लोप हुँदै मसकबिन बाजा

 साउन १२, २०७५ शनिबार १४:०:० | उज्यालो सहकर्मी
unn.prixa.net

बैतडी – कुनै समय विवाह, व्रतबन्ध पार्टी र विशेष समारोहलगायतका अन्य शुभकार्यमा धेरै माग हुने मसकबिन बाजा पछिल्लो समयमा लोप हुँदै गएको छ ।

विदेशी बाजाहरुको माग र पछिल्लो पुस्ताको विदेशी बाजाप्रतिको आकर्षणले गर्दा मसकबिन बाजा लोप हुँदै गएको हो । टाढाबाट पनि स्पष्ट रुपमा सुनिने यो बाजामा परम्परागत भाका र देवीदेवताका गाथाहरु झल्कने धुनहरु मनै लोभ्याउने गरी बजाइन्थ्यो । अहिले मसकबिन बाजा धेरै कम मात्रामा पाइने गरेको दोगडाकेदारका गोर्कण जोशीले बताउनुभयो ।

 

‘पञ्चैबाजासित मसक बाजा बजाउँदाको आनन्द छुट्टै हुन्थ्यो अहिले बजाउने मान्छे पनि पाउन मुश्किल भएको छ,’ उहाँले भन्नुभयो । सुर्नया–२, का मोहनबहादुर बिष्टको भनाई पनि त्यस्तै छ । उहाँ भन्नुहुन्छ, ‘पछिल्लो समयमा हाम्रो परम्परागत मसकबिन बाजा र संस्कृतिको नै लोप भइरहेको छ ।’ 

पहिले सानो कार्यमा पनि मसकबिन बाजाको माग हुने गरे पनि अहिले त्यो बाजाप्रति कसैको ध्यान नगएको उहाँले गुनासो गर्नुभयो । त्यस्तै कक्षा ८ मा पढ्ने बेलादेखि अहिलेसम्म मसकबिन बाजा बजाइरहेका दोगडाकेदार १ रीमका २४ वर्षीय अमरराम सार्कीले पनि सरकारले यो बाजाको संरक्षणमा ध्यान दिनुपर्ने बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, ‘मलाइ यो बाजा अति नै मन पर्छ । बाजा बजाएको सुनेपछि भावुक हुन्छु । त्यसैले मैले यो बाजा बजाउन सिकेको हुँ ।’ अझै पनि यो बाजोको संरक्षण र संवद्र्धधनमा लाग्ने उहाँले बताउनुभयो । आफूले स्कुल पढेदेखि नै बाजा बजाउन सिकेको सार्की बताउनुहुन्छ । अहिले अरु साथीहरुलाइ पनि बाजा बजाउन सिकाइरहेको सार्कीले बताउनुभयो । 

पछिल्लो समयमा विदेशी बाजाहरुको प्रभावका कारण नेपाली परम्परागत बाजा लोप हुँदै गएको सार्कीको अनुभव छ । सरकारले स्वदेशी बाजाहरुको संरक्षण र संवद्र्धनमा लाग्नेहरुलाई प्रोत्साहन गर्नुपर्ने उहाँले बताउनुभयो । आफूले यो बाजा बजाएर नाम र दाम पनि कमाइरहेको सार्की बताउनुहुन्छ  ।  विवाह र चाडवाडहरुमा यो बाजाको माग धेरै हुने गरेको छ । ठूला समारोहमा यो बाजाएर सुनाउन पाउँदा आनन्द हुने गरेको सार्की बताउनुहुन्छ ।

‘एकपटक आफूले पढेको स्कुलको समारोहमा बाजा बजाउने मौका पाएको थिए, त्यो दिन मेरो लागि एकदमै खुशीको  दिन भयो र त्यही दिनबाट यो बाजाप्रति झनै सद्भाव बढ्यो’, सार्कीले आफ्नो अनुभव सुनाउनुभयो । दोगडाकेदार ३ श्रीकोटका गणेशराम भुल पनि २१ वर्षको उमेरदेखि नै बाजा बजाइरहेको बताउनुहुन्छ । बाजाकै मोहका कारण उहाँले त्यो बाजा भारतको मेरठ गएर ल्याउनुभयो । 

‘पहिला यो बाजा बजाउने मान्छे धेरै हुन्थ्ये’, उहाँ भन्नुहुन्छ, ‘अहिले औँलामा गन्ने मान्छेले मात्र यो बाजा बजाउने गर्छन् ।’ बाजा बजाएरै उहाँले १३ जनाको परिवार पाल्नुभएको छ । मसकबिन बाजा खास गरी दलित समुदायले मात्रै बजाउनुपर्छ भन्ने धारणा रहे पनि जुनसुकै समुदायले पनि बजाउन सक्ने गणेशरामको तर्क छ । ‘यो बाजा भगवान कृष्णको बाजा हो, जसले पनि बजाउन सक्छ’, गणेशरामले थप्नुभयो ।

मसकबिन बाजा बजाउँदा आफू खुशी नै भएको र बाजाप्रतिको मोहका कारण आफूले बाजा बजाउन रोजेको उहाँले बताउनुभयो । गणेश पनि बाजा संरक्षणमा सरकारले ध्यान दिनुपर्ने बताउनुहुन्छ । ‘लोप हुन लागेको संस्कृति संरक्षणमा लाग्नेहरुलाई स्थानीय सरकाले प्रोत्साहन गर्नुपर्छ’, गणेशले भन्नुभयो, ‘मलाई त बाजाले नाम र दाम पनि दिएको छ ।’  

कुनै समय गाँउघरमा गुन्जिरहने मसकबिन बाजाहरु पछिल्लो समयमा कम गुञ्जिरहेका छन । यी बाजाहरुको संरक्षणमा लाग्नु हाम्रो पनि दायित्व रहेको शिक्षक नारद अवस्थीले बताउनुभयो । परम्परागत संस्कुतिको संरक्षणमा  जोड दिनुपर्नेमा स्थानीय बुद्धिजिवीहरुको धारण रहेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

1 Comments

  • Ram Prasad Kadel

    July 28, 2018, 2:59 p.m.

    असल कार्य हो, बाजा र बाजा बजाउनेको संरक्षण भए नेपाली संगीत संस्कृति नास हुँदैन / समुदाय आफैले पनि यो बाजाको प्रवर्द्धनमा सहयोगी हुनुपर्यो /यो बाजाको बारे थप जानकारी चाहिए नेपाली लोक बाजा संग्रहालय, त्रिपुरेश्वरमा सम्पर्क राख्नुहोला /

  •  0 Reply

तपाईको प्रतिक्रिया