‘शहरमा चल्ने गाडी रिजर्भ गरेर अन्यत्रै जाँदा दुर्घटनाको जोखिम धेरै हुन्छ’

 मंसिर ३०, २०७६ सोमबार १९:३७:१७ | भीमप्रसाद ढकाल
unn.prixa.net

पछिल्ला केही दिनयता देशमा ठूला दुर्घटना भएका छन् । यसले हामी सबैलाई दुःखी बनाएको छ । के कारणले दुर्घटना भयो र यसलाई कम गर्न के गर्न सकिन्छ भन्ने विषयमा पनि धेरै बहसहरु भएका छन् । 

दुर्घटना कम गर्ने विषयमा सबैभन्दा पहिले चालक नै जिम्मेवार हुनुपर्छ । चालकले जानीजानी दुर्घटना गराएका छन् भन्न त मिल्दैन तर दुर्घटनाको ८५ प्रतिशत कारण चाहिँ चालक नै हुन् जस्तो लाग्छ । चालकले गाडी चलाउँदा जति ध्यान दिनुपर्ने हो, त्यत्ति ध्यान नदिएको पाइन्छ ।

पहिलो कुरा बाटो खराब र अप्ठ्यारो छ भने त्यो बाटोमा कसरी चलाउने भन्ने कुरा जान्नुपर्‍यो । चालकले थोरै खाली सडक देख्नेबित्तिकै गाडी तीव्र गतिमा चलाउने प्रवृत्ति बढ्दो छ । त्यसो गर्नु हुँदैन ।

बाटोको क्षमता हेरेर मात्र गाडी गुडाउनु पर्छ । साना गाडीको लागि सडक बनाइएको हुन्छ, तर त्यहाँ धेरै लोड बोकेर ठूला गाडी गुडेको देखिन्छ ।दुर्घटनाको मुख्य कारण यो पनि हो । ट्राफिक प्रहरीले गाडी र बाटोको क्षमताभन्दा धेरै यात्रु र लोड निषेध गरेको छ । ठाउँ ठाउँमा ट्राफिक प्रहरी खटिरहेका छन् । तर ट्राफिक र प्रहरीको आँखा छलेर क्षमताभन्दा धेरै यात्रु र सामान राख्ने क्रम घटेको छैन । 

रिजर्भ गरेर गाडी लैजाँदाको जोखिम

पारिवारिक भेटघाट, घुमघाम, पिकनिक, सभा सम्मेलन  लगायतका काममा जाँदा गाडी रिजर्भ गरेर लैजाने चलन छ । विशेषगरी शहरमा चल्ने लोकल रुटका बसलाई टाढा र पहाडी सडकमा लैजाँदा धेरै दुघर्टना भएका छन् । शहरमा गाडी चलाउने चालकले बाहिर जाँदा थोरै खाली सडक देखे पनि तीव्र रुपमा कुदाइहाल्छन् । नयाँ ठाउँमा सडकको जानकारी नहुँदा कति कम गर्नुपर्नेमा उनीहरुले झनै कुदाएको देखिन्छ । 

यस्तै रिजर्भ गाडी हो भन्दै ट्राफिक नियम मिच्ने प्रवृत्ति पनि बढ्दो छ । घुमघाममा जाने रिजर्भ गाडीभित्रका धेरै यात्रुले जाँडरक्सी पिएको पाइन्छ । यात्रुले जाँडरक्सी पिएपछि चालकलाई पनि खाउँ खाउँ लाग्छ र यात्रुले थाहै नपाउने गरी पिउने गरेकाे पनि पाइएकाे छ। 

दूरदराज र पहाडी बाटोमा नजिकै नजिकै ट्राफिक जाँच पनि हुँदैन । त्यसैले शहरबाट गएका चालकले मनपरी जस्तो गरेको देखिन्छ । अनि रिजर्भ गाडीमा गीत गाउने, चर्को स्वरमा गीत बजाउने, नाचगान गर्ने र चालकलाई पनि डिस्टर्ब गर्ने हुँदा पनि दुघर्टनाको जोखिम बढेको छ । 

यस्तै बेलुकी धेरै जाँडरक्सी खाने र अर्को दिन बिहानै गाडी चलाउने गर्दा पनि दुर्घटना भएको देखिएको छ  । सकभर रिजर्भ जाँदा शहरी क्षेत्रमा चल्ने गाडीभन्दा पनि सम्बन्धित रुटमा चल्ने गाडी नै लैजाँदा राम्रो हुन्छ । 

सहरमा थोत्रा भएका गाडी पहाडमा, गाउँमा मनलाग्दी सडक

शहरमा १२-१५ वर्ष चलाएर थोत्रा भएका गाडी पहाडमा लगेर चलाउने चलन छ । पहाडमा चल्ने  गाडी नयाँ र चुस्त हुनुपर्नेमा उल्टो थोत्रा भैसकेका गाडी चलाउने गरिएको छ । यसले गर्दा पनि पहाडमा दुर्घटनाको जोखिम छ । पहाडी क्षेत्रमा नजिक नजिक गाडी मर्मत गर्ने वर्कशप पनि हुँदैनन् । सानो समस्या त देखिएको हो नि भन्दै चालकले लामो समयसम्म गाडी मर्मत गर्दैनन् ।

६-६ महिनामा सरकारी संयन्त्रले गाडीको जाँच गर्नुपर्ने भए पनि त्यो नियम पालना गराउन यातायात व्यवस्था विभागसँग पर्याप्त जनशक्ति नै छैन । 

अर्को कुरा अहिले गाउँ गाउँमा इञ्जिनियरिङ अध्ययनबिना नै जथाभावी सडक खनिएको छ । गाउँ गाउँमा बजेट र अधिकार गएको छ, पहिलो काम नै सडक खन्ने भैरहेको छ । कस्तो भू-बनोटमा सडक बनाउने, गाडीको लागि सहज बाटो कताबाट खन्दा ठिक हुन्छ, इञ्जिनियरिङ अध्ययन गर्नुपर्छ भन्ने सोच कम नै छ । डोजर चालकलाई फकाएका भरमा बाटोको रेखा कोरिन्छ, यसले पनि पहाडमा दुर्घटना बढिरहेको छ । 

दुर्घटनाको सवालमा स्थानीय सरकारले अझै गम्भीर बन्नुपर्ने देखिन्छ । अहिले कानुनले नै स्थानीय सरकारलाई ट्राफिक व्यवस्थापन र सडकको अधिकार दिएको छ । यसलाई उहाँहरुले सही सदुपयोग गर्नुपर्छ । सडक अनुशासनको विषयमा पालिकाहरुले धेरै काम गर्न सक्छन् । 

यात्रु पनि जिम्मेवार बनौँ

यात्रा गर्ने यात्रु जिम्मेवार नबन्दा पनि कैयौँ दुर्घटना भएका छन् । गाडीमा कोचाकोच यात्रु हुँदा पनि हामी त्यही गाडीमा कोचिएर जान खोज्छौँ । एकैछिनमा अर्को गाडी आउँछ भन्ने जान्दाजान्दै पनि गाडीमा क्षमताभन्दा धेरै यात्रु बस्छौँ । 

गाडी चालकले गल्ती गरेको देख्दा ट्राफिक प्रहरी या प्रहरीलाई तुरुन्तै खबर गर्नुपर्छ । १०३ र १०० मा फोन गर्दा नजिकै रहेको प्रहरी चौकीमा फोन जान्छ र तत्कालै हामी एक्सनमा जान्छौँ । यात्रुको एक फोनले गर्दा कैयौँको ज्यान बच्न सक्छ । आफू चढेको गाडीको चालकले रक्सी खाएको शंका लागेमा पनि तुरुन्तै ट्राफिक प्रहरीलाई खबर गर्नुपर्छ । 

चालकसँग कुनै पनि विषयमा झगडा गर्नु हुँदैन । प्रहरी या ट्राफिक प्रहरीलाई खबर गर्नुपर्छ । दुर्घटना कम गर्न यात्रुको भूमिका पनि महत्वपूर्ण हुन्छ । नागरिक पनि बिनाबर्दीका प्रहरी हुन् भन्ने मान्यतालाई हामी सबैले आत्मसात् गर्नुपर्छ । 

(महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालसँग अर्जुन पोख्रेलले गरेको कुराकानीमा आधारित)

अन्तिम अपडेट: फागुन १२, २०७६

भीमप्रसाद ढकाल

प्रहरी वरिष्ठ उपरीक्षक ढकाल महानगरीय ट्राफिक महाशाखाका प्रमुख हुनुहुन्छ ।

1 Comments

  • Pramil Kharal

    Dec. 16, 2019, 9:40 p.m.

    सही बिश्लेषण!!

  •  0 Reply

तपाईको प्रतिक्रिया