उद्याेग वाणिज्य महासंघकाे वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालकाे उम्मेदवारी घाेषणा

 फागुन १४, २०७६ बुधबार १४:२७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने हुनुभएकाे छ । 

अनौपचारिक रुपमा यस अघि नै उम्मेदवारी घोषणा गर्नुभएका ढकालले बुधबार काठमाण्डौमा एक कार्यक्रम गरी उम्मेदवारीकाे औपचारिक घोषणा गर्नुभएको हो । उहाँले आफ्नो उम्मेदवारी देशमा औद्योगिक वातावरण निर्माण गर्न, विदेशी लगानी भित्र्याउन, नयाँ प्रविधि भित्र्याउन र निजी क्षेत्रको सृजनात्मक भूमिका बढाएर व्यवसायिक हकहित र अधिकारका लागि सरकारसँग लबिङ गर्न भएको बताउनुभयो ।

‘समृद्धिको आधार राज्य निजी क्षेत्र साझेदार’ मूल नारा सहित उम्मेदवारी घोषणा गरेको उल्लेख गर्दै उपाध्यक्ष ढकालले राज्यले निजी क्षेत्रसँग जति धेरै सहकार्य गर्‍यो त्यतिनै देशको आर्थिक विकास सम्भव रहेको बताउनुभयो । 

उहाँले तीन खम्बे अर्थनीतिको प्रमुख खम्बाका रुपमा रहेको निजी क्षेत्रलाई सबैभन्दा सशक्त सबल खम्बाको रुपमा स्थापित गर्न, तीव्र आर्थिक विकास र सुशासन सहितको उत्तरदायी राज्य व्यवस्थामा सघाउन उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वमा रहेर पैरवी गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

ढकालले सरकारले लिएका करका नीति र कर प्रणालीमा देखिएको दुविधा, भीसीटीएस र अनिवार्य प्यान नम्बरका कारण साना उद्योग तथा व्यवसायहरु समस्यामा परेको बताउनुभयो ।

उहाँले भावी अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा व्यावसायिक र गतिशील समूह बन्ने र त्यसले उद्योग वाणिज्यको क्षेत्रमा सरकारसँग, नीतिगत छलफलको क्षेत्रमा सकारात्मक नतिजा आउनेगरी काम गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया