कोरोना सङ्क्रमण भएपछि निकाे हुन कति समय लाग्छ ?

 बैशाख ७, २०७७ आइतबार १२:२६:१९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – कोभिड १९ महामारी सन् २०१९ को अन्त्यतिर सुरु भए पनि केही बिरामीहरु पूर्णरुपमा निकाे हुन लामो समयसम्म लाग्ने सङ्केत देखिएको छ । कोरोना भाइरसको सङ्क्रमणपछि ठिक हुन लाग्ने समय तपाईँ कुन हदसम्म बिरामी हुनुभएको थियो भन्ने कुरामा निर्भर रहन्छ ।

केही सङ्क्रमित छोटो समयमा नै निको हुन्छन् भने केही सङ्क्रमित रोगलाई जित्न लामो समयसम्म सङ्घर्ष गरिरहेका छन् । उमेर, लिङ्ग र अन्य स्वास्थ्य समस्यालगायत यी सबै कुराले कुनै पनि व्यक्ति कोभिड १९ बाट गम्भीर बिरामी हुने खतरा बढ्छ ।

मलाई हल्का लक्षण देखिए के हुन्छ ?

कोरोना भाइरसबाट सङ्क्रमित हुने धेरैजसो व्यक्तिमा खोकी र ज्वरो जस्ता मुख्य लक्षण देखिन्छ । तर उनीहरुमा दुखाइ, थकान, घाँटीमा समस्या र टाउको दुख्ने समस्या पनि देखिन सक्छ । सुरुमा सुख्खा खोकी देखिन्छ तर केही व्यक्तिमा खोकीसँगै खकार पनि देखिन्छ, जसमा कोरोना भाइरसका कारण मारिएका फोक्सोको मृत कोषिकाहरु हुन्छन् ।

यी लक्षणको उपचारको रुपमा चिकित्सकहरुले आराम गर्न सल्लाह दिन्छन्, दुखाइ कम गर्न पारासिटामोल र पर्याप्त मात्रामा पानी पिउन भनिन्छ । सामान्य लक्षण देखिएका बिरामीहरु चाँडै ठिक हुने आँकलन गरिन्छ । ज्वरो एक हप्ताभित्रै निको हुनुपर्छ तर खोकी निको हुन भने अलि बढी समय लाग्न सक्छ ।

चीनमा प्राप्त आँकडालाई लिएर विश्व स्वास्थ्य सङ्गठनको विश्लेषण अनुसार सङ्क्रमणपछि कुनै पनि व्यक्तिलाई निको हुन औसत दुई हप्ता लाग्छ ।

मलाई गम्भीर लक्षण देखिए के हुन्छ ?

सङ्क्रमणले केही व्यक्तिलाई गम्भीर स्थिति निम्त्याउँछ । सङ्क्रमणको सातदेखि १० दिनभित्र यसको अनुमान गर्न सकिन्छ । स्वास्थ्य स्थिति खराब हुँदै जान्छ । फोक्सोमा जलनको समस्यासँगै श्वास लिन पनि कठिन हुने गर्छ ।

शरीरको प्रतिरक्षा प्रणाली सङ्क्रमणविरुद्ध लड्न कोसिस गर्ने हुँदा यस्तो समस्या निम्तिन्छ । वास्तवमा प्रतिरक्षा प्रणाली कोरोना भाइरसविरुद्ध तत्काल प्रतिक्रिया जनाउँछ र यसको केही असर हाम्रो शरीरमा पनि देखिन्छ । केही व्यक्तिलाई त अक्सिजन थेरापीको लागि अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था पनि आउँछ ।

बेलायती डाक्टर सारा जार्भिस भन्छिन्, ‘श्वास फेर्न समस्या हुनेहरुलाई सुधार हुन केही धेरै समय लाग्न सक्छ । शरीमा छटपटी र बेचैनीको अवस्था देखिन्छ ।’ यस्ता समस्या भएका व्यक्ति निको हुन दुईदेखि आठ हप्तासम्मको समय लाग्न सक्ने सारा बताउँछिन् ।

यद्यपि त्यस्ता व्यक्तिको कमजोरी केही धेरै समयसम्म रहिरहन्छ ।

मलाई यसको गम्भीर लक्षण देखिए अथवा आईसीयूमा जान परे के हुन्छ ?

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार २० मध्ये एक जनालाई सघन उपचार कक्ष (आईसीयू) मा जानुपर्ने अवस्था आउँछ । यसमा भेन्टिलेटरमा राख्नुपर्ने बिरामी पनि पर्छन् ।

यदि कोही व्यक्ति आईसीयूमा भर्ना हुन्छ भने स्वतः उसलाई ठिक हुन धेरै समय लाग्छ, चाहे बिरामी जोसुकै होस् । आईसीयूपछि ती व्यक्तिलाई जनरल वार्डमा शिफ्ट गरिन्छ र अवस्था हेरेर उसलाई घर जान अनुमति दिइन्छ ।

फ्याकल्टी अफ् इन्टेन्सिभ केयर मेडिसिनका डिन डाक्टर एलिसन पिटार्ड जटिल स्वास्थ्य हेरचाह (क्रिटिकल केयर) पछि कुनै पनि व्यक्तिलाई सामान्य अवस्थामा फर्कन १२ देखि १८ महिनासम्म लाग्न सक्ने बताउँछन् ।

अस्पतालको बेडमा लामो समयसम्म रहँदा मांशपेसीमा पनि असर पर्छ । रोगी कमजोर हुने हुँदा यस्तो अवस्थामा सामान्य अवस्थामा फर्कन समय लाग्छ नै । केही व्यक्तिलाई त सामान्य अवस्थामा फर्कन फिजियोथेरापीको पनि सहारा लिनुपर्ने हुन्छ ।

आईसीयूमा रहँदा शरीरले अनेक किसिमका उपचार र माध्यमको सामना गर्छ र कहिलेकाहीँ मानसिक समस्या निम्तिन सक्ने आशङ्का पनि गरिन्छ ।

कार्डिफ एण्ड वेले युनिभर्सिटी हेल्थ बोर्डका क्रिटिकल केयर फिजियोथेरापिस्ट पउल ट्वोज भन्छन्, ‘यो बिमारीसँगै भाइरल थकान निश्चित रुपमा एक ठूलो कारक हो ।’ चीन र इटलीबाट यस्तो रिपोर्ट्स आएको छ, जसमा सङ्क्रमित बिरामीको पूरै शरीरमा थकान, श्वास लिन समस्या, लगातार खोकी र श्वासको उचारचढाव जस्ता लक्षणसँगै निद्राको समस्या पनि देखिएको छ ।

‘केही बिरामीहरुलाई निको हुन निकै समय लाग्यो महिनौसम्म ।’ तर यो कुरा सबैमा लागू हुँदैन । केही व्यक्ति आईसीयूमा निकै कम समय रहन्छन् भने केहीलाई लामो समयसम्म भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ ।

 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया