विदेश भ्रमण मोह : एक वर्षमा १६४ पदाधिकारीको १०२ पटक भ्रमण

 साउन २९, २०७६ बुधबार ९:४८:१ | रासस
unn.prixa.net

काठमाण्डाै – स्थानीय तहका पदाधिकारीको विदेश भ्रमण मोह बढ्दो देखिएको छ । चालू आर्थिक वर्ष २०७५/०७६ मा १६४ जना पदाधिकारीले विभिन्न देशको १०२ पटक वैदेशिक भ्रमण गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बरालले जानकारी दिनुभयो । 

वैदेशिक भ्रमणमा स्थानीय तहका पदाधिकारी जान थालेपछि मन्त्रालयले कडाइ गरेको छ । मन्त्रालयको स्वीकृत बेगर वैदेशिक भ्रमणमा जान नपाइने व्यवस्था छ । सबैभन्दा बढी वैदेशिक भ्रमणमा जानेमा काठमाण्डाै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्का, ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन, भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल छन् । 

काठमाण्डाै महानगरका प्रमुख शाक्य र उपप्रमुख खड्की संयुक्त राज्य अमेरिका र चीन भ्रमण, ललितपुरका प्रमुख महर्जन मङ्गोलिया र भियतनाम तथा भरतपुर महानगरका प्रमुख दाहाल चीन र अष्ट्रेलियाको भ्रमणमा जानुभएको छ । काठमाण्डाैका प्रमुख शाक्य अमेरिका गएको भदौमा जाँदा हवाई खर्च महानगर र बाँकी खर्च आयोजक तथा गत कात्तिकमा चीन जाँदा भने आयोजकको खर्चमा जानुभएको छ । 

उहाँ अमेरिका जाँदा तत्कालीन प्रमुख प्रशासकिय अधिकृत यादवप्रसाद कोइरालासहित सात जनाको टोली लिएर गत भदौमा जानुभएको थियो । काठमाण्डाैका प्रमुख शाक्य भगिनीसम्बन्ध रहको अमेरिकाको फ्रेडरिकवर्ग शहरको अवलोकन गर्न र चीनमा भने चाइना इन्टरनेशनल फ्रेन्डसिप सिटिज् कन्फरेन्समा भाग लिन जानुभएको हो ।

यसैगरी विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले पनि दुई देशको भ्रमण गर्नुभएको छ । उहाँले अमेरिका र भारतको नयाँ दिल्लीमा मन्त्रालयको स्वीकृत लिएर भ्रमण गर्नुभएको हो । यसैगरी दाङस्थित घोराही उपमहानगरपालिकाका प्रमुख निरुलाल चौधरीले दुई पटक चीनको भ्रमण गरिसक्नुभएको छ । चौधरीले गत असोज २९ र गत असार १६ गतेदेखि चीनको दुई पटक भ्रमण गरिसक्नुभएको छ । 

सबैभन्दा ठूलो जम्बो टोली लिएर जानेमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसी जापानको भ्रमणमा नौ र दाङस्थित घोराही उपमहानगरपालिकाका प्रमुख चौधरीको चीन भ्रमण टोलीमा आठ स्थानीय तहका प्रमुख/उपप्रमुख सहभागी हुनुहुन्थ्यो । वैदेशिक भ्रमण गर्नेमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख धवलशम्शेर राणा, धनगढी उपमहानगरका प्रमुख नृपबहादुर वड, धरान उपमहानगरका कार्यवहाक प्रमुख मञ्जु भण्डारीसमेत जानुभएको थियो । 

यसैगरी विदेश भ्रमण जाने पदाधिकारी ती देशका शहरसँग भगिनी सम्बन्ध कायम गर्न, विभिन्न भेला तथा सम्मेलन र अवलोकन भ्रमणमा जाने गरेका पाइएको छ । सबैभन्दा बढी गत भदौमा ४० जना, फागुनमा ३५ जना, साउन र माघमा २१/२१ जना, मङ्सिरमा १८ जना, कात्तिकमा १६ जना पदाधिकारी भ्रमणमा गएको मन्त्रालयका प्रवक्ता बरालले जानकारी दिनुभयो । 

पोखराका प्रमुख जीसीले गत वर्षको साउन १४ देखि १८ गतेसम्म गर्नुभएको वैदेशिक भ्रमणमा महानगरका पदाधिकारीसहित कर्मचारीसमेत जानुभएको थियो भने लमहीका प्रमुख चौधरीको तीन दिनको चीन भ्रमण टोलीमा अन्य स्थानीय तहका प्रमुख रहनुभएको थियो । भ्रमणमा जानेमा धेरै पदाधिकारी आयोजकको खर्चमा जाने गरेका पाइएको छ । भ्रमणमा जाने देशमा धेरैजसो पदाधिकारी अमेरिका, चीन, जापान, दक्षिण कोरिया छन् । 

पदाधिकारीहरूले चीनमा १८ पटक, अमेरिकामा १५ पटक जापान र दक्षिण कोरियामा सात पटक भ्रमण गरेका छन् । मन्त्रालयले स्थानीय तहका पदाधिकारीको वैदेशिक भ्रमणलाई व्यवस्थित र मितव्ययी बनाउन ‘विदेश भ्रमणसम्बन्धी निर्देशिका–२०७५’ र स्थानीय तहका कर्मचारीको विदेश भ्रमणसम्बन्धी निर्देशिका–२०७५ जारी गरेको छ ।

प्रवक्ता बरालले निर्देशिकानुसार आयोजकले खर्च नबेहोर्ने तर स्थानीय तहका लागि अत्यावश्यक प्राविधिक, वस्तुगत सहायता उपलब्ध गराउने खालका कार्यक्रममा बढीमा दुई जनासम्मको टोली बनाएर भ्रमणका लागि मात्र सहमति दिने गरिएको छ । 

“जथाभावी भ्रमणलाई हामीले रोक लगाएका छाैँ, उहाँले भन्नुभयो, “निर्देशिका अनुसार भ्रमण जानुको आवश्यकता छ कि छैन, भ्रमणमा गएपछि स्थानीय तह र सरकारलाई के फाइदा हुन्छ त्यो हेरेर मात्र भ्रमण स्वीकृत गर्ने गरेका छौँ ।” स्थानीय तहलाई आर्थिक र सामाजिक रूपान्तरणमा प्रत्यक्ष सहयोग पुग्ने वैदेशिक सहयोग परिचालनमा मद्दत पु¥याउने भ्रमण कार्यक्रमलाई मात्र स्वीकृती दिने उहाँले जानकारी गराउनुभयो ।

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया