पाकिस्तान नियन्त्रित काश्मीरमा ६२ जनाको ज्यान गयाे, २८ बेपत्ता

 माघ १, २०७६ बुधबार १५:६:१९ | रासस
unn.prixa.net

पाकिस्तान नियन्त्रित काश्मीर क्षेत्रमा वर्षा र हिमपातसँगै भएका घटनामा परेर कम्तीमा ६२ जनाको ज्यान गएको छ । घटनाका कारण अरु ५३ जना घाइते भएका र २८ जना हराइरहेका अधिकारीहरुले मंगलबार जानकारी दिएका छन् । 

उनीहरुका अनुसार कुल ५८ ओटा घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् भने अरु ८२ ओटा घरमा पनि आंशिक क्षति भएको छ । प्रकोप व्यवस्थापन कार्यालयका अधिकारीहरुले घटनास्थलबाट थप विवरणहरु आउने क्रम जारी रहेको र खोजी तथा उद्धार कार्य पनि भइरहेको जनाएका छन् । 

देशको निलम उपत्यकामा सबैभन्दा धेरै हिमपात र वर्षाको असर परेको छ । त्यस क्षेत्रमा मात्रै ५९ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार निलम उपत्यकामा मात्रै ५३ जना घाइते भएका छन् भने ५० भन्दा बढी घरहरु क्षतिग्रस्त भएका छन् । 

हराइरहेका २८ जनाको पनि खोजी भइरहेको जनाइएको प्रकोप व्यवस्थापन कार्यालयका अहमद राजा क्वाद्रीले जानकारी दिनुभयो । उहाँले ज्यान गुमाउनेहरुको संख्या अझ बढ्न सक्ने पनि बताउनु भयो । 

काश्मीरमा कैयौँ हिउँपहिरो गएका विवरणहरू आएको उहाँको भनाइ छ । वर्षा र हिमपात भएको क्षेत्रका प्रमुख सडक र सञ्चार पूर्वाधार अवरुद्ध भएका छन् । कैयौँ मानिस विभिन्न ठाउँहरुमा फसेको जनाइएको छ ।

उक्त क्षेत्रमा विगतमा पनि बेला बेलामा प्राकृतिक विपद् आइपरिरहने भएपनि यसपटकको विपद् निकै घातक भएको छ ।  खराब मौसमले पाकिस्तानका अन्य भागमा दर्जनौँको ज्यान गएको र छिमेकी मुलुक भारत, अफगानिस्तानलगायतका देशहरुमा पनि प्रभाव परेको समाचारमा जनाइएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया