अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मध्यपूर्व शान्ति योजना सार्वजनिक

 माघ १५, २०७६ बुधबार १६:३१:२५ | रासस
unn.prixa.net

काठमाण्डौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयदेखि अपेक्षा गरिएको मध्यपूर्व शान्ति योजना सार्वजनिक गर्दै जेरूसलेमलाई इजरायलको अविभाजित राजधानी कायम राख्ने वाचा गर्नुभएको छ । 

ट्रम्पले उहाँको मध्यपूर्व शान्ति योजना इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको उपस्थितिमा ह्वाइट हाउसमा सार्वजनिक गर्नुभएको हो। उहाँले आफ्नो योजनालाई प्यालेस्टाइनीहरूको निम्ति अन्तिम मौका पनि भन्नुभएको छ । 

शान्ति योजनाको संयुक्त घोषणा त्यतिखेर भएको छ जतिखेर ट्रम्प र नेतान्याहु दुबैले आन्तरिक राजनीतिक चुनौती बेहोरिरहेका छन् । राजनीतिक विश्लेषकहरूले योजनालाई दुबैले आफ्नो निर्वाचन अभियानमा भोट जम्मा गर्ने रणनीतिका रूपमा अर्थ्याएका छन् ।

शान्ति योजनामा इजरायलले ‘महत्वपूर्ण भौगोलिक सम्झौता’ गर्ने र प्यालेस्टिनी राज्यको इलाकालाई युद्धमार्फत इजरायलले कब्जा गरेको जेरूसेलमसहितको प्यालेष्टिनी भूमि बराबर दिने प्रस्ताव गरिएको छ ।

 झट्ट हेर्दा यसलाई आपसी सहमतिमा जमिनको सट्टापट्टा गरी इजरायल र प्यालेष्टिनीबीचको विवादलाई अन्त्य गर्ने योजनाजस्तो मान्न सकिन्छ । योजनासँगै सार्वजनिक गरिएको अवधारणात्मक नक्शाले प्यालेटिनी राज्यले दाबी गर्दै आएको भूगोललाई छुट्टाएको देख्न सकिन्छ ।

योजनामा इजरायली र प्यालेष्टिनी समुदायको बस्तीहरूलाई जोड्न दुबै पक्षले अनुकूलता अनुसार पुल, सुरूङ तथा सडक मार्ग, जसलाई ‘व्यवहारिक यातायात समाधान’ भनिएको छ  । यसो गर्दा वेस्ट ब्याङ्कको एक चौथाई जमिन रहेको जोर्डन भ्यालीमा इजरायली पक्षको सार्वभौमसत्ता कायम रहनेछ ।

सम्बोधनमा ट्रम्पले भन्नुभयो, ‘आजको सम्झौता प्यालेस्टिनीहरूलाई उनीहरूको स्वतन्त्र राज्य स्थापनाको सपना सार्थक पार्ने ऐतिहासिक अवसर हो । सत्तरी वर्षदेखि कुनै प्रगति नभएको सन्दर्भमा यो उनीहरूलाई अन्तिम मौका हुन सक्छ ।’

इजरायली नेता बेन्जामिन नेतन्याहुको यहुदी बस्ती विस्तार र जेरूसेलमलाई अविभाजित राजधानी बनाउने कडा नीतिको पक्षमा शान्ति योजना आएपछि यसले प्यालेष्टिनीहरूको आफ्नो स्वतन्त्र राज्य निर्माणको आशालाई असम्भव हुने अवस्था देखिएको छ । 

योजनालाई इजरायली प्रधानमन्त्री नेतन्याहुले ऐतिहासिक उपलब्धि भनी भन्नुभएको छ । यो प्यालेष्टाइनसँगै मध्यपूर्वका अन्य मुलुकका लागि बृहत अवसर हो । ‘यो इजरायलका लागि र मध्यपूर्वका लागि बृहत योजना हो ।’

संसारको सबैभन्दा लामो समयदेखि जारी द्वन्द्वलाई समाधान गर्न प्रस्तावित उक्त योजनाको मस्यौदा राष्ट्रपति ट्रम्पका छोरी ज्वाइँ ज्यारेड कुश्नरको अगुवाइमा भएको हो । ट्रम्पले स्वतन्त्र प्यालेस्टाइन राज्य तथा वेस्ट ब्याङ्कका बस्तीमाथि इजरायलको सार्वभौमिकता पनि प्रस्ताव गर्नुभएको छ । 

यसैबीच, अमेरिकी योजनालाई प्यालेस्टिनी प्रधानमन्त्री महमुद अब्बासले प्यालेष्टिनी समुदाय विरूद्धको ‘षडयन्त्र’ भन्दै अस्वीकार गर्नुभएको छ । ‘म ट्रम्प र नेतान्याहुलाई भन्छु । जेरूसलेम बिक्रीमा छैन । हाम्रा सबै अधिकार बिक्रीमा छैनन् न त त्यसमा लेनदेन हुन्छ । यो षडयन्त्र सफल हुँदैन’ रमल्लाहमा टेलिभिजनमार्फत सम्बोधन गर्दै उहाँले भन्नुभयो ।

मङ्गलबार गाजा क्षेत्रमा हजारौँ प्यालेस्टाइनीहरूले विरोध प्रदर्शन गरेका थिए । योजना सार्वजनिक गर्ने तयारीसँगै इजरायली सेनाले इजरायल अधिनस्थ वेस्ट ब्याङ्कमा सैन्य उपस्थिति थप बलियो पारेको छ ।

साउदी अरेबिया र इजिप्टले ट्रम्पको योजनाको स्वागत गरेका छन् । तर साउदी अरेबियाका राजा सलमानले प्यालेस्टाइनी राष्ट्रपतिलाई टेलिफोन गरेर आफ्नो देश प्यालेस्टिनी मुद्दाप्रति कटिबद्ध रहेको पनि बताएका छन् ।

इजिप्टले प्यालेस्टाइन तथा इजरायल दुवैलाई राष्ट्रपति ट्रम्पको शान्ति योजना सचेततापूर्ण विचार गर्न र वार्ता पुनः शुरु गर्न आह्वान गरेको छ । इजिप्टको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत् उक्त आह्वान गरेको छ।

तर जोर्डनले भने मध्यपूर्वमा शान्ति स्थापना गर्ने एउटै बाटो भनेको सन् १९६७ भन्दा अघिको सिमाना बमोजिम स्वतन्त्र प्यालेस्टाइन राज्यको स्थापना हो भनेको छ । इजरायलले वेस्ट ब्याङ्क तथा गाजा क्षेत्रलाई सन् १९६७ पछि कब्जा गरेको थियो ।

लेबननस्थित इरान समर्थित हेज्बोल्लाह समूहले ट्रम्पको योजनाले प्यालेस्टाइनी शरणार्थीको फिर्ता हुने अधिकार तथा प्यालेस्टाइनी जनताको भूमि अधिकार हनन गर्ने भन्दै त्यसलाई थोपर्ने प्रयास भनेको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया