संसदको एसी नचलेपछि सांसदको प्रश्न : पानी पेट्रोलभन्दा महंगो भएको हो ?

 साउन २३, २०७६ बिहिबार १६:२१:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसदहरुले बैठक कक्षको एअर कण्डिसन बिग्रिएकोदेखि शून्य र विशेष समयमा उठेका विषयमा सरकार र सम्बन्धित मन्त्रीबाट सम्बोधन हुन नसकेको भन्दै सम्बन्धित निकायलाई निर्देशन दिन सभामुखको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधि सभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै सांसद सीतादेवी यादवले बाढी प्रभावितका लागि सरकारले उचित व्यवस्था गर्न नसकेको भन्दै अबिलम्ब राहतको व्यवस्था गर्न माग गर्नुभयो । शान्ति प्रक्रियाका १४ वर्ष पुगिसक्दा पनि पीडितहरुले न्याय र परिपुरण नपाएको भन्दै त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

सांसद सुजाता परियारले प्रतिनिधि सभा बैठक कक्षको एअर कण्डिसन बिग्रिएको तर्फ सभामुखको ध्यानाकर्षण गराउदै सम्बन्धित निकायलाई तत्काल निर्देशन गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो “सुनिन्छ एसीमा पानी छैन । पानी सकिएर एसी नचलेको । सचिवालयबाट लिएको भाडाले के पानी किन्न नसकेको हो कि ? पानी पेट्रोलभन्दा महंगो भएको हो ? तीन–तीन दिनसम्म पनि एसी बनाउन नसक्नु सरासर लापर्वाही हो । त्यसैले सभामुखमार्फत तत्काल सम्बन्धित निकायलाई निर्देशन होस् भनि अनुरोध गर्न चाहन्छु ।’

सांसद सुदन किराँतीले सबैतर्फ बेथितिहरु देखा परेको भन्दै ‘बेथितिले सीमा नाघ्यो । सहने शक्ति कहाँबाट आर्जन गरुँ ?’ भनी प्रश्न गर्नुभयो । स्थानीय तहमा कर्मचारी अभावले बजेट खर्च हुन नसकेको भन्दै तत्काल आवश्यक कर्मचारी पठाउने व्यवस्था गर्न सरकारसँग माग  गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज ११ बजेर ३० मिनेट जाँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेको थिएँ । कर्मचारीहरुले मन्त्रालय पस्ने बाटो अवरुद्ध गरेर पस्न दिइएन । किन भने उपमहानगरपालिका र नगरपालिकाले उहाँहरुलाई हाजिर गराउनुभएको रहेनछ । दूरदराजका वडाहरुमा कर्मचारीको अभावमा ६ वटा वडा एउटै सचिवले चलाउनुपरिरहेको र कर्मचारीको अभावमा जनताको नाममा गएको बजेट फ्रिज भएको छ । काठमाण्डौभन्दा १० गुणा ठूलो एउटा वडा पहाडमा छ । जहाँ यातायात छैन र टेलिफोन सम्पर्क पनि समयमा हुन सक्दैन । जनताले तिरेको करबाट तलब खाने नेपाल सरकारको कर्मचारीलाई देशको कुना कन्दरामा छिटो पठाउनुपर्यो । होइन भने जागिरबाट २४ घण्टा भित्र बर्खास्त गरेर हजारौ बेरोजगार युवाहरुलाई करारमा भर्ना गरेर देशलाई अगाडि बढाउनुपर्यो ।’

सांसद सुरेशचन्द्र दासले प्रतिनिधि सभाको बैठकको शून्य समय र विशेष समयमा उठाएका विषयको जवाफ सम्बन्धित मन्त्रीले दिनका लागि रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराउनुभयो ।

सांसद स्मृतिनारायण चौधरीले बाढी पहिरो र डुबानका कारण सबै भन्दा प्रदेश नम्बर २ प्रभावित भएको भन्दै प्रभावितलाई उपयुक्त किसिमको राहत उपलब्ध गराउन सरकारसंग माग गर्नुभयो ।

सांसद ज्ञानकुमारी छन्त्याल साउन १८ गते रातिदेखि मध्य पहाडी लोकमार्गको झण्डै २ सय मिटर सडक भत्किएका कारण सवारी साधन सञ्चालनमा समस्या देखिएको भन्दै त्यस तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । 

उहाँले भन्नुभयो, ‘सरकारले केही बनाउने सुरसार गरेको छैन । त्यहाका जनताले, सयौ जनाले राति सुत्न पनि पाएका छैनन् । बस्न पनि पाएका छैनन् । खान पनि पाएका छैनन् । त्यो सडकखण्ड छिटो भन्दा छिटो बनाओस् भनी म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु ।’ 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया