पलिया क्वरेन्टीनबाट नेपाली मजदूरको गुनासो - एक छाक खाना दिन्छन्, पेट भरिँदैन

 बैशाख २५, २०७७ बिहिबार १७:४६:५ | सीताराम ओझा
unn.prixa.net

कैलाली - भारतको उत्तर प्रदेशको पलिया क्वरेन्टीनमा राखिएका नेपालीहरुले खानाको समस्या बढ्दै गएको गुनासो गरेका छन् । 

डेढ महिनादेखि पलियाको एउटा कलेजमा राखिएका झण्डै दुई सयजना नेपाली मजदूरहरुले पेटभरी खानासमेत नपाएको गुनासो गरेका हुन् ।

 ‘सुरुमा पलिया क्वरेन्टीनमा हामी एक सय २४ जना मात्रै थियौँ’, कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ का जयबहादुर थापाले भनुभयो, ‘अहिले सङख्या बढ्दै गएर दुई सय पुगेको छ । पेटभरी खाना नपाएको पनि हप्तौं भइसकेको छ ।’

उहाँका अनुसार भारतका विभिन्न सहरबाट अहिले पनि नेपाल फर्किनका लागि पलिया पुग्ने क्रम जारी रहेको छ । पलिया क्वरेन्टीनमै रहेका गोदावरी नगरपालिका स्याउलेका भुपेन्द्र अधिकारीले केही दिनदेखि क्वरेन्टीनमा बसेकाहरुले एक छाक मात्रै खाना पाइरहेको बताउनुभयो । 

‘प्रत्येक दिन दिउँसोको २/३ बजेतिर खाना दिइन्छ । त्यस अगाडि न बिहान केही नास्ता हुन्छ न खाना खाइसकेपछि साँझ नास्ता हुन्छ’, पलिया क्वरेन्टीनबाट टेलिफोनमा अधिकारीले भन्नुभयो । 

उहाँका अनुसार अहिले पलिया क्वरेन्टीनमा झण्डै दुई सय नेपाली मजदूर छन्। उनीहरुमध्ये अधिकांश कैलालीकै छन्। पहाडी जिल्ला दार्चुला र बैतडीको सीमा हुँदै दुई हजार ६ सय जना मजदूरको उद्धार भएपछि उनीहरु पनि हर्षित भएका थिए । 

तर उद्धार नभएपछि उनीहरु अहिले कष्टकर दैनिकी बिताउन बाध्य भएका छन् । कैलाली प्रशासनको कमजोरीका कारण अहिलेसम्म उद्धार नभएको गुनासो उनीहरुले गरेका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया