१३औं सागमा समावेश खेलका इभेन्टहरु निर्धारण

 साउन ६, २०७५ आइतबार १९:३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – १३औं दक्षिण एशियाली खेलकुदमा समावेश खेलका इभेन्टहरु निर्धारण भएको छ । 

शनिबार बसेको दक्षिण एशियाली ओलम्पिक कमिटीको बैठकले  खेल संख्या २७ पुर्याएसँगै इभेन्टको पनि छिनोफानो गरेको हो ।
 
१३औं दक्षिण एशियाली खेलकुद आगामी फागुन २५ देखि चैत ४ गतेसम्म काठमाडौं र पोखरामा आयोजना हुनेछ ।
 
बैठकले क्रिकेट र प्याराग्लाइडिङ समावेश गरी खेल संख्या २७ पुर्याएको थियो । 

यसअघि १२औं सागमा समावेश भएको २३ खेलकाबाहेक कराते र गल्फ समावेश गर्ने निर्णय भएकोमा शनिबारको बैठकले थप २ खेल समावेश गरेको थियो । 

दक्षिण एशियाली खेलकुदमा प्याराग्लाइडिङ पहिलो पटक समावेश गरिएको हो भने क्रिकेट दोस्रो पटक समावेश गरिएको हो ।
 
यसअघि सन् २०१० मा ढाकामा भएको ११औं दक्षिण एशियाली खेलकुदमा पहिलो पटक क्रिकेट समावेश गरिएको थियो । 

त्यसपटक यू–२१ टिमबीच प्रतिस्पर्धा गराइएकोमा यसपटक ओलम्पिक टिम अर्थात यू–२३ टिमले सहभागिता जनाउनेछ । 

जसमा ३ जना सिनियर टोलीका खेलाडी राख्न पाइने व्यवस्था गरिएको छ । क्रिकेट महिला र पुरुष दुवै खेलाइनेछ ।
 
आइतबारको पत्रकार सम्मेलनमा दक्षिण एशियाली ओलम्पिक कमिटीका अध्यक्षसमेत रहेका नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालमा पछिल्लो समय असाध्यै चर्चित खेल क्रिकेट रहेको तथा शाहसिक तथा पर्यटकीय महत्वका हिसावले प्याराग्लाइडिङ सर्वसम्मत रुपमा समावेश गरिएको जानकारी दिए ।
 
बैठकले सहभागी २७ खेलका ३१५ इभेन्ट निर्धारण गरेको छ । 

जसमा स्वीमिङमा ४१, एथ्लेटिक्समा ३८, तेक्वान्दोमा ग्यारोगी र पुम्से गरी २१, करातेमा १८, जुडोमा १५ इभेन्ट समावेश गरिएका छन् ।
 
बैठकले दक्षिण एशियाली ओलम्पिक काउन्सिलको बिधान संशोधन प्रक्रिया पनि अघि बढाएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
सन् १९८४ मा बनेको काउन्सिलको बिधानलाई समयसापेक्ष परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी तथा एशियाली ओलम्पिक कमिटीको ढाँचामा बिधान संशोधनको तयारी गरिएको छ ।
 
बिधान संशोधनका लागि अगष्ट १० सम्म सुझाव संकलन गरिने र अगष्ट १९ मा इण्डोनेसियाको जाकार्तामा बस्ने काउन्सिलको बैठकले अन्तिम निर्णय लिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
 
अध्यक्ष श्रेष्ठले खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद लगायतका सरोकारवाला निकायहरुले साग गेम्सका लागि पूर्वाधार निर्माण लगायतका तयारीका लागि सक्रिय रहेका बेला प्रतियोगिता तोकिएकै मितिमा आयोजना हुनेमा शंका नगर्न अनुरोध गर्नुभयो । 
यद्यपि, भौतिक पूर्वाधारको तयारीका लागि द्रुत गतिमा काम अघि बढाउनुपर्ने उनले बताए ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया