‘सुन न छोरा, चार वर्ष कसरी बिताएँ सुनाउँछु’(भिडियाेसहित)

 असोज २, २०७६ बिहिबार १६:५०:२४ | सन्जिता देवकोटा

काठमाण्डौ – ‘ए कुमार, उठ् त ! बाबु हेर् त तँलाई भेट्न को आएको छ,’ बेडमा सुतिरहेका आफ्नो जेठा छोरालाई भेटन जानेका अगाडि अतिमा आफ्नो छोरालाई यसै भनेर बोलाउनु हुन्छ ।

पर्वतको मोदी गाउँपालिका ४ जलजलाकी अतिमाले छोरालाई बोलाएपछि हामीतिर हेर्दै भन्नुभयो, ‘बोल्दैन के गर्नु, आँखा माथिमाथि तानेजस्तो गर्छ, घुर घुर गरेर सास तान्छ त्यति हो ।’

हाम्रो अगाडि पनि पटक पटक बोलाउनुभयो अतिमाले कुमारलाई । सुमसुम्याउनुभयो । टाउकोमा हात राख्नुभयो । खुट्टा चलाइदिनुभयो । तर कुमारको शरीर मुढो भइसकेको छ । न शरीरले आमाले सुमसुम्याएको थाहा पाउँछ न त कानले आमाको बोली ठम्याउँछ । 

‘के रोग लाग्यो बाबै मेरो छोरालाई, सास छ, तर पनि बोल्दैन, कति बोलाउँछु, चलाउँछु अहँ, उसले मलाई नै चिन्दैन,’ ललितपुरको सानेपास्थित अलोकी केयर होममा उपचाररत छोरालाई एकोहोरो सुमसुम्याउनुहुन्छ, अतिमा । 

२०७२ असार १६ गते काम गर्ने क्रममा यूएईमा लढेपछि कोमामा उपचाररत कुमार फकामी मगरको अवस्था आजसम्म उस्तै छ ।

कोमामा उपचार गर्दागर्दै चार वर्ष बित्यो, तर कुमारको होस फिरेको छैन, न त अतिमाका आँखा ओभाएका छन् । यस्ता बिरामीलाई यूएईको कम्पनीले भदौ १५ गते अचानक इण्डियन एअरलाइन्सबाट नेपाल पठाइदिएपछि कुमारको उपचारको जिम्मा अलोकी केयर होमले लिएको छ । 

अलोकी केयर होममा कुमारका लागि चौबीसै घण्टा नर्स खटाइएको छ । चामल जस्तै सेता भएका छन् कुमार । खुट्टा सिधा हुँदैनन् । आँखा भित्र पसेका छन् । अनुहार उज्यालो छ, तर होस छैन । कोमाको अवस्थामा भए पनि सामान्य रुपमा श्वासप्रश्वास हुन्छ ।

अक्सिजन लगाउन पर्दैन । तर मुखमा जम्मा हुने पानी एक एक घण्टामा ‘सक्सन’ अर्थात पाइपले तान्नु पर्छ । पाइपमार्फत नै खाना खुवाउनु पर्छ । दिसापिसाब पनि पाइपबाटै गराउनुपर्छ । 

कलकलाउँदो उमेर । २३ वर्ष लाग्दा घर बनाउने सपना बोकेर परदेशिएको छोरो यस्तो गम्भीर रोगले थला पर्ला भन्ने अतिमाको मनमा कल्पना पनि थिएन ।

बोलाएको नसुन्ने, जस्ताको तस्तै पल्टिरहने । छोरोको अवस्था घर बनाउन आँगनमा थुपारेको मुढो र ढुङ्गाझैं देख्दा अतिमा आफूलाई सम्हाल्न सक्नुहुन्न । आमा अतिमालाई पहिले छोरो विदेशमा हुँदा कस्तो होला भन्ने पिरले भतभती पोल्थ्यो । 

‘कस्तो होला, परदेशको अस्पतालमा कसरी बसेको होला, यतिका वर्ष बित्दा पनि निको नहुने कस्तो बिमार लाग्या होला’, – छटपटीको पीडा असह्य हुन्थ्यो । तर अहिले छोरा आफ्नै आँखा अगाडि छन् र पनि अतिमाको पीडा पटक्कै कम भएको छैन । 

अचेत छोराको अवस्था देखेपछि अतिमालाई आफ्नै भाग्य र परिस्थिति सम्झेर उकुसमुकुस भएको छ । न डाँको छोडेर रुन पाउनुभएको छ, न त ६ वर्षपछि देखेको छोरालाई मनका कुरा सुनाउन पाउनुभएको छ । पर्वतकी अतिमालाई यतिबेला पर्वतका सबै पहाडले एकै पटक थिचेझैँ भएको छ । 

अतिमाका दुई छोरा र एक छोरी । छोरीले बिहे गरिसकेकी थिइन् कुमार परदेश लाग्दा । कुमार मात्र हैन, दुवै छोराले विदेशमा कमाएर आफ्नो घर बनाउने सपना देखेका थिए । 

विदेश लाग्नुअघिको योजना अनुसार नै घर बनाउने तयारी हुँदै थियो । ढुङ्गा तयार थियो । बनाउने ठाउँ छोराहरुकै रोजाइ अनुसार निश्चित भइसकेको थियो । आफ्नै नयाँ घरमा बस्ने सपनाको ठूलो घर बनिसकेको थियो अतिमाको मनमा । यूएईमा कमाइ गरेर अलिअलि पैसा पठाउँदै हुनुहुन्थ्यो कुमारले । 

तर जग राख्न नपाउँदै अतिमाको सपना क्षणभरमै यसरी ढल्यो कि न कुमार अहिलेसम्म उठ्नुभयो, न त अतिमाको परिवारमा घर बनाउने कुरै उठ्योे । अतिमालाई आफ्नो चोला छँदासम्म घर र छोरो उठाउने सपना यसै बित्ने हो कि भन्ने चिन्ताले सताइरहन्छ । 

‘सुन न छोरा, चार वर्ष कसरी बिताएँ सुनाउँछु’ 

सिधा हुन छाडेका छोराका पैताला सुम्सुम्याउँदै अतिमा मनका पीडा छोरालाई पोख्नुहुन्छ, ‘तँलाई त यो जन्ममा मैले दुईपटक हुर्काउनु पर्‍याे छोरा, सानोमा पनि यसैगरी हुर्काएको थिएँ ।’ अतिमालाई लाग्छ, आफ्नो मायाले पो खुम्चिएका छोराका खुट्टा सिधा हुन्छन् कि ।

टुलुटुलु हेरिरहेको छोरालाई देख्दा छोराले आमा भनेर बोलाउँछ कि झैं लाग्छ अतिमालाई । 

‘बोल्ने भए त छोरालाई चार वर्ष मैले रुँदै कसरी बिताएँ भनेर सुनाउने थिएँ’ गहभरी आँसु पार्दै अतिमा भन्नुहुन्छ, दशधारा दूध खुवाएको नानी बिमार छ भन्ने सुनेपछि चार वर्षसम्म यसै कसरी बिताएँ होला तपाईँ सोच्नुस् न ।’ 

२०७० सालमा काठमाण्डौको सिनामंगलमा रहेको बेस्ट वे सर्भिसेज प्रालिबाट लेबरको काममा यूएई पुगेका कुमारले आबुधाबीमा रहेको सियोङ् कन्स्ट्रक्टिङ कम्पनीमा लेबर कामको लागि अन्तिम श्रम स्वीकृति लिएको दुई बर्ष पूरा भएकै थिएन । 

विदेश गएको दुई वर्ष पुग्न लागेकाले आमालाई लागेको थियाे, छोरो दशैमा आउँछ । कुमारले दशैँमा आउँछु पनि भन्नुभएको थियो । छोराको त्यही बोली सम्झँदै अतिमा भन्नुहुन्छ, ‘मलाई ठूलाठूला कुखुरा पालेर राख्नु आमा भनेको थियो ।’ तर कुखुरा पाले, नपालेको बुझ्न नभ्याउँदै कुमार बेहोस भएर ढल्नुभयो ।

उहाँ बेहोस भएर ढलेपछि घरमा अस्पताल लगेको खबर आयो । तर अवस्था कस्तो छ, भएको के हो भनेर दुई वर्षसम्म कसैले स्पष्ट जानकारी दिएन । दुई वर्षपछि कुमारकै साथीले यूएईबाट फोन गरेर अतिमाकी छोरीलाई खबर त दिए, तर त्यो खबर पनि अपूरो नै थियो ।

‘दाइको साथीले मलाई फोन गरेर उपचार हुँदैछ भन्नुभयो,’ कुमारकी बहिनी दाइ बिमार हुँदा आएको खबर सम्झँदै भन्नुहुन्छ, ‘त्यसपछि कति फोन गरियो, कस्तो छ एउटा फोटो मात्र भए पनि पठाइदिनुस् भन्याेँ, तर फोन गर्ने मानिसले कम्पनीले एक जना मानिस खटाएको छ, हामीलाई भेट्न दिँदैन मात्र भने ।’

कुमारलाई के भएको हो भन्ने प्रष्ट खबर नपाएरै दुई वर्ष बित्यो । त्यसपछि भने चिनजानका एक जनाले कुमारको फोटो पठाइदिए । फोटो यस्तो थियो कि धनमायाले आमालाई देखाउन सक्नुभएन । 

‘सास भेट्ने आश मारेका थियौँ’

‘फोटो हामीले त हेर्न सकेनौँ, दिनरात रोइ हिँड्ने आमालाई कसरी देखाउँ,’ ती दिन सम्झेर रुँदै धनमायाले भन्नुभयो, ‘दाइ त छैन होला, हामीलाई ढाँटेको होला जस्तो लाग्थ्यो, हामीले त आशै मारेका थियौँ ।’ 

कुमारको परिवारले आश मार्नुका थुप्रै कारण थिए । एक त कोमामा उपचाररत उहाँको खबर दिने कोही थिएन । साथीभाइले बेलाबेलामा बहिनी धनमायाको मोबाइलमा फोन गर्थे ।

तर उनीहरुको कुराबाट स्वास्थ्य अवस्थाको आकलन गर्न गाह्रो थियो । ‘दाइको अवस्था नाजुक रहेछ, फोटो हेर्दा त हामीले दाइको सास भेट्ने आश मारेका थियौँ,’ धनमायाले आँसु पुछ्नुभयो । 

कुमारको खबर सुनेदेखि नै आमा अतिमाको आँखा ओभानो भएनन् । कुमारले नै भनेअनुसार घर बनाउन आँगनभरी थुपारिएका ढुङ्गा मुढा हेर्दै रुनुहुन्थ्यो अतिमा ।

रुँदा रुँदा उहाँको मन नै मोदी किनारको ढुङ्गा जस्तै भइसक्यो । रुँदै कुर्नु बाहेक अर्को विकल्प पनि त बाँकी थिएन । छोरोको शुभ खबरका लागि आफ्नो हातमा भएजति विकल्प सबै अपनाउनुभयो ।

कोमामा उपचाररत रहेको खबर सुनेदेखि नै अतिमाले देवी देवताको भाकल गर्नुभयो । छोरो निको भएपछि चढाउँला भन्दै भाले पाल्नुभयो । तर अतिमाको भाकलले अझै काम गरेको छैन । भाकल गरेको भाले मरिसक्यो ।

दुई छोरा र एक छोरी हुर्काउन अतिमाले कम्ता दुःख खेप्नु परेन । छोरी धनमाया ८ महिनाको हुँदा कमाउन भारत गएका श्रीमानको न सास आयो, न लाश । लामो समय नफर्किएपछि काजकिरिया त गर्नुभयो, तर अझै पनि मृत्युको प्रमाण भने फेला परेको छैन । 

‘साथीहरुले त भारतबाट फर्किँदै गर्दा गाडी रोकेको ठाउँमा बाटोमा पिसाब गर्न गएको थियो रे भन्छन्, उसको झोलाहरु साथीहरुसँगै रहेछ, साथीहरु आए, अहिले त २६ वर्ष भइसक्यो उ आएको छैन’, अत्याशलाग्दो विगत सम्झँदै अतिमा भन्नुहुन्छ, ‘अब त आउला भन्ने आश पनि छैन ।’

बालबच्चा सानै छँदा श्रीमान बेपत्ता भए पनि छोराछोरी अतिमाको भरोसामा थिए । दुःख र हण्डरमा पनि खुसी हुने एउटा आधार थिए । जीवनमा सुखको सपना देख्नुको एउटा कारण थिए । 

आफ्नो घर थिएन । थोरै खेतबारी । मेलापात र दुःखजिलो गरेर छोराछोरी हुर्काउनुभयो । बढेको छोरो कमाउन जान्छु भन्दा नजाउ भन्ने कुरै भएन । तर खुसी लिएर फर्किएला भन्ने आश गरेर बसेकी आमालाई जिउँदो लाश भएर फर्किएको छोराको अवस्था कसरी हेर्नु ? कसरी सहनु ? तर हेर्नु र सहनुको विकल्प पनि त छैन ।

सिंहदरबार धाउँदा पनि ल्याउन सकिएन, अहिले कसले पठायो थाहा छैन

चार वर्ष बित्दा पनि छोरो निको भएको खबर नआएपछि अतिमालाई छोराकै पीरले खाँदै थियो । जस्तो भए पनि आफ्नो छोराको आफै स्याहार गर्छु भन्नुहुन्थ्यो ।

कतिले भन्थे– विदेशको अस्पतालमै राम्रो उपचार हुन्छ । तर अतिमालाई यतिका वर्ष विदेशमा निको नभएको छोरालाई ठिक बनाउन सक्छ भन्ने विश्वास मरिसकेको थियो । त्यसैले स्वदेशमै ल्याउन पहल गर्नुभयो । 

अतिमाले छोरीलाई काठमाण्डौ पठाउनुभयो । आफन्तको सहयोगमा गएको वैशाखमा धनमाया परराष्ट्र मन्त्रालय पुग्नुभयो । धनमायाका अनुसार सिंहदरबारमा भेटिएका मानिसले कन्सुलर सेवा विभागमा गएर निवेदन दिन आग्रह गरे । 

सिंहदरबारमा को सँग भेट भयो भन्ने उहाँ जान्नुहुन्न । तर कन्सुलर सेवा विभागले पनि कोमामा भएको बिरामीलाई ल्याउन नसक्ने भन्दै वैदेशिक रोजगार बोर्डको सचिवालय बबरमहलमा पठायो । 

बोर्डले निवेदन दिनका लागि बिहे भइसकेको छोरीले नमिल्ने भन्दै आमालाई नै लिएर आउन भनेपछि धनमाया निराश भएर फर्किनुभयो । 

गाउँ छाडेर कहिल्यै नहिँडेकी अतिमालाई काठमाण्डौ लिएर आउने मेसो मिलेन । एक मनमा जस्तो भए पनि छोरालाई आफ्नो देशमा ल्याऊँ भन्ने लाथ्यो । आफ्नो सास छँदै बिमार छोरालाई एक पटक हेर्न घिडघिडो थियो अतिमाको ।

तर कोमामा उपचाररत भन्नेबित्तिकै स्वदेश ल्याउन आँट भरोसा कसैले दिँदैन थिए । मनमा छट्पटीको आगो त बलेको थियो तर के गर्ने, कसो गर्ने मेलोमेसो नै पाउनुभएको थिएन । 

गएको भदौ १२ गते बहिनी धनमायालाई भारतबाट फोन आयो । चार वर्षदेखिको छट्पटी शान्त गर्ने खबर दिए फोन गर्ने मानिसले । तर धनमाया अचम्ममा पनि पर्नुभयो ।

‘एक्कासी उहाँहरुले तपाइँको दाइ यसरी यति मितिमा आउँदै हुनुहुन्छ भन्नुभयो, म त एकछिन अचम्ममा परेँ, आमाले मरिहत्ते गरेपछि झिकाउन दुनियाँ संघसंस्थादेखि सिंहदरबार धाउँदा भएन, कसले पठायो थाहै भएन,’ धनमाया भन्नुहुन्छ । 

कोमामा रहेका धनमायाका दाइ कुमार नेपाल आउने भए । कसले पठाइदियो भन्दा पनि दाइको अनुहार देख्न पाइने खुसीले मन भरियो धनमायाको । आमालाई र आफन्तलाई खबर गर्नुभयो ।

भदौ १५ गते बिहान ९ः१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दाइलाई लिन आमा अतिमासहित आफन्त र कुमारलाई राख्ने अलोकी केयर होमबाट डाक्टर र नर्ससहितको टोली पनि पुग्यो । कुमारसहित विदेशमा काेमामा रहेका दुई जनालाई नेपाल ल्याइयो । एक जनाको कुवेतमै मृत्यु भयो । अहिले सबैभन्दा धेरै कतारमा १५ जना नेपाली कोमामा उपचाररत छन् । साउदीमा ७ जना र कुवेतमा ३ जनाको उपचार भइरहेको छ । 

कुमार आउँदैछन् भन्ने खबर सुनेदेखि नै छोरालाई हेर्न आतुर हुनुहुन्थ्यो अतिमा । एक मनमा अचेत अवस्थामा फर्किने छोराको अवस्था कस्तो होला भन्ने पीर थियो । एक मन भने आफ्नै काखमा छोरो आइपुग्यो भनेर थोरै खुसी पनि । 

तर विमानस्थलमा कुमारलाई देखेपछि भने एकाएक पुत्र दर्शनको खुसी र अचेत छोराको पीडा मिसिएर अतिमाका आँखाबाट आँसुका थोपा झरे । धनमाया र अतिमाले कुमारलाई सिधा आँखाले हेर्न सकेनन् । छोराको अघिल्तिर आमा रुन पनि सक्नुभएन । भक्कानिएको मनलाई जबरजस्ती रोक्नुभयो ।

‘ठिकै होला जस्तो लागेको थियो, तर दाइलाई देख्दा त जिउँदो रहेनछन्, त्यतिकै यहाँसम्म ल्याइदियो जस्तो लागेको थियो,’ दाइलाई विमानस्थलमा देख्दाको क्षण सम्झँदै धनमाया भन्नुहुन्छ ।

अतिमाले छोराको अवस्था देखेर आफूलाई सम्हाल्न सक्नुभएन । हाँस्दै गएको तन्दुरुस्त छोराको त्यो अवस्था देख्दा रुँदै आफ्नै भाग्यलाई धिक्कार्नुभयो । 

अहिले कुमारको अलोकी केयर होममा नै उपचार भइरहेको छ । चौबीसै घण्टा नर्सिङ केयर चाहिन्छ । कुमारलाई आवश्यक पर्ने सेवा आफूले दिन सक्ने भएकाले नै कुमारको उपचार गर्न सक्ने सहमति जनाएको होमकी अध्यक्ष निर्मला तिवारी बताउनुहुन्छ । 

तर कुमारलाई नेपाल सरकार वा दूतावाससँग समन्वय गरेर पठाइयो या कसरी पठाइयो भन्नेबारे अलोकी केयर होम पनि अनभिज्ञ छ । होमकी प्रबन्ध निर्देशक जेनी थापालाई सबैभन्दा पहिला डाक्टर अन कल्स भन्ने संस्थाबाट कुमारको अवस्था उल्लेख गर्दै केयर गर्न सक्छौ? भनेर सोधियो । 

कुमारको अवस्था अध्ययन गर्दा आफूले सेवा दिन सक्ने भन्दै अलोकी केयर होमका तर्फबाट स्वीकृति पत्र पठाएको थापाले बताउनुभयो । एक महिनासम्म लाग्ने खर्च यूनिभर्सल मेडिकल ट्रान्सफर सर्भिसेज इण्डियाले ब्यहोर्ने र त्यसपछि परिवार नै जिम्मेवार हुने भन्ने सहमति भयो । ‘तत्काल पठाइदिनुभयो, हाम्रो त काम नै सेवा दिने हो, अरु कुरा हामीलाई थाहा छैन,’ जेनीले भन्नुभयो । 

कुमारलाई नेपाल पठाएको जानकारी छैन : दूतावास

कुमारलाई स्वदेश पठाउनका लागि यूएईमा रहेको नेपाली दूतावाससँग कुनै सिफारिसपत्र नलिइएको दूतावासका श्रम सहचारी मोतिराम भुषालले जानकारी दिनुभयो । 

‘हामीले पनि तपाइँहरुले भनेपछि मात्र थाहा पायौँ, दूतावाससँग एनओसी नलिइ कस्को जिम्मेवारीमा कसरी पठाइयो हामीलाई जानकारी छैन,’ श्रम सहचारी भुषालले भन्नुभयो ।

कानुन अनुसार बिरामीलाई नेपाल पठाउनका लागि नेपाल ल्याएर उपचार गर्ने अस्पतालको सहमति, परिवारको मन्जुरी आदि कागजका आधारमा दूतावासले सिफारिस दिने हो ।

तर बिरामी नेपाल पठाइएको दुई हप्ता बित्दा पनि दूतावास यस विषयमा अनभिज्ञ छ । कुमारको परिवार पनि कुमारलाई नेपाल ल्याउन आफूले मन्जुरी नदिएको बताउँछ । 

श्रम सहचारी भूषाल भन्नुहुन्छ, ‘पहिला त हामी कुन आधारमा पठाइएको हो त्यसबारे बुझ्छौं, यो अहिलेसम्म नभएको घट्ना भयो, त्यही अनुसार अदालतमा मुद्धा दर्ता गछौं, प्रमाणका आधारमा अब दोषी को हो भनेर अदालतले नै फैसला गर्छ ।’

दूतावासलाई कुनै जानकारी नै नगराई बिरामी पठाउनुमा कम्पनी नै जिम्मेवार हुने उहाँको भनाइ छ । 

वैदेशिक रोजगार बोर्डमा पनि कुमारलाई नेपाल ल्याइएको बारेमा कुनै जानकारी नभएको बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले बताउनुभयो । ‘बोर्डमा जानकारी छैन, भर्खर तपाईँले भनेपछि जानकारी पाएँ, कसरी पठाइयो, ल्याएर कहाँ राखियो बुझ्नु पर्छ, बोर्ड यस विषयमा अनभिज्ञ छ,’ उहाँले भन्नुभयो । 

छोराको उपचार कसरी गरुँ ?

सास भेटिने आश मारेको परिवार कुमारलाई देख्न पाउँदा पीडामा पनि खुसी छ । ‘मेरो नानीलाई जिउँदै देख्न पाऊँ भगवान भनेर भाकेको थिएँ, पूरा भयो’, थोरै मुस्कुराउँदै छोरालाई देख्न पाउँदाको खुसी व्यक्त गर्नुभयो अतिमाले । तर ५१ वर्षीया अतिमाको मनमा भने आगो बलेको छ । छोरालाई आँखैअघि देख्दा पनि पीडा कम भएको छैन । 

अतिमालाई लाग्छ– ‘छोरो निको भइदिए, खाटैमा बसेर भए पनि आमा भोक लाग्यो मात्र भन्न सक्ने भए घर लग्थें ।’ फेरि इन्तु त चिन्तुसँग लडिरहेको छोरो हेर्दा छिनमै निराश हुनुहुन्छ । 

‘यस्तो छ, पिसाब पनि पाइपमा फेर्छ, खाना पनि पाइपबाटै खान्छ, मुखको थुक पनि निकाल्नुपर्छ, घरमा लगेर यस्तोलाई के गरौँ, म जान्दिन यस्तो गर्न,’ अवरुद्ध गला सफा गर्दै अतिमा भन्नुहुन्छ, ‘त्यतिमात्र हो र, खाना पनि पाइपबाटै खुवाउनुपर्छ, यस्तोलाई म के गरौँ ।’

एक महिनासम्म कम्पनीले खर्च ब्यहोर्ने सहमति छ । तर त्यसपछि कुमारको उपचार कसरी गर्ने भनेर सोच्न पनि सक्नुभएको छैन अतिमाले । धनमायाका अनुसार सरकारले उपचार गरिदिन्छ कि गरिदिँदैन पनि थाहा छैन ।

कागजपत्र बोकेर वैदेशिक रोजगार बोर्ड त धाउनुभएको छ । तर पैसा र उपचार पाइन्छ भन्ने निश्चित नभएको बोर्डका कर्मचारीको भनाइ छ । 

घर लैजाउँ, बाटैमा सास निभ्छ कि भन्ने डर । काठमाण्डौमै उपचार गरौँ आम्दानीको स्रोत छैन । कुमार विदेश जाँदाको झण्डै एक लाख रुपैयाँ त ऋण नै बाँकी छ । आफन्तको सरसहयोगमा कहिलेसम्म उपचार हुन्छ थाहा छैन । 

रोजगारदाताले कसरी पठायो त थाहा छैन । अतिमा आँखामा भरिएका आँसु पुछ्दै टोलाउनुहुन्छ र भन्नुहुन्छ, ‘उपचार गर्ने पैसा जुटाउन सकिएन भने, उपचार नै गर्न नसकेर छोराको सास गयो भने ?’

कोमामा उपचाररत नेपाली र परिवारका कथाव्यथाको श्रृंखला ‘आशा र निराशाबीच चलेको सास’ चार दिनसम्म प्रकाशन गर्नेछौँ । 

अन्तिम अपडेट: असोज २४, २०७६

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया