शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि १२ औं चरणका खेल

 माघ २७, २०७६ सोमबार ८:२४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सोमबारदेखि १२ औं चरणको खेल सुरु हुँदैछ । अब  सबै टिमका दुई दुई खेल बाँकी रहेकाले उपाधी होड भने रोमाञ्चक बनेको छ ।

शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मीको २६ अंक छ भने दोस्रो स्थानमा रहेको मच्छिन्द्रको २५ तथा तेस्रो स्थानमा रहेको मनाङको २२ अंक छ । यी तीन टिमबीच उपाधी होड खुला रहेको छ । अंक तालिका हेर्दा भने आर्मी र मच्छिन्द्रमध्ये एक टिमले उपाधी जित्ने सम्भावना रहेको छ । आर्मी र मच्छिन्द्र  जारी लिगकै अन्तिम खेलमा प्रतिस्पर्धा गर्ने छन् । जुन खेल फाइनल जस्तै हुने अपेक्षा गरिएको छ । 

१२ औं चरण अन्तर्गत सोमबार तीन खेल हुँदैछन् । यसअघि  हलचोक मैदानमा पनि प्रतियोगिता गराउने तयारी गरी तालिका प्रकाशन गरे पनि क्लबहरुले हलचोक मैदानमा खेल्न नमानेपछि अन्तिम खेलबाहेक सबै खेल सातदोवाटोमा हुने भएका छन् ।

पहिलो खेलमा बिहान पौने ९ बजे एपीएफ र फ्रेण्ड्स भिड्ने छन् । एपीएफ पुछारबाट दोस्रो स्थानमा छ भने फ्रेण्ड्स नवौं स्थानमा छ । यस्तै अर्को खेलमा सवा १२ बजे च्यासल र सरस्वती भिड्ने छन् । च्यासल १० औं तथा सरस्वती पुछारमा छ ।

तेस्रो खेलमा दिउँसो साढे ३ बजे संकटा र मच्छिन्द्र आमने सामने हुनेछन् । यो खेलमा मच्छिन्द्र  विजयी भए शीर्ष स्थानमा उक्लने छ भने पराजित भए उपाधी होडमा पछि पर्ने खतरा रहने छ । गएको संस्करणको उपविजेता संकटालाई पनि टप सिक्सभित्र पर्नका लागि जित आवश्यक छ ।

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया