‘श्रीमतीको कमाइले जितेपछि बहराइनबाट फर्किएँ’

 भदौ ११, २०७६ बुधबार १६:२४:५२ | बेदानन्द जाेशी

काठमाण्डौ – धेरै कमाउने सपना बोकेर बहराइन पुगेका गोरखाका विवेक थापा अहिले स्वदेशकै काममा रमाउनुभएको छ ।

‘रमाउनको लागि धेरै कमाइ र भौतिक सुख, सुविधाभन्दा  परिवारको साथ र देशको माटो भए पुग्दो रहेछ’, कीर्तिपुर सुन्दरीघाटको आफ्नै चियापसलमा काम गरिरहेका विवेकले भन्नुभयो ‘विदेशमा पसिना बगाएपछि बल्ल देशभित्रको काम चिन्न थालेको छु ।’

बहराइनमा दुई वर्ष बसेर नेपाल फर्केको पनि एक वर्ष भयो । त्यसो त पहिले पनि विवेकलाई विदेश जान्नँ भन्ने लागेको थियो । तर  घरको आर्थिक अवस्थाले उहाँलाई विदेशको बाटो लाग्ने बाध्यता आइलाग्यो । छोराहरु हुर्किंदै थिए । जिम्मेवारी बढ्दै थियो । यताको कमाइ घर खर्चमा मात्र ठिक्क हुने ।

‘बचत नभए परिवारको भविष्यबारे कसरी सोच्ने ?’, उहाँलाई यो पीरले सताउन थाल्यो । पासपोर्ट बनाउनुभयो, साथीले भिजिट भिसा पठाइदियो । अनि ३७ वर्षको उमेरमा बहराइन पुग्नुभयो । दुई वर्ष उता बसेपछि फेरि स्वदेश फर्किनुभयो । 

‘श्रीमतीले नेपालमै गरेको कमाइ जति मैले बहराइन गएर पनि कमाउन सकिनँ’, उहाँले हाँस्दै भन्नुभयो, ‘जसोतसो उता दुई वर्ष बसियो, जाँदा लागेको खर्च पनि यहीँ आएर तिरेँ ।’

काठमाण्डौमा काम र घरजम

बुवाको काठमाण्डौको खानेपानीमा जागिर थियो । त्यही भएर विवेक पनि काठमाण्डौमै हुर्किनुभयो, यहीँ पढ्नुभयो ।

बहराइन जानुभन्दा अघि विवेक ललितपुरको कुपण्डोलमा रहेको कृत्रिम हातखुट्टा बनाउने कम्पनीमा काम गर्नुहुन्थ्यो । वि.सं.२०५४ सालमा एसएलसी दिएर काम गर्न सुरु गर्नुभएको थियो ।

‘खाली बस्यो भने भाइ बिग्रिन्छ भनेर दिदीले त्यो काममा लगाइदिनुभयो’, उहाँले विगत सम्झनुभयो, ‘काम गर्दै जाँदा पढाइमा ध्यानै गएन, पछि त पढाइ भन्दा पैसा प्यारो लाग्न थाल्यो ।’

एक हजार तलब थियो सुरुमा । त्यतिबेला विवेकलाई त्यो पैसा निकै धेरै लाग्थ्यो । काम गर्दागर्दै पढ्ने रहर मरिसकेको थियो । कम्पनीमा काम गर्दै जाँदा त्यहीँ काम गर्ने उर्मिलासँग विवेकको आँखा जुध्यो । विवेकले त्यहाँ कृत्रिम हातखुट्टा बनाउने काम गर्नुहुन्थ्यो भने उर्मिलाले त्यहाँ गार्मेन्टको काम गर्नुहुन्थ्यो । दुवैको आपसमा मन मिल्यो । त्यसपछि बिहे भयो ।

‘लभ परेको ८ महिनामै बिहे भइहाल्यो नि’, विवेकले ती दिन सम्झिंदै हाँस्नुभयो, ‘त्यतिबेला त मेरो तलब पनि १५ सय पुगिसेकेको थियो, दक्षिणकाली गएर विहे गरेको हामीले ।’

२०५८ सालमा उहाँहरुको विवाह भएको हो । बिहेपछि केही वर्ष दुवैले सँगै काम गरे । पछि उर्मिलाले आफू बसिरहेको ठाउँ नजिकै कीर्तिपुरमा सानो सटर भाडामा लिएर पसल चलाउन थाल्नुभयो । 

उर्मिलाले पसल राम्रैसँग चलाइरहनुभएको थियो । विवेक पनि कुपण्डोलमै कृत्रिम हातखुट्टा बनाउने काम गर्नुहुन्थ्यो । एसएलसी दिनेबित्तिकै सिकेको कामले विवेकलाई पच्छ्याईरह्यो । २०५४ सालदेखि ०७३ सालसम्म १९ वर्ष त्यही काम गर्नुभयो । 

झण्डै दुई दशक काम गरे पनि कमाइ सोचेजस्तो भएन । त्यसपछि उहाँलाई विदेश जाने रहर जाग्यो । साथीभाइले विदेशमा राम्रो गरेको देखेपछि विवेकलाई पनि एकपटक विदेश गएर हेरौँ न भन्ने लाग्यो । अनि साथीले सम्झाएअनुसार नै उहाँ बहराइन जानुभयो ।

बहराइनमा दुःख 

बहराइनको मुद्रा (दिनार)को भाउ नेपालमा धेरै हुन्छ भनेर विवेक बहराइन जानुभएको थियो । तर दिनारको भाउले मात्रै सन्तुष्टि दिएन । दिनारको मूल्य अनुसारकै तलब भएन उता ।

‘उताको एक दिनारको नेपालमा ३ सय रुपैयाँ हुने, कमाइ राम्रै हुन्छ भन्ने सोेचेर म त्यहीँ लागेँ’, उहाँले भन्नुभयो, ‘तलब थोरै हुँदोरहेछ, दिनारको भाउ मात्र बढी भएर के गर्नु ?’

त्यहाँ गएको दुई महिनापछि त बल्लतल्ल काम मिल्यो, त्यो पनि तलब थोरै । मोबाइलको कम्पनीमा काम थियो । १ सय ५० दिनार मासिक तलब । सबै खर्च गरेर १ सय १० दिनारजति बच्थ्यो । त्यसको नेपालमा २८ हजार हुन्थ्यो । 

‘म त्यहाँ जाँदा एक दिनारको नेपाली २८५ रुपैयाँ थियो । म त्यहाँ गएपछि घटेर २६० पुग्यो’ उहाँले हाँस्दै भन्नुभयो, ‘फेरि म नेपाल फर्किनेबित्तिकै ३ सय ५ पुगिसक्यो । मलाई उता बस्न नलेखेको रहेछ ।’

श्रीमतीको कमाइले जिस्क्यायो 

बहराइन गएर विवेकको सोचेको जस्तो कमाइ भएन । उर्मिलाले कीर्तिपुरको सुन्दरीघाटमा सानो चिया पसल चलाएर पनि राम्रो कमाइ गरिरहनुभएको थियो ।

फोनमा कुराकानी हुँदा कमाइको पनि कुरा हुन्थ्यो । छोराहरुसँग बसेर गाउँमै श्रीमतीले आफ्नो भन्दा बढी कमाएको देख्दा विवेकलाई निक्कै खुसी लाग्थ्यो । श्रीमतीको कमाइले जिस्क्याउँथ्यो पनि ।

‘बाबुहरुको हेरचाह गरेर पसल चलाउँदा पनि मेरोभन्दा राम्रो कमाइ गरेको देखेर मलाई पनि विदेशमा बसिरहन मन लागेन, उनले पनि नेपालमै फर्किन भन्थिन्’ सँगै  रहेकी उर्मिलातिर हेर्दै उहाँले भन्नुभयो, ‘नेपाल फर्केर उनको कामलाई सघाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो, दुई वर्ष बिताउनै मुश्किल भयो ।’

अरुका जस्तै विदेश जाने बेला विवेकका पनि केही आशा र सपना पक्कै थिए । तर बहराइनमा काम गरेर त्यहाँ जाँदा लागेको खर्चको आधा पनि कमाइ भएन । दुई वर्ष जसोतसो बिताएर विवेक नेपाल फर्किनुभयो । अहिले श्रीमतीसँगै रहेर आफ्नै व्यवसायमा रमाउनुभएको छ विवेक ।

सुन्दरीघाटमा चिया पसल छ । बिहान साँझ विवेकले नै हेर्नुहुन्छ पसल । दिउँसो तीनघण्टा, १२ देखि ३ बजेसम्म आफ्नो पुरानै कामलाई समय दिनुभएको छ । कम्पनीले कामको लागि बोलाएपछि विवेकले नाइँ भन्न सक्नुभएन र कुपण्डोलको पहिलेकै ठाउँमा पार्टटाइम काम काम गर्न थाल्नुभयो । त्यतिबेला उर्मिलाले पसल हेर्नुहुन्छ ।

श्रीमान श्रीमतीको कमाइले अहिले ललितपुरको लुभुमा नयाँ घर बनाउनुभएको छ । विदेश गएर  लाखौं कमाउनुभन्दा आफ्नै देशमा परिवारसँगै बसेर दुई, चार हजार कमाउनुमै आनन्द मिल्ने उहाँले बुझ्नुभएको छ । त्यसैले अहिले उहाँले विदेशको बाटो बिर्सिसक्नुभएको छ ।आफ्नै ठाउँमा पैसा टिप्ने उपाय सिक्नुभएको छ ।

‘विदेशबाट फर्केर पनि पुरानै काम छुटेन, विदेश जानुभन्दा पहिले जस्तो दैनिकी थियो, अहिले पनि त्यही हो’, उहाँ फेरि  हाँस्नुभयो र भन्नुभयो, ‘घुम्दैफिर्दै रुम्जाटार ।’

 

अन्तिम अपडेट: असोज १९, २०७६

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

1 Comments

  • Babu sarmah

    Aug. 28, 2019, 5:15 p.m.

    हावा गफ दिने हो ....अहिलेसम्म बहराइन दिनारको ३०५ भन्दा माथि पुगेकै छैन , कहाँ ३१० को कुरा ?

  •  0 Reply

तपाईको प्रतिक्रिया