अर्काको कापी च्यातेर आफू अगाडि हुने होइन - प्रधानमन्त्री ओली

 फागुन १०, २०७६ शनिबार २०:४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले सन्तुलित छिमेक नीति नेपालको समृद्धिको आधार भएको बताउनुभएको छ ।

शनिबार आफ्नो ‘भिजन टु एक्सन’ नामक पुस्तक सार्वजनिकरण कार्यक्रममा प्रधानमन्त्री ओलीले दुई ढुङ्गाबीचको तरुल भनेर नकारात्मक ढंगलेभन्दा पनि छिमेकीहरुबीचको सम्बन्ध सन्तुलित बनाएर समृद्धि हासिल गर्न सकिने बताउनुभयो । 

समृद्धिका लागि सन्तुलित, प्रभावकारी र उचित छिमेक सम्बन्ध तथा वैदेशिक सम्बन्ध विकास गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । दुवै छिमेकी भारत र चीनका राजनीतिक, आर्थिक र सामाजिक प्रवृत्तिमा भिन्न भएपनि उनीहरुसँगको सम्बन्धमा सन्तुलन राख्न सकिने प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो । 

विगतमा देशको यो स्थिति र यो आकारलाई नकारात्मक ढंगले बुझ्ने र त्यसैलाई दोष लगाएर बस्ने  प्रवृत्ति रहेको उहाँको भनाइ छ । ‘हामीले संसारको सबै देशलाई सन्तुलन गर्नुपरेको छैन । दुईवटा छिमेकी मिलाउने हो । यो पनि ठूलो कुरा हो र ? पारस्परिक सम्मान र लाभका आधारमा जान सक्छौँ ।’ ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले अस्वस्थ प्रतिस्पर्धालाई हटाएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको समेत बताउनुभयो । अरुलाई आफूभन्दा तल देखाएर ठूलो हुन नकिने बताउँदै उहाँले भन्नुभयो, ‘अर्काको कापी च्यातेर आफू अगाडि हुने होइन । अरुको भन्दा राम्रो लेखेर बढी नम्बर ल्याउने विद्यार्थीले उन्नति गर्छ । अरुको बिगारेर आफू सप्रिने होइन । अरुलाई पनि सप्रिन मद्दत गर्ने र आफू पनि सप्रिने बाटो हामीले लिनुपर्छ ।’ 

देशमा विकासका सबल सम्भावनाहरु रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले जस्तोसुकै संकट आएपनि नडगमगाउने अर्थतन्त्र निर्माण गर्न सकिने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले अहिलेको सरकारले एकदिनमा लगभग ६ किलोमिटर बाटो कालोपत्रे गरिरहेको बताउनुभयो । 

दुई वर्षमा साढे तीन सय पुल निर्माण भएको, उर्जा उत्पादनमा असाधारण तिव्रताका साथ वृद्धि भएको र बचतमा पनि वृद्धि भएको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया