कर बढाएकाे विराेधमा विदुर नगरपालिकामा तोडफोड, चार घाइते

 साउन १०, २०७५ बिहिबार १७:१२:२३ | नवदीप अजनबी
unn.prixa.net

नुवाकोट – नुवाकोटको विदुर नगरपालिकाले बढाएको करको विरुद्ध नेपाली कांग्रेसले गरेको प्रदर्शनमा बिहीबार प्रदर्शनकारीको ढुंगा प्रहारबाट चार जना घाइते भएका छन् ।

चालु आर्थिक वर्षदेखि विदुर नगरपालिकाले एकिकृत सम्पत्ति कर लागू गरेपछि रकम धेरै भएको भन्दै कर फिर्ताको काम गर्दै नेपाली कांग्रेसका भातृसंगठनहरुले गरेको नगरपालिका घेराउ कार्यक्रममा तीन प्रहरी र एक कर्मचारी घाइते भएका हुन् । 

नगरपालिका घेराउ गर्नेमा नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ लगायत छन् ।  

प्रदर्शनकारीको आक्रमणबाट प्रहरी जवान जितु पावे, प्रहरी जवान गोविन्द थापा र प्रहरी हवल्दार दिनेश साह कानु घाइते भएका छन् । 

घाइते जितु पाबेको टाउकोमा ५ वटा टाँका लगाइएको छ । अन्य दुईको हात र छातीमा चोट लागेको छ । 

विदुर नगरपालिका नगर प्रहरी इन्चार्ज शुक्रमान श्रेष्ठ पनि प्रदर्शनकारीको ढुंगाले लागेर सामान्य घाइते हुनुभएको छ ।

प्रदर्शनकारीले ढुंगा प्रहार गरी २ वटा टिपर, एउटा स्कर्पियो जीप, एउटा ल्याण्डक्रुजरका साथै एउटा फोहोर बोक्ने गाडी र २ वटा मोटरसाइकल तोडफोड गरेका छन् ।

उनीहरुले कार्यालयको झ्यालका सिसाहरु समेत तोडफोड गरेको विदुर नगरपालिकाका कार्यक्रम अधिकृत पुष्कर शर्मा रिमालले जानकारी दिनुभयो ।

तोडफोडबाट के कति रकमको बराबरको क्षति भयो भन्ने निक्र्यौल गर्न समिति बनाएर मूल्यांकन गरिने अधिकृत रिमालले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति ध्रुव अधिकारीको नेतृत्वमा कर घटाउन माग गर्दै भएको प्रदर्शन शान्तिपूर्ण भनिए पनि नगरपालिकाको कार्यालयमा प्रवेश गर्नेक्रममा प्रहरीले प्रदर्शनकारीलाई रोक्ने क्रममा तोडफोड भएको थियो । 

महंगी, मूल्यवृद्धि र सरकारको सर्वसत्तावाद विरुद्ध भन्दै जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका प्रदर्शनकारीहरु प्रशासन घेराउपछि विदुर नगरपालिकाले बढाएको करको दर फिर्ताको माग गर्दै नगरपालिका कार्यालय घेर्न पुगेको थियो । 

विदुर नगरपालिकाले चालु आर्थिक वर्षदेखि एकिकृत सम्पत्ति कर लगाएको छ । एकिकृत सम्पत्ति कर लागु भए पछि गत वर्षहरुमा तिरिरहेको कर भन्दा यो वर्ष एक १५ गुणा भन्दा बढी तिर्न पर्ने भएपछि नेपाली कांग्रेसले कर फिर्ताको माग गर्दै आन्दोलन गरेको हो । 

यता, विदुर नगरपालिकाले नगर सभाले पारित गरेको नीतिलाई तत्काल परिवर्तन गर्न नसकिने जनाउँदै आएको छ । 

विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले २०७१ सालको नगरपरिषदबाट पारित भएको करको दरलाई अहिले लागू गरिएको बताउनुभयो । 

‘पहिले कर्मचारीहरुले कर निर्धारण गरेर पनि उठाएनन् । अहिले हामीले नगरसभाबाट निर्णय गरेर उठाउन खोजेका हौं’ मेयर पण्डितले भन्नुभयो ‘अहिले विरोध गरिरहेका वडाअध्यक्षहरुले नगरसभाको निर्णयमा हस्ताक्षर गरेका छन् ।’

वडा कार्यालयको सिफारिसमा नगरपालिकाले सम्पत्तिको मूल्यांकन बढाएको कारण केही कर बढेको देखिएको नगरप्रमुख पण्डितले बताउनुभयो । 

करको विरोध गर्दै आएका विदुर नगरपालिका वडा नं. १० का वडाअध्यक्ष गणेशकुमार नेपालले सम्पत्तिको मूल्यांकन बढाएपनि कर नबढाउने सहमति विपरित नगरपालिकाले कर बढाएको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

नवदीप अजनबी

नुवाकोटका पत्रकार नवदीप अजनबी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया