तयार भयाे कर्णाली प्रदेश प्रहरी विधेयकको मस्यौदा

 माघ २०, २०७६ सोमबार १०:४०:४७ | रासस
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेश सरकारले प्रदेश प्रहरीसम्बन्धी विधेयकको मस्यौदा तयार पारेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले शुक्रबारदेखि सुरु हुने प्रदेशसभाको हिउँदे अधिवेशनको प्रारम्भमा विधेयक दर्ता गर्ने जनाएको छ । 

मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले शान्ति सुरक्षा कायम, अपराधको अनुसन्धान, रोकथाम तथा नियन्त्रण गर्न प्रदेश प्रहरीको गठन, सञ्चालन, व्यवस्थापन र नियमन गर्ने उद्देश्यले प्रदेश प्रहरी कानून ल्याउन लागेको जानकारी दिनुभयो । 

उहाँले नेपाल प्रहरीलाई प्रदेश प्रहरीमा समायोजन गर्न बनेको विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी समन्वय तथा सुपरिवेक्षण गर्न बनेको विधेयकका आधारमा मस्यौदा तयार पारिएको बताउनुभयो । 

प्रस्तावित विधेयकमा प्रदेश प्रहरी सेवामा जनपद र प्राविधिक गरी दुई समूह रहनेछन् । त्यस्तै, श्रेणी वा तह सङ्घीय कानूनको मापदण्डमा रही प्रदेश सरकारले निर्धारण गर्ने, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिवको अध्यक्षतामा रहेको समितिले प्रदेश प्रहरीको सङ्गठन, संरचना र सङ्ख्या निर्धारण गर्ने व्यवस्था गरिएको छ । 

प्रदेशको आन्तरिक शान्ति सुरक्षाको सम्बन्धमा प्रदेश प्रहरी प्रदेश सरकारप्रति उत्तरदायी हुने तथा प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले परिचालन तथा सुपरिवेक्षण गर्नेछ । 

सङ्घीय कानूनबमोजिम खटिएका नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) नै प्रदेश प्रहरी प्रमुखका रुपमा रहनेछन् । प्रदेश प्रहरीले शान्ति सुव्यवस्था कायम गर्न वा अपराध नियन्त्रणसम्बन्धी सूचना सङ्कलन गर्न गोप्य सूत्र परिचालनको व्यवस्था पनि गरेको छ । 

प्रदेश प्रहरीसम्बन्धी विधेयकको मस्यौदामा सामुदायिक, पर्यटन, विकास, ट्राफिक, सशस्त्र प्रहरीलगायतका आवश्यक संरचना गठन गर्न सकिने उल्लेख छ ।विधेयकमा कुनै पनि प्रदेश प्रहरी कर्मचारीले नियुक्ति भएको पाँच वर्षसम्म सेवा (नोकरी)  छोड्न नपाइने व्यवस्था राखिएको छ । 

नोकरी छाड्दा नेपाल सरकार तथा प्रदेश सरकारबाट स्वदेश तथा विदेशमा गराइने तालीमलगायतमा भएको खर्च रकम असुल गरिने कडा प्रावधान राखिएको छ । मन्त्रालयले विधेयक प्रदेशसभामा दर्ता भएलगत्तै प्रस्तावित मस्यौदा छलफलका लागि सुरक्षाविज्ञलगायतका सरोकारवालामाझ लैजाने बताएको छ ।
 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया