सन् २०१९ विश्वकप 'फ्ल्यासब्याक' : राेहितकाे शतक, माेर्गनकाे छक्का र विवादित फाइनल

 पुस १६, २०७६ बुधबार ६:३७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ३० डिसेम्बर २०१९ मा दक्षिण अफ्रिकाले इंग्ल्याण्डमाथि जित निकालदै सन् २०१९ को क्रिकेट क्यालेण्डरकाे अन्त्य भएको छ ।

नयाँ खेलहरु अब सन् २०२० मा हुने छन् । सन् २०२० को नयाँ क्यालेण्डर पनि तय भइसकेको छ । आज हामी सन् २०१९ मा भएको आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको 'फ्ल्याशब्याक' गराउँदैछौं ।

विश्वकपको फाइनल 

सन् २०१९ को आईसीसी विश्वकप इंग्ल्याण्ड र वेल्समा आयोजना भएको थियो । विश्वकपको छनोट चरण पार गर्न असफल भएपछि नेपाली टिमको समर्थनमा हुटिङ गर्न भने नेपाली दर्शकहरुले पाएनन् । तर नेपाली टिम नभएपछि नेपाली समर्थकहरु पनि आफ्ना आफ्ना टिम र खेलाडी रोजेर मज्जा लिन भने सफल भए ।

आईसीसी विश्वकप सानदार तरिकाले सुरु भयो तर अन्त्य भने केही खल्लो भयो । कारण थियो न्युजिल्याण्ड र इंग्ल्याण्डबीचको फाइनल खेल । क्रिकेटको जननी मानिने इंग्ल्याण्डले विश्वकप सुरु भएको ४४ वर्षपछि पहिलो पटक उपाधि जित्न सफल भयो । तर उसको जित भने विवादको घेरामा तानियो ।

क्रिकेटको मक्का मानिने लर्डसमा १४ जुलाईमा इंग्ल्याण्ड र न्युजिल्याण्डबीच फाइनल भएको थियो । फाइनलमा दुवै टिमले २४१–२४१ रन बनाएपछि खेलको नतिजा सुपर ओभरबाट निकाल्ने तय गरियो । तर सुपर ओभरमा पनि दुवै टिमले १५–१५ रन बनाएपछि खेलको नतिजा चौका र छक्का प्रहार गरेको आधरमा तय गरियो । क्रिकेटमा प्रयोग गरिएको यो नियम पहिलो पटक थियो र त्यसैका आधरामा इंग्ल्याण्ड विजयी भयो । त्याे नियमको अहिले पनि सबैतिर आ-आफ्नै तरिकाले व्याख्या भइरहेको छ ।

मिचेल स्टार्कको कमाल 

अस्ट्रेलियाका लेफ्ट आर्म पेसर बलर मिचेल स्टार्कले विश्वकपमा २७ विकेट लिए । यो एकै संस्करणमा सर्वाधिक विकेट लिने १३ वर्ष पुरानो रेकर्ड पनि हो । अस्ट्रेलियाकै ग्लेन मेग्राथले सन् २००७ मा २७ विकेट लिएका थिए । त्यो रेकर्ड बराबरी गर्न स्टार्क सफल भएका थिए ।

जो रुटको १३ क्याच  

इंग्ल्याण्डका ब्याट्सम्यान जो रुटले फिल्डिङमार्फत विश्वकपमा सवैलाई प्रभावित पारे । उनले प्रतियोगिताभरि १३ क्याच लिँदै रेकर्ड पनि बनाए । विश्वकपको एकै संस्करणमा सर्वाधिक क्याच लिने रेकर्ड पनि हो । यसअघि सन् २००३ मा ११ क्याच लिँदै अस्ट्रेलियाका रिकी पोन्टिङले यो रेकर्ड बनाएका थिए ।

केन विलियमसनको कप्तानी पारी 

न्युजिल्याण्डका कप्तान केन विलियमसनले विश्वकपभरि ५ सय ७८ रन बनाए । यो एक विश्वकपमा एक जना कप्तानले बनाएको सर्वाधिक रन पनि हो । त्यस्तै उनी न्युजिल्याण्डकातर्फबाट विश्वकपमा सर्वाधिक धेरै रन बनाउने खेलाडी पनि बनेका थिए ।

मोर्गनको छक्का 

इंग्ल्याण्डलाई पहिलो पटक विश्व च्याम्पियन बनाउने कप्तान हुन् इयोन मोर्गन । उनको ब्याटबाट राम्रो रन बनेको थियो । अफगानिस्तानविरुद्ध मोर्गन आफैले १७ छक्का प्रहार गरेका थिए । उनले क्रिस गेलले बनाएको १६ छक्काको रेकर्ड तोडेका थिए । अफगानिस्तानविरुद्ध इंग्ल्याण्डले समग्रमा २५ छक्का प्रहार गरेको थियो ।

शाकिबको अलराउण्ड प्रदर्शन 

बंगलादेशका अलराउण्डर शाकिब अल हसनले एकै विश्वकपमा ५ सय बढी रन बनाउने र १० विकेट लिने पहिलो खेलाडीको रुपमा आफूलाई चिनाए । साथै यसअघिका विश्वकपलाई पनि जोडेर शाकिबले १ हजार बढी रन र ३० भन्दा बढी विकेट लिने पहिलो खेलाडीको रुपमा आफूलाई उभयाए । यो विश्वकपमा उनले ६०६ रन बनाएका थिए । तर शाकिब अहिले अन्तर्राष्ट्रिय क्रिकेटबाट १ वर्षलाई प्रतिबन्धमा पनि परेका छन् ।

रोहितको शतक 

भारतीय क्रिकेट टिमका ओपनर रोहित शर्माले इंग्ल्याण्डमा भएको विश्वकपको नौ पारीमा ६ सय ४८ रन बनाए । जसमा पाँच शतक र एक अर्धशतक समावेश छ । उनले विश्वकपकाे इतिहासमा पहिलो पटक विश्वकपमा ५ शतक बनाएका हुन् । यसअघि श्रीलंकाका कुमार सांगकाराले सन् २०१५ को विश्वकपमा ४ शतक बनाएका थिए ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया