कोरोना सङ्क्रमितको उपचारको लागि रुकुममा तयार भयो अस्थायी अस्पताल

 चैत २२, २०७६ शनिबार १३:१६:६ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – कोरोना भाइरस (काेभिड १९) सङ्क्रमित बिरामीको उपचारका लागि रुकुम पश्चिमको चौरजहारीमा अस्थायी अस्पताल निर्माण गरिएको छ ।

कर्णाली प्रदेश सरकारको सहयोगमा चौरजहारी अस्पतालले उक्त अस्पतालको तयारी पूरा गरेको हाे । अस्पतालले चौरजहारी नगरपालिका–२ मा रहेकाे  शीतल माध्यमिक विद्यालयमा र चौरजहारी अस्पतालमा कोरोना अस्थायी अस्पताल निर्माण गरेको हो।

१५ देखि २० जना बिरामीहरुको उपचार गराउन सकिने गरी विद्यालयमा र जटिल अवस्था भएका बिरामीहरुका लागि चौरजहारी अस्पतालमा ४ शय्याकाे आइसोलेसन वार्ड तयार गरेको अस्पतालका प्रशासकीय प्रमुख डिलबहादुर गिरीले बताउनुभयो ।

उहाँका अनुसार, आइसोलेसनका लागि आवश्यक केही उपकरण प्रदेश सरकारबाट प्राप्त भएको र केही जुटाउने काम भैरहेको छ ।

तत्कालका लागि केही सामाग्री व्यवस्थापन गरिए पनि अस्पतालसँग कोरोना जाँचको लागि आवश्यक किट र उपकरण भने छैन । आइसोलेश अस्पताल सञ्चालनका लागि प्रदेश सरकारले ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । याे रकम प्रर्याप्त नभएता पनि आफ्नाे तर्फबाट व्यवस्थापन गर्न आफू लागिपरेकाे अस्पतालले जनाएको छ ।

अस्पतालले छुट्टै आइसोलेशन् भवन र स्वास्थ्यकर्मीहरु तयार गरेको जनाएको छ । विशेष अस्पतालमा खटिएका  स्वास्थ्यकर्मीले पनि १४ दिन क्वरेन्टीनमा बस्नुपर्ने प्रशासक गिरीले बताउनुभयो ।

चौरजहारी नगरपालिका र चौरजहारी अस्पतालले कोरोना भाइरसबाट बच्नको लागि आफ्नो नगर क्षेत्रमा विभिन्न जनचेतनामूलक कार्यक्रम तथा प्रचार गर्दै आएको छ ।   गाउँ–गाउँमा प्रचा पप्पलेट बाँड्नुका साथै माइकिङ गर्ने काम भएकाे छ ।

यस्तै चौरजहारी नगरपालिकाले यस अघि नै क्वरेन्टीन निर्माण गरी सञ्चालन गरिरहेको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया