बीमा दाबीकाे भुक्तानी समयमा नगर्ने बीमा कम्पनीलाई कारबाही गरिने

 फागुन ११, २०७६ आइतबार १३:११:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले बीमा दाबीकाे भुक्तानी समयमा नगर्ने बीमा कम्पनीलाई कारबाही गरिने बताउनुभएको छ । 

राष्ट्रिय बीमा संस्थानको ५३औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थ मन्त्री खतिवडाले बीमा कम्पनीहरुले दाबी भुक्तानी समयमा नगर्ने भएकाले बिमितहरु समस्यामा पर्ने गरेकाे उल्लेख गर्नुभयाे । अबदेखि समयमै भुक्तानी नगर्ने कम्पनीलाई नियामक निकायले कारबाही गर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, 'आफूले गरेको बीमाको रकम तिर्नुभएन तपाईँहरुलाई बीमा गर्ने संस्थाले कारबाही गर्छ । यस्तो पनि हुन्छ हामीकहाँ, बीमा गर्‍यो समयमा भुक्तानी पाउन गाह्रो, दश थरी प्रमाण जुटाउन पर्‍यो । अहिलेको प्रविधिको युगमा हामी उच्च प्रविधिको प्रयोग गरेर हरेक किसिमका दुर्घटनाहरुको विवरण लिने र अल्मोष्ट रियलटाइम, तत्कालै सुविधा दिन सक्ने क्षतिपूर्ति दिन सक्ने बिमितको रकम फिर्ता दिन सक्ने यो व्यवस्थामा गइएन भने हामीले जतिसुकै संस्था विस्तार गरे पनि बीमाको विस्तार हुँदैन । हामीले छिट्टो तरिकाले पाउने भुक्तानी दिने विधिमा जानुपर्छ ।’

अर्थ मन्त्री खतिवडाले बीमा कम्पनीहरुले ठूलाठूला ग्राहक खोज्ने ठूलाठूला कारोबार मात्रै गर्ने सानातिना बीमा गर्नुपर्ने व्यवसायलाई हेर्दै नहेर्ने प्रवृत्तिकाे अन्त्य गर्न समेत आग्रह गर्नुभयो । त्यसका लागि आफूले गरेको कुल कारोबारको ५ प्रतिशत बीमा लघुबीमा गरेको हुनुपर्ने व्यवस्था गरिएको समेत बताउनुभयो ।

सरकारले विपन्न वर्गका नागरिकलाई स्वास्थ्य बीमाकाे पहुँचमा पुर्‍याउन एक लाख सम्मको बीमाको प्रिमियम निःशुल्क गरेको र गएकाे वर्ष दुई अर्ब रकम खर्च गरेकाले बीमा कम्पनीहरुलाई पनि त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो । अर्थ मन्त्री खतिवडाले अलि धेरै कमाउनेबाट कर बढी उठाएर भए पनि गरिबीको रेखामुनि रहेका नागरिकको बीमा गरिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अर्थ मन्त्रीको काम कर उठाउने र पुर्नवितरण गर्ने हो । तपाईँहरुले दिनुभएन भने तिनीहरुको उत्थान चाहिँ कसले गरिदिने, हामीले नगरे कसले गर्ने हाे ? त्यसो हुनाले करको विषयमा म अलि कठोरै छु साथीहरु यो बुझिदिनु हाेला ।’

कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले बीमा कम्पनीहरुले सबै क्षेत्रको जोखिम बोक्ने भएकाले बीमा क्षेत्रमा संस्थागत सुशासन र जोखिम व्यवस्थापन सबैभन्दा महत्वपूर्ण हुने बताउनुभयो । त्यसका लागि बीमा समितिले सबै पूर्वाधारहरु तयार गगरिसकेको र आउँदाे आर्थिक वर्षको सुरुदेखि नै जोखिममा आधारित सुपरिवेक्षण र जोखिममा आधारित पुँजीलाई कार्यान्वयनमा ल्याउने बताउनुभयो ।

उहाँले बीमा कम्पनीहरुको जोखिम पहिचान गरिसकेको र आगामी दिनमा बीमा सल्भेन्सी १ः१.५ को अनुपातमा तुलना गरेर सबैभन्दा बढी जोखिम हुने कम्पनीको पुँजी बढाउने या कारोबारमा रोक लगाउने विकल्पमा जाने बताउनुभयो ।

अध्यक्ष चापागाईँले राष्ट्रिय बीमा संस्थान लगायत राष्ट्रिय बीमा कम्पनीको लामो समयदेखिको लेखापरीक्षण सम्पन्न हुन नसकेको र यसलाई छिटोभन्दा छिटो सम्पन्न गर्न समेत निर्देशन दिनुभयो । उहाँले सरकारको स्वामित्व भएको बीमा कम्पनी भएकाले पनि संस्थागत सुशासनलाई सुधार गरी व्यवसाय विस्तारका लागि आफ्नो उपस्थितिलाई वृद्धि गर्न सुझाव दिनुभयो । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया