पाणिनी गाउँपालिकामा ५ लाख तेजपत्ता रोपियो

 साउन ५, २०७५ शनिबार ८:२८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

अर्घाखाँची – प्रदेश नं. ५ का उद्योग, वन तथा पर्यटनमन्त्री लिला गिरिले,, अर्घाखाँचीमा तेजपत्ताको बिरुवा लगाएर राम्रो उत्पादन गर्न सकिने सम्भावना रहेकाले सबैले तेजपत्ता बिरुवा लगाउनु पर्ने बताउनुभयो । 

शुक्रबार पाणिनी गाउँपालिका वडा नं. ८, अड्गुरीमा रहेको देउराली सामुदायिक वनमा पुगेर स्थानीयसँगै बिरुवा रोप्दै उहाँले सबै सामुदायिक वनहरुलाई व्यावसायिक रुपमा तेजपत्ता खेती गर्न आग्रह समेत गर्नुभयो । अर्घाखाँचीमा तेजपत्ताका लागि राम्रो हावापानी र माटो भएकाले व्यावसायिक खेतीले बढ्दो युवा शक्ति विदेश पलायन रोक्नका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 

पाणिनी गाउँपालिकाका धातिवाङ्ग, अड्गुरी, पटौटी लगायतमा अहिलेसम्म झण्डै ५ लाख तेजपत्ता अर्थात (सुन्कौली) का बिरुवा रोपिएको जिल्ला वन अधिकृत दिपक ज्ञवालीले जानकारी दिनुभयो । 

तेजपत्ताबाट आठ वर्षपछि एक बोट बराबर ८ देखि १० हजारसम्म आम्दानी गर्न सकिनेछ । जिल्ला वन कार्यालय अर्घाखाँचीले तेजपत्ताको व्यावसायिक खेती गर्नका लागि यो वर्ष ५ लाख बिरुवाहरु वितरण गर्ने योजना बनाएको सहायक वन अधिकृत टेकनारायण चौधरीले बताउनुभयो । 

कार्यक्रममा अर्घाखाँची क्षेत्र नं. २ का प्रदेश सांसद रामजी घिमिरे, पूर्व सांसद नजिर मियाँ, प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, नेपाल कम्युनिष्ट पार्टीका नेता जिवनारायण कोइरालालगायतले देउराली सामुदायिक वनमा सामूहिक वृक्षारोपण गर्नुभएको थियो । 


 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया