प्रदेश ७ को राजधानी र नामाकरणका लागि विशेष सुझाव समिति गठन

 साउन १४, २०७५ सोमबार १७:१:१८ | निर्मला खडायत
unn.prixa.net

कैलाली – प्रदेश ७ को स्थायी राजधानी र नामाकरणको लागि सोमबार विशेष सुझाव समिति गठन गरिएको छ ।

सोमबारको संसद बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेशको स्थायी राजधानी तोक्न र नामाकरणका लागि प्रतिवेदन पेश गर्न प्रदेश सांसद तारा लामा तामाङको संयोजकत्वमा ५ सदस्यीय विशेष सुझाव समिति गठन गरिएको जानकारी दिनुभयो । 

समितिमा प्रदेश सांसद प्रेमप्रकाश भट्ट, बलदेव रेग्मी, श्यामलाल राना र चुनकुमारी चौधरी सदस्य रहेका छन् । समितिमा रहेका श्यामलाल राना नेपाली कांग्रेसका तर्फबाट निर्वाचित सांसद हुन् भने अन्य सबै नेकपाबाट निर्वाचित सांसद हुन् । यो समितिलाई यही साउन २१ गतेभित्र सरोकारवाला सबै पक्षसँग उपयुक्त छलफल गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको पनि सभामुख थापाले बताउनुभयो ।  

समितिका संयोजक तारा लामा तामाङले आफूहरुलाई तोकिएको समयभित्र सरोकारवाला सबै पक्षसँग छलफल गरी विवादरहित स्थान र नामाकरणसहित प्रतिवेदन पेश गर्ने प्रयत्न गर्ने बताउनुभयो ।  

हाल प्रदेश ७ को अस्थायी राजधानी कैलालीको धनगढीमा छ । स्थायी राजधानीका लागि कसैले कैलालीको अत्तरिया त कसैले डोटीको दिपायल पनि प्रदेशको राजधानी हुनुपर्ने विचार व्यक्त गरेका छन ।
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया