साउदीमा अलपत्र नेपालीको अवस्था थप नाजुक

 साउन १२, २०७५ शनिबार १८:१७:२ | उज्यालो सहकर्मी

खाेटाङ – उद्धार हुन नसक्दा साउदी अरबमा अलपत्र नेपालीको अवस्था थप नाजुक बन्दै गएको छ ।

सम्झौता अनुसारको काम र दाम नपाएपछि गएको असार ३२ गते सडकमा निकालिएका ३६ नेपालीको अवस्था नाजुक बन्दै गएको हो । सोनमार कन्ट्रक्टिङ ट्रेडिङ एडभरटाइजिङ एण्ड एडभरटाइजिङ कम्पनीमा क्याट्रिङको कामका लागि भन्दै २०७४ साल फागुन १ गते साउदीअरब पुगेका ३८ मध्ये ३६ नेपाली अहिले उद्धारको प्रतिक्षामा बसिरहेका छन् ।

एक रात सडकमा बिताएका ३८ मध्ये ३६ नेपालीसहित भारत र पाकिस्तानका कामदारलाई बिना जानकारी साउन १ गते राति दम्मामको टुक्बा पूर्वीक्षेत्रमा पुर्‍याइएको छ । ३८ मध्ये दुई जनालाई भने छुटाएर कुबेतको बोर्डरमा लगिएको पीडितहरुले बताएका छन् । 

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज, गुरुङ तमोधी, मधेसी संस्था, नेपाल एनबीसी, एनआरएन साउदी अरबलगायतले खाना पकाएर खाने व्यवस्था मिलाइदिए पनि दिनचर्य अन्यौलपूर्ण बनेको अलपत्रमध्येका केशब खड्काले बताउनुभयो । 

क्याट्रिङको कामका लागि भन्दै उनीहरु जनही १ लाख २५ हजारदेखि १ लाख ५० हजार रुपैयाँ बुझाएर काठमाडौंको चावहिल मित्रपार्कस्थित इम्पावर ओभरसिज प्रालिबाट साउदी पुगेका थिए ।

असार ३२ गतेका दिन ड्यूटी नगएकामा कम्पनीले झोला, कपडालगायत बन्दोबस्तीका सामग्री सडकमै निकालिदिएको सुरक्षित आप्रवासन परियोजना सामीको दिक्तेलस्थित सूचना केन्द्रकी सहायक परामर्शकर्ता बुनादेवी बिश्वकर्माले बताउनुभयो ।

अहिलेसम्म उनीहरुले जनही ९०० रियल मात्र तलब पाएको बताएका छन् । क्याट्रिङ, सप्लाईको नाम गर्दै अन्तिममा क्लिनिङको काममा लगाएको खड्काले बताउनुभयो । साउदी अरबस्थित नेपाली दूताबासले समेत अलपत्र नेपालीको उद्धारमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको पीडितको आरोप छ । 
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया