नागरिक अगुवाहरु भन्छन, ‘सरकार आफ्नो नाक बचाउ ’

 साउन ५, २०७५ शनिबार १५:५६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौ - नागरिक आन्दोलनका अगुवाहरुले सरकारको आलोचना गर्दै चिकित्सा क्षेत्रको सुधारसम्बन्धी डाक्टर गोविन्द केसीका माग पुरा गर्न दबाब दिएका छन् ।

डाक्टर केसीको समर्थनमा काठमाडौमा भएको प्रदर्शनमा पूर्व प्रधानन्यायाधीश सुशिला कार्की, अधिकारकर्मी कृष्ण पहाडी, लेखक खगेन्द्र सँग्रौला लगायतले डाक्टर केसीका जायज माग पूरा नगरेर सरकारले गरिरहेको अर्घेल्याँइको विरोध गरेका हुन् । 

पूर्व प्रधान्यायाधीश कार्कीले डाक्टर केसीका माग अहिले सरकारमा रहेका दलहरुकै घोषणापत्रमा उल्लेख गरिएका विषयलाई सहयोग गर्ने खालका रहेको भन्दै सरकारले तत्काल ती माग पूरा गर्नुपर्ने बताउनुभयो ।

सरकारले अब पनि डाक्टर केसीका माग पूरा नगरे देशमा सरकारको विरोधमा आगो बल्ने चेतावनी दिंदै उहाँले त्यसलाई सरकारले थेग्न नसक्ने बताउनुभयो ।

उहाँले थप्नुभयो, ‘हाम्रा माग उठाउँदा उठाउँदै डाक्टर केसी भरे हो कि भोली भन्ने स्थितिमा पुगिसकेका छन् , सरकारले हरेक नागरिक अन्तिम अवस्थामा पुग्दा अक्सिजन दिएर बचाउनुपर्ने हो तर डाक्टर केसी मरे मरुन भने झैं गरिरहेको छ ।’ 

‘म सरकारी सेवा सुविधा लिएको मान्छे किन सडकमा आएको भन्ने तपाइहरुलाई लागेको होला, उहाँले भन्नुभयो, डाक्टर केसीको समर्थनका लागि सडकमै नआइ नहुने भएकाले आएकी हुँ ।’

आफ्नो ऐक्यवद्धतालाई सरकारको विरोध वा अरु कुनै दलको समर्थनको रुपमा नबुझ्न आग्रह गर्दै कार्कीले भन्नुभयो, ‘मैले सरकार ढलिहालोस भन्ने चाहेको होइत तर डाक्टर केसीका माग भने तत्काल पूरा गरिनुपर्छ ।’

माइतीघर मण्डलाबाट निस्किएको र्याली बानेश्वरमा पुगेर नागरिकसभामा परिणत भएको थियो ।

सभामा लेखक खगेन्द्र सँग्रौलाले यति छोटो समयमा नेपालका कुनैपनि सरकार यति धेरै बद्नाम नभएको भन्दै सरकारका आफ्नै कामले आफ्नै बदनाम गराइरहेको बताउनुभयो ।

‘सरकार दिनदिनै आफ्नो नाक आँफै ठुन्क्याइरहेको छ, अब तत्काल केसीका माग पूरा गरेर आफ्नो बचेको नाक जोगाओस र केही दिनलाई भएपनि सत्ता लम्ब्याओस्’ संग्रौलाले भन्नुभयो ।

संग्रौलाले भन्नुभयो, ‘म डाक्टर केसीको जीवन रक्षा गरिदेउ भनेर निवेदन गर्न आएको होइन, डा केसी सन्त हुनुहुन्छ, लोभ र भयभन्दा माथि हुनुहुन्छ । उहाँले भन्नुभयो, ‘उहाँ त यसै पनि अमर भैसक्नुभएको छ, म केपी ओली र पुष्पकमल दाहाललाई आफ्नो नाक जोगाउ भन्न आएको हुँ ।’

प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले आफ्नो विगत बिर्सिएको, नागरिकले कसरी आफुहरुलाई सत्तामा पुर्याए भन्ने बिर्सिएको र २ तिहाइको दम्भले नागरिक विरोधी निर्णय गर्न थालेको भन्दै उहाँले आक्रोश पोख्नुभयो ।

संग्रौलाले अहिलेको सरकारले ज्ञानेन्द्रको फौजी सरकारको झल्को दिएको पनि बताउनुभयो । उहाँले डाक्टर केसी सत्याग्रही भएको बताउँदै संग्रौलाले केसीले अघि सारेका मागहरु नेपाली समाजलाई समाजवादतिर डोहोर्याउने मागहरु भएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओली करोडौंका विलासी गाडी मगाएको र पर्यटनमन्त्री रविन्द्र अधिकारीले राणा शासकले जस्तै आफ्ना आसेपासेलाई रकम वितरणमा मस्त रहेको भन्दै आलोचना पनि गर्नुभयो । 

अधिकारकर्मी कृष्ण पहाडीले सरकारका केही निर्णय हेर्दा यो सरकार लोकतान्त्रिक र नागरिकको सरकार होइन भन्ने छनक मिल्न थालेको दावी गर्नुभयो ।

डाक्टर केसीजस्ता सत्यार्थीका माग पूरा नगर्नु, अस्पतालमा गोली चलाउनु, इन्टरनेटमा कर बढाउनु जस्ता कारणले सरकार लोकतान्त्रिक बाटोमा नहिंडेको र निरंकुश बन्न थालेको पुष्टि हुने उहाँको भनाई थियो । 

डाक्टर केसीका मागमा ऐक्यवद्धता जनाउन पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, पूर्व मन्त्री गगन थापा, अभिनेतृ मनिषा कोइराला, करिष्मा मानन्धर, लगायत विभिन्न क्षेत्रका हजारौ नागरिक सहभागी थिए । 

उनीहरुले डाक्टर केसीका माग पूरा गर्न सरकारलाई आग्रह गरेका थिए ।

डाक्टर केसी एक्ला छैनौ हामी तिम्रो साथ छौं । माफियाका ताँती सरकारका साथी, ओली सरकार कस्तो छ श्री ३ जस्तो छ, अस्पतालमा आक्रमण सरकारलाई संक्रमण, निरंकुश ओली अस्पतालमा गोली जस्ता नारा लगाएका थिए । 


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया