टाइगर कप भलिबलः महिला तर्फ एपीएफ र न्यू डायमन्ड विजयी, तेश्रो...
माघ १२, २०८१ शनिबार
म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको ‘स्विचयार्ड’ निर्माण शुरु भएको छ । रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरको विद्युत् गृह परिसरमा स्विचयार्ड निर्माणका लागि फाउण्डेशन तयार पार्न थालिएको आयोजनाले जनाएको छ ।
स्विचयार्डका उपकरणले विद्युत् गृहमा जेनेरेटरबाट उत्पादन भएको ऊर्जालाई प्राप्त गर्ने र प्रसारण लाइनमा आपूर्ति गराउँछ । राहुघाट जलविद्युत् आयोजनाको सिभिल महाशाखा प्रमुख रविन कट्टेलले एआइएस प्रविधिको स्विचयार्ड निर्माण गर्न लागिएको जानकारी दिनुभयो । आउँदो असार १५ गते भित्र राहुघाट निर्माण सम्पन्न गर्ने कार्ययोजनासहित निर्माणलाई तीव्रता दिएका उहाँको भनाइ छ ।
राहुघाटबाट उत्पादन हुने विद्युत् लिलो (लुप इन, लुप आउट) प्रविधिबाट दुई सय २० केभी क्षमताको कालीगण्डकी कोरिडोर दाना–कुश्मा प्रसारण लाइनमार्फत केन्द्रीय ग्रिडमा जोडिने भएको छ । चार वटा प्रसारण लाइनको टावर निर्माण भइसकेको छ ।
राहुघाट आयोजनाका टर्वाइन, जेनेरेटरका पाट्स जडान गर्ने काम भइरहेको छ । यस्तै, डिसेन्डर (पानी थिग्राउने पोखरी), पावर इन्टेक, मुख्य सुरूङलाई फिनिसिङ गर्ने र पेनस्टक पाइपलाइन जडानको काम धमाधम भइरहेको उहाँले जानकारी दिनुभयो । २०७४ सालको मङ्सिर महिनामा ठेक्का सम्झौता भएकोमा कोरोना महामारी, बाढी र पहिरोका कारण काम सम्पन्न हुन नसकेपछि ३० महिना म्याद थपिएको छ ।
कमजोर आर्थिक अवस्थाका कारण २०७२ सालमा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारूपमा राहुघाट जलविद्युत् आयोजना निर्माण अघि बढाएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।