इलेप खोला जलविद्युत आयोजनाको पीपीएमा हस्ताक्षर

 असार २६, २०७५ मंगलबार १२:१९:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – धादिङको रुवीभ्याली गाउँपालिकामा निर्माण हुने २३.६ मेगावाटको इलेप (तातोपानी) खोला जलविद्युत आयोजनाको विद्युत् खरिद—बिक्री सम्झौता (पीपीए) भएको छ ।

नेपाल विद्युत प्राधिकरणकातर्फबाट योजना, अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंहले र आयोजनाकातर्फबाट प्रवद्र्धक जलशक्ति हाइड्रो कम्पनी प्रालिका अध्यक्ष तिलक लामाले सोमबार पीपीएमा हस्ताक्षर गर्नुभएको हो  ।

प्राधिकरणले आयोजनाबाट उत्पादित ऊर्जा सुख्खायाम (१६ मंसिर–१५ जेठ) सम्म ८ रुपैयाँ ४० पैसा र वर्षायाम (१६ जेठ–१५ मंसिर) सम्म प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा खरिद गर्ने छ । आयोजनाले वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म साधारण मूल्यवृद्धि (स्कालेसन) पाउने छ । आयोजनाबाट वार्षिकरुपमा १४ करोड ४८ लाख युनिट ऊर्जा उत्पादन हुने कम्पनीले जनाएको छ ।

एक वर्षभित्रमा वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) गरी आयोजनाको निर्माण सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको कम्पनीका अध्यक्ष लामाले बताउनुभयो । उहाँले निर्माण तीन वर्षभित्रमा सक्ने लक्ष्य राखिएको जानकारी दिए । पीपीएअनुसार, आयोजनाले व्यापारिकरुपमा विद्युत उत्पादन गर्नु पर्ने मिति डिसेम्बर २०२४ छ । निर्माण अवधिको ब्याजसहित आयोजनाको कुल अनुमानित लागत चार अर्ब ४७ करोड २९ लाख रुपैयाँ छ ।

अहिले आयोजना स्थलसम्म पुग्ने पहुँच सडक बनाउनेलगायतका निर्माणपूर्वका काम भइरहेको कम्पनीका अध्यक्ष लामाले बताउनुभयो । उत्पादित विद्युत् ३२ किलोमिटर प्रसारण लाइन आयोजनाले नै निर्माण गरी नुवाकोटमा रहेको त्रिशुली ३ बी हव सबस्टेसनमा जोडिने कम्पनीले जनाएको छ ।  
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया