भानु : भाषा र भाव गुम्फन

 असार २९, २०७५ | रमेश भट्टराई ‘सहृदयी’

भानु र भाषा सङ्गम

बालकदेखि बृद्धबृद्धाका मुखमा प्रिय लाग्ने रामायणले भानुको नाम र नेपाली भाषाको विकासमा टेवा पुर्‍याएको विषय सर्वविदितै छ । वि.सं. १८७१ असार १९ गते नेपालको तनहुँ जिल्ला अन्तर्गत चुँदी रम्घा भन्ने गाउँमा पिता धनञ्जय आचार्य तथा माता धर्मावतीका कोखबाट नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म भएको हो । युवाकवि मोतीराम भट्टद्वारा चिनाइएका भानुको नामसँग साहित्य र भाषाको सम्मिलन छ ।  

हजुरआमाको चाउरिएको गालाले रामायण या त रामगीता गुन्गुनाउँदा कलिलो दूधे बालकले औँला चालेर नाच्छ । भाका चोर्छ । वास्तवमा भानुलाई चर्चामा पुर्याएर आजसम्म जीवित तुल्याउने समाज, संस्कृति र साहित्यमा जीवन दर्शको बोध हो–रामायण कृति । आदर्शताको पाठलाई उनले सिकाएका छन् ।

संस्कृतका आदिकवि वाल्मीकिद्वारा रचित संस्कृतको रामायणलाई तत्कालीन देश, भेष र परिवेशमा अनुवाद गर्दा मौलिकता भेटिन्छ । यसमा तत्कालीन लोकदर्शनको राग पाइन्छ । त्यसो त रामायण (रचना काल १९१०), भक्तमाला (रचना काल १९१०), प्रश्नोत्तरमाला (रचना काल १९१०), वधूशिक्षा (रचना काल १९१९), रामगीता (रचना काल १९२५) सबै कृतिमा काव्यसुधाकै लयभावलहरी छ । जीवन र जगत्को लोकगत परिवेशसँग संरचित लयात्मक गद्यमयतामा आनन्दको भाव छ । उनका प्रेरणाप्रद हजुरबा श्रीकृष्ण आचार्यको देनले उनलाई बौद्धिक चेतनाको खुराक प्रदान गराएको पाइन्छ । यसर्थ घरायसी परिवेशले भानुको नामलाई हुर्काउने मैदान दिएको हो भन्न सकिन्छ । त्यसबेलाको शिक्षाको अवसर र चेतनाको जगमा भानुको देन आजको हिसाबमा साँच्चै सम्मानित कर्म हो ।

भावनाको एकीकरणमा भाषाको सङ्गम ढालेर भानुभक्त आचार्यको नाम नेपाली साहित्य जगत्मा अविष्मरणीय लाग्छ । समयको जीवनबोधमा उनी जे थिए जतिखेरको समाजले त्यहाँभन्दा बढी जान्न र भोग्न तयार थिएन अर्थात् त्योभन्दा बढी परिवर्तनका रहस्य भ्रामक लाग्थे– लेखक, कवि जहिल्यै आफू र समाजसँग फुरेको हुन्छ । भानुभक्त भाव र भाषामा कला गाँसिएर उसै गरी फुरेका हुन् भन्न सकिन्छ । 

मोतिरामको चिनारीले उनलाई अगाडि बढायो । मौका दिलायो तब त मोतिराम प्रथम जीवनीकार बने । हेराइका आफ्ना तरिकामा समाज चलेको हुन्छ । रामायणभित्र रामले कहिँ नारीलाई सम्मान गरे, कतै नारीकै उद्धारका लागि नै ताडका राक्षसनी मारे । संस्कृतमा वाल्मीकिलाई रामकै रामायणले नै आदिकवि बनाएछ । कथात्मक मीठासता र मौलिकताको बँधाइसँग रामका कथाले नेपाली साहित्यमा भानुलाई आदिकवि बनाएछ । हिन्दी भाषा–साहित्यमा तुलसीदास ‘रामचरितमानस’ लेखेर आदिकवि बनेका रहेछन् । भाषा र साहित्यको सङ्गमलाई बाँधेरआदिकवि जन्माउने आधार रामकथा नै बन्न पुगेछ ।

वास्तवमा भानुभक्तमा १८/१९ वर्षको युवावस्थामै लेनदेन, लेखापढीका साथमा कवित्वभाव विकसित भएको कुरा उनको जीवनीलाई अध्ययन गर्दामा भेटिन्छ । त्यसमा पनि मोतीरामले तिनको गुण र अवगुणलाई नियालेछन् । मोतीराम तब पनि चिन्तक हुन् किनकि उनले वाल्मीकि र तुलसीदासलाई अध्ययन गरेरै भानुलाई नेपालीमा आदिकवि भन्न रुचाएछन् क्यार ।

स–साना घरघरासी कार्यमा पनि कवित्व भावमै पोखिने आदिकवि आचार्यको कला र बौद्धिकतामा नेपाल र नेपालीले भावनात्मक प्रेम गाँस्न पाएको छ । आजसम्म विकसित, परिमार्जित, मानकीकृत, आधुनिकीकृत भएको नेपाली भाषाको गाँठो भानुसँग पुर्याएर जोड्न पाएको छ । मोतीरामले चुलिमा पुर्‍याएका र विश्लेषण गरिएका भानुको नामसँग पद्य साहित्यको उठान छ । प्रारम्भिक काव्य धारमा फुटकर तथा महाकाव्यको विकास हुन पाएको गौरव छ ।

नेपाली जातिका प्रिय कवि बनेकैले देवकोटाद्वारा जातीय कविको उपाधि पाएका भानुको देनसँग पछिल्ला सर्जकले बाटो र माटो पाए । जगमा टेक्ने हाँगो पाए । कवित्व भावमा नूतनता छरे । हुनलाई अजन्त हलन्त प्रयोग, चन्द्रबिन्दु शिरबिन्दु, पदयोग र पदवियोगको प्रयोगजस्ता कुरामा एकरूपता भने उनका कृतिभित्र रहेको पाइँदैनन् :
    हूकुम् येति गरेर तेज् परशुराम्को खैंचनू भो जसै
    चीन्ह्या श्रीरघुनाथलाइ अघिको वृत्तान्त सम्झ्या तसै ।।१३०।। (श्रीबालकाण्ड)

उनका कृतिमा छन्द मिलाउँदा त्रुटि भएका होलान् तर मीठासता र बोधगम्यतामा नबुझ्ने दुर्बोध्यता कतै छैन । बरु त्यस युगको भाषाशैलीले प्रभाव पारेको छ भन्न सकिएला । पूर्वीय चिन्तन परम्पराको प्रत्यक्ष प्रभाव परेको रामायण कृति हिन्दू दर्शनको महŒवपूर्ण वाङ्मयभित्रै पर्छ । जनमानसले मानेको स्वीकार गरेको कृति रामायण भित्रको कथा र भाषाको बुनोटले उनी भाषा र भावको मीठासतालाई जोड्न खप्पिस रहेछन् भन्न सकिन्छ । 

भाव गुम्फन

नेपाल र नेपाली मनमुटुको मर्मसँग मातृभाषाको प्रेम गाँसिएको देखिन्छ । उनले मातृभाषालाई रक्षा गर्ने बाटो र प्रेरणा बोके, रामायणको भावानुवादमा भाषाको बोधगम्यतालाई गाँसे, नेपाली बोलीचालीसँग टपक्क पारेर मिलाइदिए :
    फर्की फेरि सहर् गया झइँ गरी बाटो छली राम् गया ।
    फक्र्याछन् रघुनाथ् भनेर दुनियाँ सम्पूर्ण फिर्दा भया ।।५१।। (श्रीअयोध्याकाण्ड)

त्यसमा पनि प्रश्नोत्तर त मौलिकताकै भावमा रचित कृति हो भन्नेमा विद्वान्को मतैक्यता पाउन थालिएको छ । यिनको वधूशिक्षाले समाजका अशिक्षित, सभ्य, सज्जन नारीलाई सुयोग्य गृहिणी बन्न सिकाइनु भानुको आफ्नै कृतित्व प्रतिभा हो । यद्यपि नारी दमनका भाव, सामन्ती संस्कार र पितृसत्तात्मकताको चरम् अत्याचारलाई वधूशिक्षाभित्र नियाल्न सकिन्छ । उनले त पक्कै समाज बोलेका हुन्ः
    प्राण्का नाथ् पतिका अगाडि गइ जो फर्माउँछन् सो गरोस् ।
    भन्छन् ल्यान तमाखु खान्छु भनि ता चाँडै तमाखू भरोस् ।।
    किस्सिम् दाख बदाम मिस्रि नरिवल् जो चीज् छ सो सो दिई ।
    पाऊ मिच्न तयार भै अघि सरोस् तेल्को कटौरा लिई ।।२८।। (वधूशिक्षा)

यसबाट नारी दमनको तत्कालीन समाजको कुसंस्कारे चलन झल्किन्छ । यद्यपि उनको मूलमर्ममा रहेको परिवारमा पारिवारिक सद्भाव जागोस् भन्ने विषय, श्रीमान्–श्रीमतीको प्रेम अकाट्य रहिरहोस् भन्ने पक्ष पक्कै आलोचित बन्नुहुन्न नै । गृहस्थ जीवनको नियम र ढाँचामा व्यावहारिकता पस्कनु भानुको कला हो । सूर्यविक्रम ज्ञवालीले आचार्यलाई हँसिला, रसिला, ख्याल ठट्टा गर्ने बानी भएका हक्की, उच्च विचार भएका चरित्रका रूपमा चित्रण गरेका छन् ।

आध्यात्मिक स्वरमा जीवनको चिन्तन र जीवन रहस्यको बाटोमा रामभक्तिसँग भाषालाई गाँस्नु भानुको आफ्नो कला हो । वास्तविक आत्मिक सुखको चिन्तन र आत्मज्ञानको भावबोधको चिन्तनले भानु मुखरित छन् । आस्तिक चिन्तनमा कवित्व व्यक्तिगत स्वभाव र आचरणलाई समेत् मोतीरामले चिनाउनुबाट भानुका भावनालाई उनैले राम्ररी चिनेछन् क्यार । नीतिशास्त्रको ज्ञानको निखार रामायण, रामगीता या त प्रश्नोत्तरमालामा प्रष्टिन्छ । गुरु र मान्यजनप्रतिका आदर भाव, सद्सङ्गतका नैतिक चारित्रिक सन्देशले भानुका कृति सुसज्जित लाग्छन् । समाजमा इज्जतिलो बन्न सिकाइएको छ । 

पृथ्वीनारायणले नेपालको एकीकरण गरिरहँदा भानुले नेपाली भाव र भाषाको एकीकरण गरे । नेपाल र नेपालीलाई नातो गाँसेर जिउने आधारमा सहायता दिए । समाजलाई बोले यसर्थ भाषालाई बोले । अतः आदिकवि आचार्यले संस्कृतको भाषानुवाद मात्र गरेनन् आफ्नै मौलिक पङ्क्तिको पनि सृजना गरे (केही उदाहरण) :
    जागीर् छैन धनी म छैन घरको केवल् कोदालो खनी 
    खान्थ्याँ दुक्ख गरेर चाकरी गरेँ मान् पाउँला की भनी ।।
    
    घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो ।
    मो भानुभक्त धनि भै कन आज यस्तो ।।
    
    दरिद्र नाऊँ नरमा छ कस्को ?
        विशाल तृष्णा घरमा छ जस्को ।
            कुन् हो धनी सब् नरले कह्याको ?
                सन्तोषले जो छ खुसी रह्याको ।।८।। (प्रश्नोत्तरमाला) 

भानुले धेरै नेपालीलाई साक्षर तुल्याउन बाटो दिए । सहज भाषामा रामायणलाई गुनगुनाउँदा श्रुतिमधुरता प्रदान गरे । नेपाली भाषामा काव्य रचना गर्न सकिने आधार प्रदान गरे । तत्कालीन परिवेशमा बहुभाषिक समुदायको सहसम्बन्ध बाँध्ने आधार नभइरहँदा उनले भाषिक एकीकरणको सेतु बनाए भन्न सकिन्छ । सबै मातृभाषीलाई एकताको सूत्रमा बाँध्ने काम गरे । आदर्शपुरुष राम र आदर्श नारीकी प्रतीक तथा धैर्यताकी पहिचान सतीत्व नारी सीताको चरित्रमा भानुका भक्त रामभक्तिमा डुबे । आदर्शजीवनको रहस्य खोतले । 

सायद व्यासको वेदको सार रामगीतामा उतारे । जाति, धर्म, भाषा, संस्कृति, साहित्य, सम्प्रदायको विविधतामा एकताको भावसँगै देशप्रेम, आदर्शता, व्यक्तित्व निर्माणको चेतनालाई जगाए । अतिथि, गुरु तथा मान्यजनको आदर र सानाप्रतिको प्रेमको पुन्तुरो खोल्ने शिक्षा दिए । त्यतिखेरको जनजिब्रोमा भिज्न सफल सीतारामको कथामा कारुणिक मर्मको उद्घाटन गरे । कथालाई कविताभित्रै कलात्मक पारामा उतारे । 

जसरी आज अङ्ग्रेजी भाषाले संसारमा प्रभुत्व राख्दैछ त्यसैगरी तत्कालीन परिवेशमा नेपाली भाषाले नै सबै नेपालीहरूका मातृभाषासँग सम्बन्ध गाँस्न सक्थ्यो सायद । तब उनी भाषा र भावका साधक बन्न पुगे । आज पनि भानुका नाममा भक्तिभावको गाथा, रामको कथा, भाषा विकासको लगन छ । यसर्थ नेपाल, नेपाली समाज र स्वपहिचानको आधारवस्तुमा सदैव भानुको देन र महिमा जीवन्त छ । 


 

1 Comments

  • शान्ति थापा

    July 13, 2018, 8:21 a.m.

    com सबै राम्रो छ तर जन्ममिती गल्ती भएको छ असार २९ हुनुपर्नेमा १९ लेखिएको छ सच्याउनु होल

तपाईको प्रतिक्रिया