुरमा मात्रै प्रतिस्पर्धा भयो । उपचुनावको कोणबाट कुरा गर्दा यो एउटा कीर्ति । देशमै पहिलोपटक भएको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको खेल कीर्तिपुरमै भयो । क्रिकेटको कोणबाट हेर्दा अर्को कीर्ति । देशकै जेठो र पुरानो विश्वविद्यालय पनि कीर्तिपुरमै छ । शिक्षाको कोणबाट हेर्दा देशमा धेरै बेरोजगार र गफाडी उत्पादन गर्ने कीर्ति पनि कीर्तिपुरकै छ । राजनीतिले कहिल्यै नछाड्ने ठाउँका रूपमा कीर्तिपुरको त्रिविले दशकौंदेखि कीर्तिमान बनाएको छ । अहिले यी सबै कीर्तिमानलाई पछि पार्दै कीर्तिपुरमा अरू कीर्तिको सिलसिला थपिएको छ– रुखमा मान्छे, डाँडामा ल्यापटप, अनि देउवा र प्रचण्डको हातमा कालापत्थरको ढुंगासहितको ट्रफी !
संसारमा कहीँ नभएको क्रिकेट मैदान कीर्तिपुरमै छ । अरू देशमा क्रिकेट हुँदा खेल हेर्नेहरू मैदानको वरपर दर्शकदीर्घामा बस्छन् । तर कीर्तिपुरको मैदानमा चाहिँ दर्शकहरू खेल हेर्न रुख चढ्छन् । मैदानभित्रै दर्शकदीर्घामा बसेर खेल हेर्छु भन्दा टिकट पाइँदैन । टिकट पाउँदा पनि खेल हुने दिन मैदानभित्र छिर्नै सकिँदैन । रुखका हाँगाबाट हेर्दाजस्तो पूरा दृश्य भित्रका कुर्सी र चौरबाट देखिँदैन । पूरै नदेखेपछि रुखबाट हेरेजस्तो मज्जा पनि आउँदैन । रुखको टुप्पोमा बसेर खेल हेर्दा ड्रोनबाट फोटो खिचेजस्तै गज्जबको दृश्य देखिन्छ । सिनेमा हलको बाल्कोनीभन्दा पनि उत्कृष्ट र विशेष ठाउँ हो रुखको चेप, हाँगोबाट देखिने दृश्य । क्यामरा तेर्स्याउन र फोटो खिच्न त झन् रुख जति गतिलो ठाउँ नै भेटिँदैन । त्यसमाथि तलबाट फोटो खिच्नेले कीर्तिपरका रुख र क्रिकेटप्रेमी नेपाली दुवैको प्रचार देशविदेशमा सित्तै गरिदिन्छन् । कीर्तिपुरको क्रिकेट मैदान वरपरका रुख र रुखमा चढ्ने मान्छेको विश्वव्यापी चर्चा हुन्छ । गाउँमा गोठालो जाँदा कसैले रुख चढेको देखे घाँस झार्न चढेको गोठालो सम्झेर ओठ लेप्र्याउँछन् । क्रिकेट मैदानको रुखमा चढ्दा सबैको हाईहाई पाइन्छ । नेपाललाई क्रिकेटमा चिनाउन त्रिवि मैदानका अग्ला रुखहरूको भूमिका पनि महत्त्वपूर्ण छ । त्यसैले आयोजकले दर्शकदीर्घामा कुर्सी थप्नुको साटो त्रिवि मैदानको रुख रोप्नु पर्याे । यसबाट कीर्तिपुरमा अर्को कीर्तिमान खडा हुन्छ ।
अब कीर्तिपुरमा भाषण गर्न जाने कुनै नेताले भन्न बाँकी छ, ‘कीर्तिपुरको कीर्तिमानी रुखलाई संरक्षण गर्दै केही वर्षभित्रै क्रिकेट खेल पनि रुखमै गर्ने व्यवस्था मिलाइनेछ ।’ तर कुनै नेताले यस्तो भन्नुभन्दा पहिले रुखसँगै सम्बन्ध भएका एक चर्चित नेताले कीर्तिपुरको अर्को कीर्ति राख्ने गरी भाषण गरिसकेका छन् । उनको भाषणसँगै कीर्तिपुरको डाँडामा ल्यापटपको लर्को लागेको छ । ल्यापटप र मोबाइल चलाएर कमाउन मात्रै जानेकाहरूलाई कसले के भाषण गर्याे भनेर हेर्ने र सुन्ने फुर्सद छैन । तर काम छोडेर ल्यापटप र मोबाइलमा रमाउन मात्रै जानेकाहरूलाई कसले कहिले के भन्यो मात्रै होइन, के भन्न खोज्यो र अब के भन्छ भन्नेसमेत कण्ठस्थ छ । प्रविधिलाई पैसासँग गाँस्न जानेकाहरूले एआईलाई कमाउने सिर्जनशील काममा प्रयोग गरिरहँदा रमाउन मात्रै जानेकाहरूले एआईलाई फगत मनोरञ्जनमा अल्झाइरहेका छन् । कीर्तिपुरको कीर्तिमानी भाषणपछि यिनै मनोरञ्जनप्रेमीहरूको मनबाट गज्जबको सिर्जना फुरिरहेको छ– कीर्तिपुरको डाँडो र ल्यापटपको लर्को !
नेताको भाषणपछि फुरेको यो सिर्जना कमाउने काममा लगाएको भए त्यही ल्यापटप र मोबाइलबाट केही वर्षभित्र लाखौंको आम्दानी भैसक्थ्यो होला । तर आफ्नै ढंगले कमाउन थालियो भने सरकार र नेताको के काम ? कमाउने ठाउँ त उनीहरूले पो दिने हो । आफ्नै बुद्धि, सीप र सिर्जनाले कमाइ गर्ने हो भने देशमा सरकार केका लागि ? अनि ल्यापटप र मोबाइल चलाउनेजति सबैजना कमाउने काममा मात्रै व्यस्त हुने हो भने मस्त भएर रमाउने चाहिँ को ? रमाउने मान्छे नै भएनन् भने सामाजिक सञ्जालमा के हेरेर मनोरञ्जन लिने ? मोबाइल र ल्यापटप चलाएर कमाउन थाल्दा अर्कोलाई गाली गर्न, उडाउन, कुरो बंग्याउन, खिसिटिउरी र हुर्मत लिन फुर्सद हुँदैन । यस्तो नगर्दासम्म सामाजिक सञ्जाल चलाएको मज्जा पनि हुँदैन । सामाजिक सञ्जालमा यस्तै मज्जा गर्ने सिलसिलाको पछिल्लो रूप हो, कीर्तिपुरको डाँडामा ल्यापटप लर्को !
नेता त नेता भैहाले, जग हँसाउन र नचाउन हुने/नहुने सबैथोक भन्छन् । भर्खरैको भाषणमा के भनेँ भन्ने पनि बिर्सिएर निदाउँछन् । तर ल्यापटप र मोबाइलमा रमाउन जान्नेहरूले भाषणमा फूलबुट्टा भरेर आफू पनि सुत्दैनन्, अर्कोलाई पनि सुत्न दिँदैनन् । क्याम्पस र सरकारी कार्यालयको सामान्य अनलाइन फारमसमेत भर्न नसकेर साइबर धाउने यस्तै मान्छेहरूमध्ये कोही सामाजिक सञ्जालमा फूलबुट्टा भरेर कीर्तिपुरको कीर्ति थप्दैछन् । कोही फूलबुट्टाको चमकधमक देखेर मनोरञ्जन लिँदैछन् ।
यस्तै मनोरञ्जनमा अर्को खुराक थपिएको छ– प्रचण्ड र देउवाले उचालेको क्रिकेट ट्रफी । जनताले रुख चढेर खेल हेरेको देखेपछि प्रधानमन्त्री पनि क्रिकेटको फाइनल हेर्न जानुपर्थ्याे । तर दशरथ रंगशालामा झैँ विरोध र आलोचना सुन्नुपर्ला भनेर प्रधानमन्त्री अन्त हिँडे । विजेतालाई बाँड्नुपर्ने ट्रफी उचाल्ने अवसर मिल्यो प्रचण्ड र देउवालाई । जित्नेले उचाल्नुपर्ने ट्रफी हातमा परे पनि हारेर थाकेजस्तो अनुहार । न चमकधमक, न उत्साह । प्रक्रिया अनुसार ओलीपछि प्रधानमन्त्री हुने पालो पर्खेर बसेका देउवा, बाहिरबाहिर प्रधानमन्त्री हुन्न भने पनि भित्रभित्र चाहिँ देउवाको आशीर्वाद पाउन ज्यान फालेर पछि लागेका प्रचण्ड । ट्रफी उचालेर उभिएका दुईजनाको तस्वीर हेरेपछि हल्लाको कीर्तिमान पनि कीर्तिपुरले बनायो । मान्छेहरू भन्न थाले– एनपीएललगत्तै राजनीतिक खेल शुरू भयो । सिंहदरबारको राजनीतिक खेल कुन बेला अदलबदल हुन्छ भन्नेमा स्वयम् देउवा, प्रचण्ड र ओलीलाई त पत्तो हुँदैन । मान्छेहरू भने अनेक अड्कलबाजी लगाएर कीर्तिपुरबाट अर्को राजनीतिक कीर्ति कोरिने आशमा छन् । कीर्तिपुरका कीर्ति सम्झेर म चाहिँ मनोरञ्जन लिनेमा परेँ, तपाईं चाहिँ रुख चढ्नेमा पर्नुभयो कि ल्यापटपको लर्को र राजनीतिको फुर्को थप्नेमा ?
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।