युवा नेत्र सेवाको २३ वर्षे अभियान : १३ सयभन्दा धेरैले नयाँ संसार देखे

 कात्तिक २५, २०७६ सोमबार ९:५८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काभ्रेपलाञ्चोक कात्तिकेकी ८७ वर्षीया सुकुमाया तामाङ आशै मारिसकेको संसार फेरि प्रष्ट देख्न पाएकोमा अत्यन्तै खुशी हुनुभयो । आँखामा मोतिबिन्दुको उपचारपछि पट्टी खोल्दा धमिलिएको दृश्य बिस्तारै सङ्लिएर देखिएपछि खुशीको आँशु झार्दै उहाँले भन्नुभयो– ‘मेरा लागि त अर्कै संसार देखे जस्तो भयो ।’

२३ वर्षदेखि काठमाण्डौसहित देशका विभिन्न ठाउँमा मोतिबिन्दुको शल्यक्रिया सेवा प्रदान गर्दै आएको युवा नेत्र सेवा नामक संस्थाले बर्सेनि आफ्नो वार्षिकोत्सवको अवसर पारेर आर्थिक अवस्था कमजोर रहेका बृद्धबृद्धालाई निःशुल्क मोतिबिन्दुको शल्यक्रिया गर्दैआएको छ ।

काठमाण्डौको पश्चिमतर्फको ‘किपुल्चा’ अर्थात् चलनचल्तीको भाषामा किसिपिडीका ६५ वर्षीया न्हुछेमाया महर्जन पनि मोतिबिन्दुको सफल शल्यक्रियापछि नयाँ संसार देखेकोमा दंग हुनुहुन्छ । दिनभरी खेतमा काम गर्नुपर्ने उहाँको आँखामा पनि मोतिबिन्दु भएको थियो । टोलछिमेक नजिकैकी स्वयंसेविकाको सहयोगमा कीर्तिपुर पुगेकी न्हुछेमायाको शल्यक्रियापछि उहाँलाई लिन छोरा पुगेका थिए । आमाको सफल शल्यक्रियापछि दुवै खुशीसाथ फर्किएका छन् ।

संस्थाले हरेक महिना विभिन्न ठाउँमा गएर निःशुल्क आँखा जाँच शिविर चलाउने गरेको छ । शल्याक्रिया नै गर्नुपर्ने बिरामीलाई कीतिपुर नगरपालिका अन्तर्गतको श्रीकीर्ति नगरमण्डप महाविहारमा ल्याएर शल्यक्रिया गरिन्छ । त्यसपछि औषधी दिएर आवश्यक परामर्शपछि सम्बन्धितका घर–ठेगानामा पुर्‍याइदिने गरिएको संस्थाले जनाएको छ ।

यसवर्ष २३ औं निःशुल्क मोतिबिन्दु शल्यक्रियाको समापन गरिएको छ । सेवाअन्तर्गत अहिलेसम्म ५३ हजार ३ सय ३६ जनाको आँखा जाँचका साथै १३ सय ४३ जनाको शल्यक्रिया सम्पन्न भएर नयाँ संसार देखेको संस्थाका सचिव रोशनराज महर्जनले जानकारी दिनुभयो । यसका साथै विद्यालय आँखा परीक्षण अन्तर्गत अहिलेसम्म १२ हजार २ सय ७२ जनाको परीक्षण भइसकेको पनि संस्थाले जनाएको छ ।

संस्थाका अध्यक्ष सिद्धार्थ रञ्जितले सेवाको सञ्चालन दैनिक ‘एक कप चिया बराबरको पैसा दान’ अभियानबाट भैरहेको र विदेशी दाताहरुबाट पनि प्राविधिक सहयोग प्राप्त भएको बताउनुभयो ।

उहाँले युवा नेत्र सेवाले सबैको सहयोगमा आफ्नै आँखा अस्पताल खोल्ने योजना रहेको जानकारी पनि दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया