होटल व्यवसायीले भने- ११ लाख श्रमिकको जिम्मा सरकारले पनि लिनुपर्छ

 चैत २८, २०७६ शुक्रबार १४:१३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – होटल व्यवसायीले यस क्षेत्रमा काम गर्ने ११ लाख मजदुरको जिम्मा सरकारले पनि लिनुपर्ने बताएका छन् । 

कोरोनाको कारण होटल व्यवसाय चौपट हुँदा कामदारलाई तलब दिन समस्या भएको भन्दै उनीहरुले सरकारले पनि हेर्नुपर्ने बताएका हुन् ।

अहिलेको जटिल र भयावह अवस्थामा राज्यबाट उपलब्ध गराइने भनिएका राहत तथा सेवा सुविधा पनि पर्यटनमैत्री हुन नसकेकोमा व्यवसायीहरुले दुःख व्यक्त गरेका छन् ।

देशकै मेरुदण्डको रुपमा रही अर्बौको राजस्व तथा विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत र जीडीपीमासमेत कम्तीमा पनि ८ प्रतिशतको योगदान गरिरहेको होटल व्यवसायीहरुको दावी छ । 

अहिलेको कठिन अवस्थामा होटल उद्योगलाई संरक्षण गर्दै अर्थतन्त्रलाई चलायमान बनाउनु सरकारको पनि दायित्व रहेको व्यवसायीले बताएका छन् । 

होटल उद्योगमा आश्रित श्रमिक तथा कर्मचारीहरुको पारिश्रमिक व्यवस्थापनलाई मुठिभरका होटल प्रतिष्ठानहरुले मात्र सम्बोधन गर्न नसक्ने हुँदा ती श्रमिक तथा कर्मचारीको जिम्मा सरकारले पनि लिनुपर्ने होटल व्यवसायीको जिकिर रहेको छ । 

यदि यसो हुन नसकेमा यस विषम परिस्थितिबाट होटल उद्योग नै धरासायी हुँदै बन्द भइ रोजगारीमा समेत प्रतिकूल असर परेर रोजगारी गुम्न जाने हुँदा यसतर्फ सरकारको ध्यान नगएको व्यवसायीको गुनासो छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया