दलित भनेर विद्यालयले भर्ना नलिएपछि...

 जेठ ११, २०७५ शुक्रबार १४:५३:४२ | रासस
unn.prixa.net

झापा, जेठ ११ – दलित विद्यार्थी भर्ना लिन नमानेपछि झापाको भद्रपुरमा सञ्चालित एक गुरुकूलका अध्यक्ष र प्राचार्यविरुद्ध मुद्दा दर्ता गरिएको छ । 

भद्रपुर–६ मा सञ्चालित कृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रममा दलित विद्यार्थी भर्ना गर्न नमानेपछि गुरुकूलका अध्यक्ष राजेन्द्र चापागाईं र प्राचार्य राजन तिवारीविरुद्ध जातीय छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन—२०६८ बमोजिम कारबाहीको माग गर्दै बिहीबार मुद्दा दायर गरिएको हो । 

“जातीय विभेद गर्ने गुरुकूलका अध्यक्ष र प्राचार्यलाई कारबाहीको माग गर्दै मुद्दा दर्ता गरेका छौँ”, उत्पीडित अधिकार मञ्च झापाका सचिव सागर पोर्तेलले भन्नुभयो, “झापाकै अन्य गुरुकूलमा दलित विद्यार्थी राम्ररी अध्ययन गरिरहेका छन्, तर यहाँ विभेद गरियो ।” 

दलित विद्यार्थी भर्ना नलिएपछि जिल्लाका दलित अधिकारकर्मीले एकसातादेखि पाठशालामा तालाबन्दी गरेका छन् । इलाम नगरपालिका–५, बरबोटेका विकास कार्कीढली (दर्जी) लाई गुरुकूलले भर्ना लिन नमानेपछि दलित अधिकारकर्मीको टोलीले तालाबन्दी गरेको थियो । 

दलितले जुनसुकै विद्यालय र संस्कृत पाठशालामा पढ्न पाउने नैसर्गिक अधिकारलाई पाठशालाले उल्लंघन गरेको नेपाल राष्ट्रिय उत्पीडित विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष टीकाराम मंग्रातीले बताउनुभयो । उहाँले भन्नुभयो, “विभेद गर्ने पाठशालालाई कारबाहीका लागि सम्बद्ध निकायसँग माग गरेका छौँ ।” 

गुरुकूलले दलित विद्यार्थीलाई भर्ना लिन नमानेपछि समस्या समाधानका लागि छलफल गरेपनि निष्कर्षमा पुग्न सकेको छैन । उता, प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले दलित विद्यार्थीलाई दुई दिनभित्र आवासीयरुपमा भर्ना गर्न निर्देशन दिए पनि गुरुकूलले त्यसलाई बेवास्ता गरेको छ । रासस

 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया