देशभरका १० ठाउँमा कोरोनाको नमुना परीक्षण गरिने

 चैत २४, २०७६ सोमबार २०:४०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले देशभरका विभिन्न १० ठाउँबाट कोरोना भाइरस (कोभिड-१९) को नमुना परीक्षण सुरु गरेको छ । काठमाण्डौसहित धरान, हेटौंडा, पोखरा, वुटवल, सुर्खेत, धनगढी, धुलिखेल, भरतपुर र भैरहवामा नमुना परीक्षण सुरु गरिएको हो । 

अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ हजार ६ सय ९७ जनाको नमुना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार काठमाण्डौ उपत्यकामा १२ सहित १ सय ७ जना आइसोलेसनमा रहेका छन् । 

देशभरी ९ हजार १ सय ६८ जना क्वरेन्टीनमा रहेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताउनुभयो । प्रवक्ता देवकोटाले राष्ट्रिय एम्बुलेन्स सेवा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाण्डौ महानगरपालिकाबीच १० वटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने विषयमा सम्झौता समेत भएको छ ।

राष्ट्रिय एम्बुलेन्स सेवाका ५, मन्त्रालयका ४ र महानगरका १ सहित १० वटा एम्बुलेन्स तयारी अवस्थामा रहनेछन् । यसैगरी नेपाल मेडिकल काउन्सिलसहितको टोलीले उपत्यकाका विभिन्न अस्पलताको अनुगमन गरेको छ । 

वीर अस्पताल, ट्रमा सेन्टर, टिचिङ अस्पताल, सिभिल अस्पताल र काठमाण्डौ मेडिकल कलेजमा अनुगमन गरिएको हो । कोरोना भाइरससँग सम्बन्धित सेवाहरु, जनशक्तिका विषयमा अनुगमन गरिएको प्रवक्ता देवकोटाले बताउनुभयो । 

सरकारले सातवटै प्रदेशमा स्वास्थ्य मन्त्रालय अन्तर्गत ११ औं तहका कर्मचारीको नेतृत्वमा जनशक्ति परिचालन गरी आवश्यक जनशक्ति पहिचान गर्न निर्देशन पनि दिइएको छ ।

 प्रदेशमा भएको जनशक्तिको अवस्थाका विषयमा प्रतिवेदन तयार गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया