सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
दाङ - विश्वमै कुसुण्डा भाषाका एकमात्र ज्ञाता ज्ञानीमैयाँ कुसुण्डाको निधन भएको छ । लामो समयदेखि दमले ग्रस्त दाङको लमही नगरपालिका –६ कुलमोहरकी ८२ वर्षीय कुसुण्डाको शनिबार निधन भएको हो ।
उहाँ विश्वकै एकमात्रै कुसुण्डा भाषा बोल्ने व्यक्ति हुनुहुन्छ । उहाँको निधनसँगै कुसुण्डा भाषा संरक्षणमा चिन्ता थपिएको यस भाषाका अनुसन्धानकर्ता उदय आलेले जानकारी दिनुभयो ।
‘विश्वमा उहाँमात्रै कुसुण्डा भाषा बोल्ने ब्यक्ति हुनुहुन्थ्यो’, उहाँले भन्नुभयो, ‘उहाँलाई हामीले कुसुण्डा भाषाको शब्दकोषका रुपमा समेत लिएका थियौँ, तर उहाँको निधनले कुसुण्डा भाषा संरक्षणमा चिन्ता थपिएको छ ।’
कुसुण्डा पुसको अन्तिम सातादेखि बिरामी पर्नुभएको थियो । उहाँको प्रारम्भिक उपचार लमहीस्थित फ्लोरेन्स अस्पतालमा गरिएको थियो भने थप उपचार कोहलपुर मेडिकल कलेज नेपालगञ्ज लगिएको थियो ।
उहाँको अवस्था सुधार नभएपछि उहाँलाई घरमै राखिएको थियो । त्यही क्रममा आज उहाँको निधन भएको बुहारी आशा पुनमगरले बताउनुभयो । अब दाङको लमहीमा उहाँकी काकाकी छोरी कमला कुसुण्डाले मात्रै यो भाषा बोल्न जान्नुभएको छ ।
ज्ञानीमैयाका एक मात्र छोरा प्रेमबहादुरको छ वर्षअघि करेन्ट लागेर मृत्यु भएको थियोे । उहाँका दुई छोरीको विवाह भइसकेको छ । घरमा उहाँकी बुहारीले नै हेरचाह गर्दै आउनुभएको थियो ।
कुसुन्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुन्डाका अनुसार दाङमा ९८ र देशभर २७३ जना कुसुन्डा छन् ।