चेल्सीकाे नयाँ प्रशिक्षकमा माउरिजिओ सार्री

 असार ३०, २०७५ शनिबार १९:५४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस क्लब चेल्सीले इटालियन प्रशिक्षक माउरिजिओ सार्रीलाई अनुबन्ध गरेको छ । 

एन्टोनियो कोन्टेलाई दुई वर्षमै बर्खास्त गरेको चेल्सीले अर्का इटालियन प्रशिक्षकलाई नियुक्त गरेको हो । इटालियन क्लब नेपोलीलाई प्रशिक्षण गरिसकेका ५९ वर्षे सार्रीलाई चेल्सीले तीन वर्षको सम्झौता गरेको छ । 

सार्रीले नेपोलीलाई सिरी ए मा दुई पटक दोस्रो स्थान दिलाएका थिए । नेपोलीमा सम्झौता नसकिँदै क्लबले क्षतिपूर्ति तिरेर सार्रीलाई स्ट्याम्फर्ड ब्रिज भित्र्याएको हो ।

उनको स्थानमा नेपोलीले प्रशिक्षणको जिम्मेवारी कार्लो एन्सेलोट्टीलाई दिएको छ । अनुबन्धपछि सार्रीले आफ्नो प्रशिक्षण करियरको उत्साहपूर्ण समय भएको प्रतिक्रिया दिएका छन् ।

‘हाम्रा समर्थकलाई फुटबलको आनन्द दिने प्रयास गर्नेछु र सिजनको अन्तसम्ममा क्लबलाई उपाधिहरु जिताउनेछु, जुसका लागि क्लब योग्य छ ।’ सार्रीले भने ।

सन् २००३ मा चेल्सीको बागडोर सम्हालेपछि रोमन इब्राहिमोभिचले १३ जना प्रशिक्षक परिवर्तन गरिसकेका छन् । 

यस क्रममा जोजे मोउरिन्हो र गुज हिडिन्कलाई दुई-दुईपटक अनुबन्ध गरिसकेका छन् ।

युभेन्टसको दबदबा रहेको इटालियन सिरी एमा सार्रीको प्रशिक्षणमा नेपोलीले ११४ खेलमा ७९ जित, २२ बराबरी र १३ हारको नतिजा निकालेका थिए । 

आक्रामक फुटबल खेलाउने प्रशिक्षक सार्रीले दुई सिजन अघि नेपोलीले उनको प्रशिक्षणमा ९४ गोल गरेको थियो ।

सिरी ए मा २१औं शताब्दीकै सर्वाधिक गोल संख्या हो । उनको तीन वर्षे कार्यकालमा नेपोलीले सिरी ए मा २५१ गोल गरेको थियो ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया