चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैंडा मरे

 माघ १५, २०७६ बुधबार १५:५२:४० | रासस
unn.prixa.net

चितवन - चितवन राष्ट्रिय निकुञ्जमा मंगलबार एकै दिन दुई  गैंडा मरेका छन् ।

याेसँगै चालु आर्थिक वर्षमा प्राकृतिक कारणले मरेका गैंडाको सङ्ख्या १३ पुगेको छ । 

निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार निकुञ्जको तमासपुर क्षेत्रमा झण्डै १८/२० वर्षको पोथी गैंडा मृत अवस्थामा फेला परेको हो । अर्को एक गैंडा सुखीभार क्षेत्र नजिक मृत अवस्थामा फेला परेको थियाे । उहाँका अनुसार याे गैंडा ३० वर्षको पोथी हो । 

निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा‌‍. विजयकुमार श्रेष्ठका अनुसार तमासपुरमा भेटिएको गैंडा विषाक्त खानाका कारणले मरेको प्रारम्भिक अध्ययनमा देखिएको छ । विषाक्त घाँस खाएर गैंडा मरेको हुन सक्ने श्रेष्ठले जानकारी दिनुभयो । अर्को गैंडा मर्नाको कारण खुल्न सकेको छैन । 

गएकाे आर्थिक वर्षमा ४३ गैंडा प्राकृतिक कारणले मरेका थिए । आर्थिक वर्ष २०७४/७५ मा २६ र २०७३/७४ मा २५ गैंडा कालगतिले मरेका थिए । गैंडाको मृत्युदर उच्च भएपछि निकुञ्ज विभागले मृत्युको कारण अध्ययन गर्न समिति बनाएर काम गरिरहेको छ । 

विगत केही वर्षयता चोरी सिकारीबाट गैंडा मारिएका छैनन् तर कालगतिले मर्ने क्रम बढेपछि संरक्षणको क्षेत्रमा चिन्ता व्यक्त गरिएको छ । यसैगरी माउले छाडेका दुई बच्चालाई उद्धार गरी राष्ट्रिय प्रकृति संरक्षण कोष सौरहामा राखिएको छ ।

श्रेष्ठका अनुसार एउटा अन्दाजी तीन हप्ताको पोथी तमासपुर क्षेत्रबाट र अर्को चार महिनाको भाले बच्चा सौराहा नजिकैबाट उद्धार गरी राखिएको छ । 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया