दक्षिण कोरियामा कोरोनाको संक्रमण बढ्दो, नेपालीलाई सचेत रहन आग्रह

 फागुन ११, २०७६ आइतबार ११:५८:११ | उज्यालो सहकर्मी

काठमाण्डौ – दक्षिण कोरियामा रहेका नेपालीलाई कोरोना भाइरसबाट बच्नका लागि सचेतना अपनाउन कोरियामा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ । 

अहिले कारियामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको भन्दै धेरै प्रभावित देखिएको ठाउँ थेगु र आसपासका क्षेत्रमा रहेका नेपाली नागरिकलाई सावधानी अपनाउन दूतावासले आग्रह गरेको हो । 

दक्षिण कोरियामा शुक्रबारसम्ममा दुई सय २९ जनामा कोरोना सङ्क्रमण रहेकोमा शनिबार एकैदिन दुई सय चार जनामा थप सङ्क्रमण भएर सङ्क्रमितको संख्या चार सय ३३ पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले जनाएको छ । कोरियमा कोरोनाको सङ्क्रमणबाट दुई जनाको ज्यान गइसकेको छ ।

दक्षिण कोरियाका स्वास्थ्य उपमन्त्री किम गा लिपले कोरोना भाइरसको प्रकोप गम्भीर चरणमा प्रवेश गरेको बताउनुभएको छ् । डाएगु र चेओङ्डोलाई विशेष हेरचाह क्षेत्र घोषणा गरिएको छ । डाएगुका सडकमा मानिसहरु निस्कन छाडेका छन् ।

त्यस्तै, कोरोना भाइरसको सङ्क्रमण भएको शंका लागेमा दक्षिण कोरियामा अवैधानिक रुपमा बसेका नेपाली नागरिकले समेत  सार्वजनिक स्वास्थ्य क्षेत्रमा गएर जाँच गर्न  र उपचार गराउन सक्ने छन् । अवैधानिक हैसियतमा बसेको भए पनि जाँच गर्दा वा उपचार गर्दा कानुनी हैसितबारे नसोध्ने, पक्राउ नगर्ने र स्वदेश फर्काउने छैन । 

कोेरियाको अध्यागमन विभागले अस्पताललाई बिरामीको कानुनी अवस्थाबारे नसोध्न पत्राचार गरिसकेकोले ढुक्क भएर जाँच र उपचार गराउन दूतावासले अनुरोध गरेको छ । 

बच्न के गर्ने ?

अहिलेसम्म यो भाइरसको कुनै उपचार पत्ता लागेको छैन । यो भाइरसले आक्रमण गर्नुभन्दा पहिला नै यसबारे सतर्क हुनु नै यसबाट बच्ने उपाय हो । त्यसैले तपाईं रहेको ठाउँमा यो भाइरसको सङ्क्रमण बढिरहेको छ भने सबैभन्दा पहिला त आफैं सचेत हुनुपर्छ ।

यो भाइरसबाट बच्न यो भाइरसको सङ्क्रमण भएका मानिसबाट टाढै रहने महत्त्वपूर्ण उपाय हो । त्यसका साथै मास्कको प्रयोग गर्ने, नचिनेका मानिससँग कुरा गर्दा अलि परै बस्ने, हातले आँखा, मुख र नाक नछुने, बेलाबेलामा राम्रोसँग साबुन पानीले हात धोइरहने गर्नुपर्छ ।

रुघाखोकी लाग्नेबित्तिकै प्रशस्त मात्रामा झोलिलो खानेकुरा खाने, पर्याप्त मात्रामा आराम गर्ने र चिकित्सकको सल्लाहअनुसार रोकथाम गर्ने औषधि खानुपर्छ । 

यस्तै, नियमित व्यायाम गर्न र भीडभाडमा आवश्यक परेको खण्डमा मात्र जाने र अस्वस्थ महसुस भए तत्काल अस्पताल गएर जाँच गराउनुपर्छ । यसरी सतर्कता अपनाउँदा भाइरसले सङ्क्रमण गर्ने जोखिम पनि कम हुन्छ ।

रुघा लाग्नु, टाउको दुख्नु, खोकी लाग्नु, घाँटी दुख्नु, अत्याधिक ज्वरो आउनु, श्वासप्रश्वासमा समस्या हुनु र अस्वस्थ महसुस हुनु कोरोना भाइरसका लक्षणहरु हुन् । तर सामान्य रुघाखोकी लाग्दैमा आत्तिन नपर्ने र तर सचेत भने हुनुपर्ने डाक्टरहरु बताउँछन् ।

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया